म बालक/बालिका


नरिश्वर गौतम

कोपिलाझैँ फूलका
हामी बालबालिका
ठूला भई देश बनाउने
कर्णधार भोलिका ।।

उमेर मेरो सानै छ
पुगेँ साढे दुई
खेल्छु आमाकाख चढी
हिँड्छु बुई ।।

पाइला चाल्न सिक्दैछु
हाँस्दै अनि रमाउँदै
आफूभन्दा ठूलाको
हात र लुगा समाउँदै ।।

मैले भरखर सिक्दैछु
तोते बोली बोल्न
पप्पी मने सुरीसँग
रमाईरमाई खेल्न ।।

गाली गरे कुटेपिटे
रुन्छु धुरुधुरु
माया गरी सिकाएमा
मान्छु खुरुखुरु ।।

डराउँछु रुन्छु मलाई
गाली गर्दा रिसाउँदा
खुशी हुँदै सिक्छु म
माया गरी सिकाउँदा ।।

मलाई मन पर्दैन
हेपाइ गाली डर
जतिखेरै पढ्नलेख्न
नगर्नुहोस् कर ।।

अहिले मेरो उमेर हो
हाँस्ने खेल्ने रमाउने
तन मन बलियो
र स्वस्थ बनाउने ।।

बिस्तारै ठूलो हुनेछु
धेरै लेखपढ गर्नेछु
सिपालु र ज्ञानी बनी
देशको सेवा गर्नेछु ।।