Categories: बाल कथा

कालो गुफा र स्याल

 

पुण्य कार्की

एउटा जङ्गलमा एक ठूलो सिंह थियो । सिंह आहाराको खोजीमा जङ्गल जङ्गल भौँतारी रहेको थियो तर उसले आहारा भेटिरहेको थिएन । धेरै दिनसम्म खानेकुरा नपाएपछि ऊ भोकले लखतरान परेको थियो ।
सिकारको खोजीमा डुल्दै जाँदा बेलुकीपख एउटा कालो गुफाको मुखमा पुग्यो । गुफा देखेर उसलाई आशा जाग्यो ।
उसले सोच्यो– पक्कै यस गुफामा कुनै चौपाया जनावर बस्छ होला । दिनभरि त ऊ गुफा बाहिर जाँदो हो । रात परेपछि पक्कै बास बस्न यहाँ आउँछ होला । बरु अहिले नै गुफाभित्र पसेर त्यसलाई ढुक्नु जाति होला ।
यति सोचेर ऊ कालो गुफाभित्र छिर्‍यो र सिकारको प्रतिक्षामा रहन थाल्यो । ऊ धेरै दिनदेखि भोको थियो । भोकले शिथिल भएकाले टाढाटाढा सिकार खोज्न पनि जान नसक्ने भएको थियो ।
त्यो गुफामा एउटा स्याल बर्षाैंदेखि बस्दै आएको थियो । दिनभरि कुखुरा चोर्न गाउँतिर जान्थ्यो । रात पर्ने बेलामा आफ्नो निवास फर्कन्थ्यो । आहारा खोजेर बास बस्नका लागि गुफातिर आँउदैथ्यो । उसले बाटोमा ठूलाठूला पाइला देख्यो ।
ती पाइला  सिंहका हुन् भन्ने चिन्न उसलाई गाह्रो भएन । पाइलाका डोब उसकै गुफासम्म छ्याप्छयाप्ती थिए । आफ्नो गुफा अगाडि आइपुगेर ऊ टक्क उभियो । उसलाई शंका लाग्यो पक्कै उसको बासस्थानमा सिंह पसेको हुनुपर्छ ।  त्यसैले आफ्नो गुफाभित्र सरासरी छिर्न ऊ हिच्किचायो । भित्र सिंह छ÷छैन पत्ता लगाउन र आफ्नो मनको शंका निवारण गर्न उसले एउटा जुक्ति झिक्यो ।
बाहिरबाटै उसले गुफालाई बोलाउन थाल्यो ।
‘मेरो प्यारो गुफा ! तिमी कहाँ छौ ? म त आइपुगेँ त । तिमी भित्र छौ कि छैनौ ?’
गुफाबाट कुनै आवाज नआएपछि उसले फेरि भन्यो– ‘प्यारो गुफा तिमी किन बोल्दैनौ । तिमी भित्र छैनौ भने म अर्कैतिर हिँड्छु । भन न तिमी आएका छौ कि छैनौ ?’
सिंहले स्यालको कुरा चुपचाप सुनिराखेको थियो । पछिल्लो कुराले ऊ झस्क्यो । कतै मुखमा आउन लागेको आहारा उम्क्यो भने मैले अरु दुःख पाउनुपर्छ । बरु आफैँ गुफाको तर्फबाट जवाफ दिनुपर्छ कि क्या हो ? यतिखेरसम्म गुफाले कुनै उत्तर दिएको थिएन । सायद म यहाँ बसेकाले मेरो डरले उसले उत्तर नदिएको होला ।  यति सोचेर उसले गुफाको तर्फबाट स्याललाई जवाफ दियो –
‘ए ऽऽ ऽऽ स्याल भाइ, आइपुग्नुभयो ? तपाइँलाई स्वागत छ । म यहीँ नै छु । तपाइँ सरासरी भित्रै पाल्न सक्नु हुन्छ ।’
स्यालले भित्र सिंह छ\छैन भनेर जाँचेको थियो । गुफाले जवाफ दिए जस्तो पारे पनि त्यो सिंहको आवाज थियो । उसलाई थाहा भैहाल्यो, गुफामा पस्नु खतरा छ । ऊ आफ्नो ज्यान जोगाउन त्यहाँबाट सुरक्षित गन्तव्यतिर बाटो ततायो ।
त्यति जवाफ दिएपछि स्याल भित्र आउँछ र खाउँला भनी सिहंले निकै लामो समय प्रतिक्षा गर्‍यो तर स्याल त्यहाँबाट कोसौँ टाढा पुगिसकेको थियो । आफ्नो सुरक्षाका लागि पूर्वसचेत हुनुपर्छ भन्ने कुरा स्यालले अग्रिम रुपमा बुझेको थियो ।

श्रोतः baalsansar.com

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

13 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

13 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago