हिउँदे बिदा भयो


विन्दु पौडेल वस्ती

“हिउॅदे बिदा भयो
मामाकाँ जाने मन भयो
आमा बालाई सोधेको
लमजुङ जान खोजेको

मामा पनि आउनु भो
साथमा जान पाइने भो
बाको अनुमति पाइयो
कपडा नि मिलाइयो

२/३ घण्टा लगाई
हिँडेँ म त सुस्तई
भाइबहिनी आए
खेल्न साथी पाएँ

हजुरआमा आउनुभो
नाति सन्चै भन्नुभो
मलाई मुखमा हेरेर
चिसा गाला छाम्नुभो

हजुरबाले बोलाउँदै
हातमा बिस्कुट थमाउदै
थाक्यो होला नाति
हजुबा कति जाती

बिहानीको झुल्के घाम
पारिलो हुन्छ घर आँगन
मामाघर बसी अघाइनँ
पढाइ छोड्न भएन

अहिले यत्ति बसेर
गृहकार्य सकेर
जान्छु म त घर
धेरै बिदा काँ छ र ?