सन्जिता भट्टराई
धनगढीमाई, सिरहा
”ला, अब मेरो अनलाइन कक्षा कसरी हुन्छ ?” कमलाले सुस्केरा हाल्दै भनिन् । उनको स्वरमा चिन्ता स्पष्ट झल्किन्थ्यो।
त्यसबखत बाहिर मुसलधारे झरी परिरहेको थियो । एक्कासी झ्याप्प बत्ती निभेको थियो । अन्धकारसँगै २२ वर्षीया कमलाको मनमा पनि निराशाको कालो बादल मडारिन थालेको थियो ।
सोफामा बसिरहनुभएका बुबाले स्नेहपूर्वक सान्त्वना दिनुभयो, “नआत्तिऊ छोरी, प्राविधिक समस्या त भइहाल्छ नि । केही बेरमा बत्ती आइहाल्छ, धैर्य गर ।”
भान्साबाट आमाको कडा स्वर सुनियो, “केको अनलाइन-सनलाइन ! छोरी मान्छेले पढेर र जागिर खाएर के नै लछारपाटो लाउने हो र ? उमेर पनि २२ पुगिसक्यो । यसपालिको लगनमै फागुनमा बिहे गरिदिए ढुक्क हुन्थ्यो । अर्काको घर जाने जातलाई किन यति धेरै सास्ती !”
आमाको कुराले कमलाको मन कुँडियो । उनी बिस्तारै बुबाको नजिक पुगिन् र दृढताका साथ भनिन्, “बुबा, म कसैको बोझ बनेर होइन, आफ्नै खुट्टामा उभिएर मात्र बिहे गर्न चाहन्छु । मेरो सपनालाई खुम्चिन नदिनुहोस् ।”
“त्यतिबेला नै छिमेकी अवकाशप्राप्त शिक्षक श्रीराम मास्टरको आगमन भयो । घरभित्रको तनावपूर्ण वातावरण बुझ्न उनलाई समय लागेन । उनले शान्त स्वरमा सम्झाए, “दिदी, जमाना बदलिइसक्यो । जसरी मोबाइललाई समय-समयमा अपडेट नगरे चल्दैन, त्यसरी नै हाम्रो समाज र सोच पनि अपडेट हुन जरुरी छ । छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउनु भनेको एउटा परिवारलाई नै बलियो बनाउनु हो । पढेकी छोरी त झन् गर्वको विषय पो हो त !”
मास्टर साबको तार्किक कुराले आमाको मनमा एक किसिमको हलचल ल्यायो । उनी केही बेर निशब्द भइन् । आफ्नो पुरानो सोचमा पुनर्विचार गरिरहेकी थिइन् सायद ।
ठिक त्यति नै बेला कोठामा उज्यालो छरियो । “बत्ती आयो !” कमलाको अनुहारमा खुसीको चमक फर्कियो । उनी हतार-हतार आफ्नो पढ्ने टेबलतिर लागिन् ।
बाहिरको अन्धकार हटेसँगै घरभित्रको वैचारिक अँध्यारो पनि चिरिएको थियो । कमलाको उमङ्ग देखेर आमाले मुस्कुराउँदै भनिन्- “बत्तीले कोठा उज्यालो बनाएजस्तै सन्तानको सोचले घरको भविष्य अवश्य उज्यालो बनाउँछ ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…