
कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
मनका पीडा कहाँ गै खोलौँ सतायो बेसरी
यो चाडवाड किन पो आयो दुखायो त्यसरी,
चिःचिः र पापा भनेर भुरा उराठ बनाए
कहाँ पो चाड नहुँदा पैसा बैराग जनाए,
उधारो पनि कसरी मागौँ पुरानै बाँकी छ
कसरी भनौं मुटुका व्यथा दैव नै साक्षी छ,
लौ नयाँ लुगा भनेर साने बेसरी उफ्रियो
त्यो ठूलो छोरो पाइन्ट भन्दै निकै पो डुक्रियो,
बिचरी बुढी चाडलाई सम्झि कुनामा रुँदैछ
सकिन्न देख्न ती उस्का आशुँ मुटुमा छुँदैछ,
गरिबलाई चाड र पर्व किन पो चाहियो
दुःखले साँझ बिहान हिजो मागेर खाइयो,
रोज्गारी पनि पटक्कै छैन अहिले देशमा
निमुखालाई चाड र पर्व अनेक भेषमा,
दुखिया कर्म नगरी खानु जहान धानेर
सुखले खाँदा खुसी पो लाग्छ चाड झैं मानेर।





