पुण्य कार्की
एउटा जङ्गलमा एक ठूलो सिंह थियो । सिंह आहाराको खोजीमा जङ्गल जङ्गल भौँतारी रहेको थियो तर उसले आहारा भेटिरहेको थिएन । धेरै दिनसम्म खानेकुरा नपाएपछि ऊ भोकले लखतरान परेको थियो ।
सिकारको खोजीमा डुल्दै जाँदा बेलुकीपख एउटा कालो गुफाको मुखमा पुग्यो । गुफा देखेर उसलाई आशा जाग्यो ।
उसले सोच्यो– पक्कै यस गुफामा कुनै चौपाया जनावर बस्छ होला । दिनभरि त ऊ गुफा बाहिर जाँदो हो । रात परेपछि पक्कै बास बस्न यहाँ आउँछ होला । बरु अहिले नै गुफाभित्र पसेर त्यसलाई ढुक्नु जाति होला ।
यति सोचेर ऊ कालो गुफाभित्र छिर्यो र सिकारको प्रतिक्षामा रहन थाल्यो । ऊ धेरै दिनदेखि भोको थियो । भोकले शिथिल भएकाले टाढाटाढा सिकार खोज्न पनि जान नसक्ने भएको थियो ।
त्यो गुफामा एउटा स्याल बर्षाैंदेखि बस्दै आएको थियो । दिनभरि कुखुरा चोर्न गाउँतिर जान्थ्यो । रात पर्ने बेलामा आफ्नो निवास फर्कन्थ्यो । आहारा खोजेर बास बस्नका लागि गुफातिर आँउदैथ्यो । उसले बाटोमा ठूलाठूला पाइला देख्यो ।
ती पाइला सिंहका हुन् भन्ने चिन्न उसलाई गाह्रो भएन । पाइलाका डोब उसकै गुफासम्म छ्याप्छयाप्ती थिए । आफ्नो गुफा अगाडि आइपुगेर ऊ टक्क उभियो । उसलाई शंका लाग्यो पक्कै उसको बासस्थानमा सिंह पसेको हुनुपर्छ । त्यसैले आफ्नो गुफाभित्र सरासरी छिर्न ऊ हिच्किचायो । भित्र सिंह छ÷छैन पत्ता लगाउन र आफ्नो मनको शंका निवारण गर्न उसले एउटा जुक्ति झिक्यो ।
बाहिरबाटै उसले गुफालाई बोलाउन थाल्यो ।
‘मेरो प्यारो गुफा ! तिमी कहाँ छौ ? म त आइपुगेँ त । तिमी भित्र छौ कि छैनौ ?’
गुफाबाट कुनै आवाज नआएपछि उसले फेरि भन्यो– ‘प्यारो गुफा तिमी किन बोल्दैनौ । तिमी भित्र छैनौ भने म अर्कैतिर हिँड्छु । भन न तिमी आएका छौ कि छैनौ ?’
सिंहले स्यालको कुरा चुपचाप सुनिराखेको थियो । पछिल्लो कुराले ऊ झस्क्यो । कतै मुखमा आउन लागेको आहारा उम्क्यो भने मैले अरु दुःख पाउनुपर्छ । बरु आफैँ गुफाको तर्फबाट जवाफ दिनुपर्छ कि क्या हो ? यतिखेरसम्म गुफाले कुनै उत्तर दिएको थिएन । सायद म यहाँ बसेकाले मेरो डरले उसले उत्तर नदिएको होला । यति सोचेर उसले गुफाको तर्फबाट स्याललाई जवाफ दियो –
‘ए ऽऽ ऽऽ स्याल भाइ, आइपुग्नुभयो ? तपाइँलाई स्वागत छ । म यहीँ नै छु । तपाइँ सरासरी भित्रै पाल्न सक्नु हुन्छ ।’
स्यालले भित्र सिंह छ\छैन भनेर जाँचेको थियो । गुफाले जवाफ दिए जस्तो पारे पनि त्यो सिंहको आवाज थियो । उसलाई थाहा भैहाल्यो, गुफामा पस्नु खतरा छ । ऊ आफ्नो ज्यान जोगाउन त्यहाँबाट सुरक्षित गन्तव्यतिर बाटो ततायो ।
त्यति जवाफ दिएपछि स्याल भित्र आउँछ र खाउँला भनी सिहंले निकै लामो समय प्रतिक्षा गर्यो तर स्याल त्यहाँबाट कोसौँ टाढा पुगिसकेको थियो । आफ्नो सुरक्षाका लागि पूर्वसचेत हुनुपर्छ भन्ने कुरा स्यालले अग्रिम रुपमा बुझेको थियो ।
श्रोतः baalsansar.com
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…
नववर्ष२०८३को हार्दिक शुभकामना ......... गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा थोत्रा पुराना चिज हेय मानिने। नौला नयाँ प्रेय…
माहेश्वरी भट्ट , कञ्चनपुर नयाँ वर्षको बिहान। रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो। सहर…
पुण्यप्रसाद घिमिरे हेर काे पाे, आएछ, हाँसाे खुशी, ल्याएछ। चैतपछि, पुलुक्क, नयाँ वर्ष, झुलुक्क।। पात्राेबाट,…