भैरेको नियति र स्वास्थ्य सेवा

 


घनश्याम रेग्मी

“कहिल्यै बिरामी पर्नु भएको छ ?” कसैले प्रश्न गर्यो भने म लगायत तपाईँसहितका धेरै जनाको उत्तर हुन्छ “मानिसको शरीर हो, कहिलेकाहीँ बिरामी परियो होला । अनि “तपाईँ घडी हेरेर बिरामी हुनु भयो ?” भनेर अर्को प्रश्न गर्यो भने तपाईँ लगायत मेरो पनि कन्सिरी तातिन्छ।
“के तालको कुरा गर्या होला ? बिरामी पनि घडी हेरेर हुने कुरो हो र ? कति बेला के पर्छ पर्छ ? के ठेगान ? अनि कति बेला भयो ? यो बिरामी हुने ठिक समय हो भनेर जोखना हेरेर बिरामी हुने हो र ? ए! ल अब बिरामी हुने ठिक समय आएछ, अब बिरामी पर्नु पर्यो भनेर तयारीका साथ थाल्ने काम हो र ?” तपाईं हाम्रो मुखमै यस्ता प्रश्न आउँछन् । आउनु पनि स्वभाविक हो । सके हामी यस्तो प्रश्न गर्नेलाई प्रतिप्रश्न गरेर झपार्छौँ “के तपाई घडी हेरेर बिरामी पर्ने गर्नु हुन्छ ?”
कुरा अस्ति भर्खरको हो । कथा हाम्रै गाउँको भैरेको ( उसको नाम सायद भैरव बहादुर हुनुपर्छ ) हो । गरिब र अशिक्षित भएको कारण भैरे अर्कैको घरमा काम गरेर बस्छ । उसको पूरा नाम थर र वतन ऊ काम गर्ने घर मालिकलाई थाहा होला , अरूलाई थाहा भएन । धनी हुँदो हो त उसको नाम भैरव बहादुरजी हुन्थ्यो होला । सबैले उसलाई “ओ भैरव बहादुरजी !” भनेर बोलाउँदा हुन् । हो उही भैरे दिनको तीन बजेतिर साहुको घरको सिँडीबाट सामान लिएर झर्ने बेला लडेर घाइते भएछ । कतै कतै दधारिएछ । सुविधासम्पन्न अस्पताल लैजानुपर्ने भैरेलाई स्वास्थ्य चौकी जान सुझाव दिइएछ र भनिएछ स्वास्थ्य चौकीमा निःशुल्क औषधि पाइन्छ । खोच्याउँदै भैरे गाउँकै स्वास्थ्य चौकी पुगेछ । तीन पनि बजेको थिएन रे । स्वास्थ्य चौकीमा डाक्टर साब भेटिएनन् । पिउनले आज डाक्टर साहेब जानू भयो, भोलि आउनू भनेछन् । भोलिपल्ट बिहान दस नबज्दै भैरे स्वास्थ्य चौकी पुगेछ । घाउको पीडा र निःशुल्क औषधि पाउने तीव्र लालसा । झन्डै घन्टा कुरे पछि डाक्टर साब आएर जाँच गर्नु भयो । औषधि लेखिदिनु भयो र भन्नुभयो “मेडिकलमा गएर औषधि किन्नू ।”
मानिसको शरीर विभिन्न थरी कलपुर्जा मिलेर बनेको एउटा अद्भुत मेसिन नै हो । भैरेको शरीर पनि आम मानिसको जस्तै हो । हाम्रो शरीर तिनै विभिन्न पाठपुर्जाको संयुक्त कार्यबाट सञ्चालन भइरहेको हुन्छ । हात , गोडा, औंला , जिभ्रो लगायत बाहिर देखिने अङ्गहरू र फोक्सो , मुटु , धमनीहरू र मन तथा मस्तिष्कलगायतका भित्री अङ्गहरूको सन्तुलनमा कति बेला बाधा पर्ने हो र बिरामी परिने हो कसलाई थाहा होस् ? भैरेलाई पनि थाहा भएन । थाहा हुने कुरा पनि होइन । बिरामी हुने कुराको न पूर्व तयारी हुन्छ न त कुनै समय तालिका (रुटिन) । बरु टाइम टेबलअनुसार बिरामी नहुनु भैरेको भूल हो । राज्यको नजरमा उसले सरकारी नियम मिचेर अपराध गरेको छ।
बिरामी हुने मन त कसलाई हुन्छ र ? साँझ , बिहान वा रातको समयमा पनि बिरामी पर्ने वा चोटपटक लाग्ने उत्तिकै सम्भावना हुन्छ । भैरे पनि सधैँ चढ्ने झर्ने गरेको सिढीबाट अचानक लडेको हो । कहिलेकाहीँ आकस्मिक चोटपटक लागेको पनि हुन सक्छ । घडी हेरेर दस बजेदेखि दुई ढाइ बजेसम्म बिरामी हुने भए हुनू नत्र भने नहुनू भन्ने कतै कसैले भन्न सक्ने कुरा हुँदै होइन । तर हाम्रो नेपाल सरकारले बिरामी हुने सरकारी समय तोकेको छ । समयमै बिरामी हुनु र स्वास्थ चौकी/ केन्द्र र अस्पताल पुग्नु पर्ने कुरामासमेत निर्देशन दिएको छ । सरकारी अफिस समय बाहेक अन्य समयमा बिरामी हुन नपाई । सरकारी समय विपरीत बिरामी भएकोमा भैरेलाई कडा कारबाही गर्नुपर्छ।
ए बाबा! बिरामी हुन कसलाई रहर हुन्छ र ? ठ्याक्कै समय मिलाएर बिरामी हुनु पर्ने यो कस्तो नियम हो ? घडीको सुइ तीन बज्ने सङ्केत गर्न लागेको हुँदो हो स्वास्थ्य चौकीमा डाक्टरको नामोनिशान थिएन । बिहान १० बजेतिर पुग्दा डाक्टर साब आउँदै हुनुहुन्छ होला, एक छिन बस्दै गर्नुहोस् रे । बस्ने भए त घरमै आरामले बस्थ्यो नि बिचरा ! समस्या परेर सरकरी स्वास्थ्य चौकी पुग्यो – डाक्टर छैनन् । कथंकदाचित् डाक्टर भेटिए भने पनि एउटा रद्दी कागजको टुक्रामा खसखस औषधि लेख्छन् र भन्छन् यहाँ औषधि सक्किएको छ , बाहिर किन्नू । भैरेलाई पनि त्यही भयो । केही महिना अघि झाडापखाला लागेर जीवन जल लिन स्वास्थ्य चौकी पुगेकी रूपकलीले झन्डै मास छर्न जानु परेको थियो । जहाँ पनि भैरेको नियति दोहोरिने र तेहेरिने क्रम निरन्तर चलिरहन्छ ! निरन्तर!!
घर मालिकले स्वास्थ्य चौकी जालास् त्यहाँ पैसासैसा केही लाग्दैन भन्नुभएको थियो । अहिले त साह्रै दुखेको छ सर।
उसले करुण स्वरमा डाक्टरलाई भन्यो “एक दुईवटा भएपनि दिनुहोस् सर । हिजो दिउँसो चोट लागेको हो ।” उसको करुणामिश्रित पुकार डाक्टरले सुनेनन् कि सुनेर पनि बुझेनन् ।क्यार्र कुर्र औषधि लेखिदिए । सरकारबाट आएका औषधि कहाँ गए ? भैरेले एक चक्की औषधि पाएन । डाक्टर मस्तले मोबाइल चलाउन थाले ।अनि त भैरेले पनि औषधि किन्न फेरि उही प्राइभेट औषधि पसलमा नगई सुखै पाएन।
को बिरामी भयो र कहिले को औषधि गर्न आयो ?
दैनिक ८/१० जना बिरामी आएको रजिस्टरमा दर्ता भेटिनु औषधि खरिद गर्ने बेला देखिनै कमिसनको खेल
मिलेमतो र कमिसनको खेलमा सरकार फस्नु उम्किन नसक्नु कि नचाहनु ?
फर्जी उत्पादन , फर्जी खरिदबिक्री र फर्जी बिरामीहरूको सूची सरकारले कति किसिमका औषधिहरू निःशुल्क र सर्वसुलभ रूपमा उपलब्ध गराउँछ ?
गजेटमा छाप्नुमात्र उपलब्धि हो ? परिपत्र गर्नु जित हो ?
मख्ख परेर बस्नु सरकारको उदासीनता कि लाचारी ?
अनुगमन निकायहरूले अनुगमन गरेनन् ?
सुपरिवेक्षण गरेको लामो फेहरिस्त बुझाउँछन् ।
भ्रमण तथा अनुगमन र सुपरिवेक्षण भत्ता के कामको ?
सरकारी कार्यालयमा मिलाएर खाइन्छ कि खाएर मिलाइन्छ ?
स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रले मातृ शिशुको खोप कार्यक्रम गर्नु मात्र रहेको पाइन्छ । मातृ शिशु सेवा तथा खोप सेवा दिने कुरामा राम्रो उपलब्धि हासिल भएको तथ्य जगजाहेर छ । स्वयंसेविका परिचालन गरेर खोप तथा पोलियो उन्मूलन कार्यक्रम सफल भएको कसैबाट लुकेको छैन । टि• बी• रोग उन्मूलन सम्बन्धि काममा पनि स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रले राम्रो काम गरिरहेका छन् । राम्रालाई राम्रो भन्न सक्नुपर्छ। राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न नसक्नु हाम्रो कमजोरी हो । यही कमजोरी बढ्दै गएर देश तन्नम भएको हो।मोही माग्नु छ त के ढुङ्रो लुकाउनू?
समुदायलाई सर्वसुलभ स्वास्थ्य सेवा र निःशुल्क औषधि कार्यक्रम तथा स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा डाक्टर पठाउने कार्यक्रम पूरा फेल भएको र कर्मचारी पालन तथा संरक्षण केन्द्रका रूपमा दुर्गन्धित भएको कुरा सरकारले किन थाहा पाउँदैन । स्वास्थ्य बिमाका नाममा चरम शोषण र राज्यको लुट नीति कहिलेसम्म हो ? नयाँ र पेचिलो प्रश्न उठेको छ । थाहा नपाएको हो कि भ्रममा राखेर कमाउन दिएको हो ? कति दिन कमाउन दिने ? नारामा सिमित विकासले जनताको आवश्यकता पूरा गर्दैन । हाम्रो राज्य संयन्त्र यति कमजोर भएको छ कि लाखौंको सङ्ख्यामा प्रदर्शनकारी आन्दोलनमा आउँदै छन् र राज्यका निकायहरू भस्म पारिँदै छन् भन्ने अति महत्त्वको सूचना त सम्बन्धित अधिकारी समक्ष दिइँदैन भने जाबो औसधि र केही जनाको जागिर के चिलाओस् न कन्‌याओस् । तीन तहका सरकार अझै शीतनिद्रामै छन् । हाम्रै गाउँको भैरेलाई परेको हुनाले यति लेख्न परेको हो । सरकारी स्वास्थ्य सेवा यति गिरेको छ कि जहाँ सेवा लिन जाऊ भैरे त्यही खाडलमा पर्छ । हामी सबै त्यही भैरेको नियति भोग्न बाध्य छौँ।
अस्तु

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

18 hours ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

18 hours ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

19 hours ago

“गुरू”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६ दाेलखा जति हिंडूँ पाईलाहरू, गन्तव्य गमन गुरू, जति बाेल्छु शव्दहरू, मन्तव्य वचन…

19 hours ago

स्वीकार्नुहोस् यो नम:

आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…

2 days ago

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

2 days ago