गणेश आत्रेय
मदनपोखरा,पाल्पा
हाम्रो नाति छ हेर;
अल्छी छैन ल हेर।
प्रातः काल सबेर;
उठ्छ ज्ञानी बनेर॥
दिशा-पिसाब सकेर;
मुहार सफा गरेर।
कापी कलम समात्छ;
पुस्तक खोल्छ र पढ्छ॥
सफासुग्घर भएर;
खानापिना गरेर।
पोसाकमा सजेर
स्कूल-गाडी चढेर॥
पाठशाला पुगेर;
शिक्षक सँगी मिलेर।
दिनभरि पाठ पढेर;
फिर्दछ साँझ अबेर॥
हात-गोडा पखाल्छ;
खाजा खान्छ टिमाल्छ।
गृहकार्य सब सकेर;
केहीबेर त पढ्छ॥
आऊ मुमाहजूर;
खेलौँ बुवाहजूर।
भन्दै गर्छ हतार;
हाँस्दै खेल्छ हजार॥
टिभी हेर्न मन गर्छ;
मोबिलमा पनि रम्छ।
खेल्न र खान सकिन्छ;
अनि त नाति नि सुत्छ॥
नाति हाम्रो अजान;
अल्छी हुन्छ नठान।
ज्ञानी गुनी हुनेछ;
चन्द्रलाई छुनेछ॥
डा छायादत्त न्यौपाने फर्की आऊ युवा तिमी बाँझो खेत भन्छ श्रम गरे हात चले घरै…
श्रीधर भण्डारी बगैँचामा खेल्छन् बटुलेर साथी। सम्झ बालापन कति होला जाती।। कुरा गर्न पाउँदा मन…