
देव भट्टराई
रनवन हरियाली लाग्छ आयो वसन्त ।
विपुल विमल छायो फूल फुल्दा अनन्त ।।
तनमनभरि मीठो जाग्छ नौलो उमङ्ग ।
तरु महकिन थाले उठ्छ बेग्लै तरङ्ग ।।
वरिपरि वन पाखा फुल्छ लाली गुराँस ।
विपिन किरण खुल्दा कोइली हाँस्छ खास ।।
अतिशय अति मीठो स्वाद ऐँसेलुको त्यो ।
समय उचित मानूँ आज बैँसालुको हो ।।

कुसुम रज नपाए भृङ्ग बन्छन् अधीर ।
भुनभुन गरिउड्छन् लाग्छ ठूलो छ पीर ।।
मधुर पवन चल्दा पुष्पमा पङ्ख रोकी ।
वन उपवन डुल्छन् स्वाद सम्झेर हो कि ?
टलक टलक चम्की माथि हाँस्छन् हिमाल ।
तल जलनिधि सङ्लो स्वच्छ देखिन्छ ताल ।।
गजबसित खुलेको स्वर्गजस्तै पहाड।
अपरिमित पियारो दिव्य राम्रो कछाड ।।
कठिन शिशिर जाँदा मात्न थाल्यो समीर ।
अनुपम मृदु बास्ना चल्छ पाखा र भीर ।।
प्रमुदित नव नौला यौवनाका मुहार ।
पलपल बसमा होस् दिव्य माग्छन् जुहार ।।
मृदुमय नव-नौलो वर्ष आयो घुमेर ।
सुखमय दिन आऊन् कर्मलाई चुमेर ।।
हरवय बिरुवाले पालुवा फेर्न पाऊन् ।
भयरहित खुशीले चाँदनी हेर्न पाऊन् ।।





