दिदीबहिनीहरूलाई


आत्माराम न्यौपाने

हामी सबै दाजु र भाइलाई
सौहार्दले स्वागत गर्नलाई
`निम्तो गरेँ है´ अब भन्न थाल
मालाहरू उन्न र गन्न थाल।

ताता अनर्सा-तिल टाँसिए झैँ
गोदावरी सुन्दर गाँसिए झैँ
सम्बन्ध हाम्रो छ, छुटी नजाओस्
हा दैव ! यो भाग्य टुटी नजाओस्।

जो जन्मियौँ मर्नु त पर्छ पर्छ
यो कालले अन्त्य त गर्छ गर्छ
बाँची रहेसम्म तिहार आओस्
आनन्द उल्लास बहार ल्याओस्।

जस्तै गरी होस् अब आउने हो
ती पाउमा माथ झुकाउने हो
आशिष् मिलोस् सञ्च शरीरमा होस्
आत्मा खुशी होस् मन मग्मगाओस्!