
कृष्ण तिमल्सिना
दशैँ सकियो
दशैँ सकियो,
फेरी घर सुनसान भयो,
सबै आफ्नो बाटो लागे।
छोराछोरी फेरि कामतिर फर्किए,
खुसीका ती दिन फेरी गए,
आमाबा फेरि एक्लै भए।
हिजोसम्म भरिभराऊ सानो आँगनमा
अब शून्यता छायो,
लालाबालाको आवाजले गुंजिने घर
आजबाट शान्त भयो।
अर्को साल कहिले आउला दशैँ ?
त्यो रमाइलो फेरि फर्किएला कि ?
घरका आधार ती पुराना पाइला,
फेरि देख्न पाइने पो हो कि होईन ?
वर्ष घुमेर दशैँ आउँदासम्म,
आमाबा यो आँगनमा होलान् कि नहोलान् ?





