अपरिहार्य गुणात्मक शिक्षा


प्रेमनारायण भुसाल

शिक्षा चेतनाको प्रतीक हो । शिक्षाकै कारण मानिस आफ्नो विवेक प्रयोग गरी सिप विकास गर्न सक्छ भने विवेकका माध्यमबाट सिर्जनशील कार्यमा लाग्न सक्छ । पछिल्लो समय शिक्षालाई पेसा व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पर्ने साधनका रूपमा लिन थालिएको छ । यसले गर्दा सम्बन्धित पेसा वा व्यवसायका लागि आवश्यक पर्ने सिप हासिल गर्नु नै शिक्षा हासिल गर्नु हो भनी परिभाषित गरिएको छ । यस अर्थमा शिक्षाको उद्देश्य मानव जीवनलाई सहज बनाउन आवश्यक पर्ने सिप हासिल गर्दै मानवीय मूल्यको संरक्षण र वास्तविक ज्ञान प्राप्त गर्नु अर्थात् सर्वाङ्गीण रूपमा विकसित हुनु शिक्षा हो भन्ने अवधारणामा परिवर्तन आउन थालेको छ । यसले गर्दा मेलापर्वमा वा ठुलाबडाले दिने गरेको आशीर्वाद वर्तमान शिक्षाले पूरा गर्न सक्ने देखिँदैन । ‘ज्ञानी, शिक्षित र असल बन्नु’ भनेर दिइने आशीर्वाद पछिल्लो समयमा शिक्षित बन्नु भन्नेमा मात्र सीमित हुन थालेको छ ।
शिक्षित हुनु भनेको कुनै विषय विशेषको ज्ञान हुनु हो । शिक्षाले कार्य र कारणमा आधारित भई दैनिक जीवनका व्यावहारिक र सैद्धान्तिक क्रियाकलापलाई विश्लेषण गर्न सिकाउँछ । शिक्षा सामान्यतया दर्शनशास्त्रीय र समाजशास्त्रीय आधारमा अडेको हुन्छ । दर्शनशास्त्रीय आधार अन्तर्गत मानव मूल्य, अध्यात्म र जीवनको सार पहिचान गर्ने विषयवस्तुको चिन्तन रहन्छ, जसमा जीवन र जगत्लाई सम्यक् रूपमा बोध गर्न सक्षम बनाइन्छ । समाजशास्त्र अन्तर्गत सामाजिक विविधता, प्रकार्य, मूल्य र मान्यता एवं एकताका कुरामा सकारात्मक दृष्टिकोण निर्माण गर्न सिकाइन्छ । समाजशास्त्रीय आधार जहिले पनि आवश्यकता र प्रकार्यमा आधारित हुन्छ । एक किसिमले भन्ने हो भने दर्शनशास्त्रीय आधारलाई शिक्षाको आत्मा र समाजशास्त्रीय आधारलाई शरीरका रूपमा वर्णन गर्न सकिन्छ ।
पछिल्लो समय शिक्षा सिपमा मात्र सीमित हुँदै जाँदा सिप पनि निश्चित विषय वा विधा विशेषमा मात्र केन्द्रित हुन थालेको छ । यसले गर्दा समाज एक उपकरण र समाजका सदस्यहरू सोही उपकरणका पाटपुर्जाका रूपमा मात्र सीमित हुन थालेका छन् । सलाई आगो बाल्नका लागि मात्र प्रयोग हुने, कुटोकोदालो खनजोत गर्ने सन्दर्भमा र कलम लेख्नका लागि प्रयोग हुने वस्तुका रूपमा रहेका छन् । आगो आवश्यक नभएको अवस्थामा वा खनजोत गर्न नपर्ने व्यक्तिका लागि सलाई र कुटो कोदालोको महत्व नभए झैँ वा लेखपढ नगर्ने व्यक्तिका लागि कलमको महत्व नरहे जस्तै वर्तमान मानव निश्चित कामका लागि मात्र खपत हुने वस्तुका रूपमा सीमित हुन थालेको छ । बिरामी भए मात्र डाक्टर आवश्यक पर्ने, विद्यार्थी कमजोर भए भने मात्र शिक्षकको आवश्यकता महसुस हुने, खाद्य पदार्थ उपलब्ध गराउनका लागि मात्र कृषकको आवश्यकता पर्ने अन्य सन्दर्भमा यी कुनै पनि पक्षको महìव रहन नसक्ने परिस्थितिको सिर्जना वर्तमान शिक्षा पद्धतिले गरेको छ । अर्थात् काम विशेषमा मात्र विशेषज्ञता प्राप्त गरे पुग्छ भन्ने दृष्टिकोण एवं सर्वाङ्गीण नभई खण्डीय ज्ञान प्रदान गर्ने काम पछिल्लो शिक्षा पद्धतिले गर्ने गरेको छ । अर्को शब्दमा भन्ने हो भने एउटा विशेष विषयमा मात्र जानकारी भए पुग्छ, संसारका यावत् वस्तुका बारेमा चासो राख्नु आवश्यक छैन भन्ने दृष्टिकोणले वर्तमान शिक्षा पद्धतिलाई ग्रस्त गरेको छ ।
उत्पादन र भौतिकवादी दृष्टिकोणले शिक्षा पद्धतिमा विकसित भएको यस पद्धतिलाई राम्रो नै मान्न सकिन्छ । सियो उत्पादन गर्ने व्यक्तिलाई कपडाको बारेमा नजाने गाउँको बाटो नसोध्नु जस्तै हो । किनेर दुध खाने व्यक्तिका लागि दुध कहाँबाट कसरी प्राप्त हुन्छ भन्ने विषयवस्तु गौण हुन सक्छ । उसले चाहेको बेलामा दुध उपलब्ध भए मात्र पुग्छ । अहिलेको शिक्षाले ज्ञानलाई खण्डीकरण गरेको छ । ज्ञानलाई जीवनोपयोगी बनाउने काममा वर्तमान शिक्षा प्रणालीले सघाउन नसक्ने कुरा विषय विशेषमा प्राप्त गरिएका सिप र अवधारणा अन्य क्षेत्रमा प्रयोग गर्न नसकिने परिस्थितिले नै पुष्टि गर्छ ।
कानुन, इन्जिनियरिङ, रसायन, भूगोल, चिकित्सा वा विज्ञान पढेको व्यक्तिले सम्बन्धित विषयसँग सम्बन्धित क्रियाकलाप गर्न छोडेपछि उसलाई जीवनयापन गर्न र सामाजिक अन्तर्क्रियाका लागि ती विषयमा प्राप्त गरेका के कस्ता सिपहरू उपयोगी हुन्छन् भन्ने कुरालाई दृष्टि दिने हो भने शिक्षाको खण्डीयता पुष्टि हुन्छ । अर्थात् कानुनका विज्ञको विज्ञता कानुनी क्षेत्रभन्दा बाहिर रहन सक्दैन ।
एक चिकित्सक चिकित्सा क्षेत्रमा प्राप्त गरेको विज्ञतालाई बिर्सने हो भने ऊ सामान्य व्यक्तिको स्तरमा समेत रहन सक्दैन । यस अर्थमा आधुनिक शिक्षा जीवन चलाउनका लागि अर्थ वा धनलाई केन्द्रमा राखी व्यक्तिलाई समेत वस्तुका रूपमा परिचालन गर्ने दिशामा केन्द्रित छ । वास्तविक ज्ञान भनेको आफ्नो विषय क्षेत्रसँग सम्बद्ध सिप हटाउँदा बाँकी रहने गुणात्मक चिन्तन हो । ५० वर्ष गणित पढाएको शिक्षक शिक्षण पेसा छाडेपछि आफूलाई निकम्मा र बेरोजगार महसुस गर्छ भने उसले जीवनमा प्राप्त गरेको कुरा शिक्षा हो वा ज्ञान यहाँनेर जटिल प्रश्न सिर्जना हुन्छ । डाक्टर, वकिल वा इन्जिनियरको पनि अवस्था यस्तै छ । उनीहरू आफ्नो विषय क्षेत्रमा जीवनभर खटेका हुन्छन् । जब सम्बन्धित पेसा व्यवसायका लागि उनीहरू उपयुक्त हुँदैनन्, त्यसपछि उनीहरूले जीवन र दर्शनका बारेमा राख्ने जुन दृष्टिकोण छ, त्यस दृष्टिकोणले आफ्नो निकै उर्वर मानिएको जीवनलाई बेकम्मा देख्न थाल्छन् ।
आफ्नो सिप चल्ने बेलामा मानवीय मूल्य, अध्यात्म र जीवनको सारको बारेमा पटक्कै ध्यान नदिएकाले पश्चाताप महसुस गर्ने अवस्थामा उनीहरू पुग्ने गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने शिक्षा अर्थमुखी हुँदै गएको छ । जीवनको अन्तिम सार भनेकै भौतिक रूपमा सम्पन्न हुनु र कुनै सानो विषय क्षेत्रमा आफूलाई दक्ष बनाउनु हो भन्ने विचारबाट निर्दिष्ट हुँदै गएको छ । यस कारण व्यक्तिले आफू स्वस्थ रहुन्जेल र सिप प्रयोग गर्न सकुन्जेल आफूलाई ज्ञानी, विवेकी र शिक्षित महसुस गर्न सक्छ । जुन दिन आफ्नो सिप प्रयोगयोग्य हुँदैन वा प्रयोग गर्न नसकिने अवस्थामा पुग्छ, त्यस दिन उसले जीवनभर गरेका कामलाई निरर्थक देख्न थाल्छ । यी सबै क्रियाकलापको सार शिक्षालाई खण्डित ज्ञान र अर्थ आर्जनको सिपमा मात्र सीमित गर्नु नै हो ।
शिक्षालाई अखण्ड र सार्वभौम ज्ञान प्राप्त गर्ने दिशामा उद्यत् नगराउँदा मानवीय मूल्य र दार्शनिक ज्ञानलाई तिरस्कार गरियो । यसैले त शिक्षित व्यक्ति नै भ्रष्ट, अपराधी, कुसंस्कारी, हत्यारा, आत्महत्या उन्मुख, निर्दयी र स्वार्थी एवं क्रूर र शोषक बन्ने गरेका छन् । यो प्रवृत्ति संसारभर देखा परेको छ । शिक्षाले वास्तवमा यस्तै जनशक्ति उत्पादन गर्न खोजेको हो वा सर्वतोमुखी विकास भएको व्यक्तित्वको सिर्जना गर्न खोजेको हो । सो कुरामा गहन चिन्तन गर्नु आवश्यक छ । ज्ञानको पर्यायवाची शब्दका रूपमा रहँदै आएको शिक्षा सिप सिकाइ क्रियाकलापमा मात्र केन्द्रित भएको छ । यसैले शिक्षा प्राप्त गर्नु साध्य होइन साधन मात्र बनेको छ । बरू साध्य त अर्थोपार्जन वा भौतिक सम्पन्नता बनेको छ।
अबको आवश्यकता:
वर्तमानको आवश्यकता भनेको गुणात्मक शिक्षा हो, जहाँ ज्ञानको तिरस्कार हुनु हुँदैन। शिक्षाले जीवन र जगत्लाई आंशिक रूपमा होइन पूर्णतामा हेर्न सिकाउनु पर्छ । ज्ञानको अखण्डनीय र सर्वाङ्गीण रूप प्रकट गर्ने दिशामा शिक्षा केन्द्रित हुनु पर्छ । शिक्षार्थीले प्राप्त गरेका सबै सिप बिर्संदा पनि व्यक्ति मानवीय मूल्य, आचार, संस्कार र आध्यात्मिक गुणले सम्पन्न र सन्तुष्ट हुन सक्ने किसिमको शिक्षा अबको आवश्यकता हो। यस्तो शिक्षाले व्यक्तिमा खुसी, आत्मविश्वास, जीवनप्रतिको आशा र मानवीय सेवामा रम्न सक्ने क्षमता विकास गर्न सक्छ, जसले मानवीय मूल्यलाई महत्व दिन सक्छ र जीवन र जगत्लाई पूर्णतातिर लैजान प्रेरित गर्छ । यसका लागि शिक्षाबाट विस्मृत हुँदै गएको ज्ञानको पुनर्जागरण आवश्यक छ । शिक्षा सबैका लागि अपरिहार्य छ तर शिक्षाले व्यक्तिलाई ज्ञानी बनाउन सक्नु पर्छ। यदि त्यसो भएन भने ज्ञानको अभावले चरम निराशा, अविश्वास र विध्वंसको अवस्था सिर्जना हुन सक्छ।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

16 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

16 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago