
रमेशचन्द्र घिमिरे
पुस्तक पसल धाउनु किन बित्थामा?
पढ्न पाइन्छ पत्रिका हाम्रै भित्तामा
बजार गई पत्रिका किन्नु नपर्ने
खोज्दै पुस्तकालय हिँड्नु नपर्ने
पल्टाउनु पर्दैन यसै देखिन्छ
भोलिदेखि आफू नि केही लेखिन्छ
यति राम्रा अक्षर यी कसका होलान् खै?
म नि यस्तै लेख्ने हो सिकाइदिनु है?
रङ्गीचङ्गी चित्र छन् हेर्दा चिटिक्कै
मेरो मन रमायो देख्ने बित्तिकै
साथीभाइका रचना यसमा देखेर
मैले पनि कविता ल्याएँ लेखेर
यदु सरलाई भनेर टाँस्न लाउने हो
बरु अर्को अङ्क पो कहिले आउने हो?
आऊ साथी सोहन आऊ सविता
पढौँ यसमै रमाई कथा कविता
यसमै खोजौँ चित्र र यसमै पढौँ जोक
मलाई पनि जागेको छ सिर्जनाको भोक।





