रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
ठूलो घरको आडमा सानो धन्सार
तर मेरो लागि यही ठूलो संसार
भकारीमा धान छ माथि कोठामा
तल्लो कोठा रमाउँछिन् गाई गोठमा
बार्दलीमा बसेर पढ्न पाइन्छ
गर्मी हुँदा सितलु हावा खाइन्छ
डल्लेठो र डाला छन्, डाली यहीँ छन्
गर्दुवाका गाग्री र थाली यहीँ छन्
डोको, थुन्से थन्क्याउने सजिलो छ ठाउँ
सानो-सानो घरै हो धन्सार हो नाउँ
<लसुन, प्याज, अदुवा बोराभरि छन्
धन्न मेरी आमाले सोचो गरिछन्
दिदी आउँछिन् निकाल्छिन् दुना-टपरी
हामी त्यसै आउँदैनौँ कामै नपरी
फलिका र मुढा छन् झिर्कामिर्का छन्
मैले खेल्ने पिङका घुर्रा-पिर्का छन्
सुन्नू आमा बैनीले के-के भनिछ ?
`पानी पर्दा जोगाउने स्याखु पनि छ´
`यसपालिको हिउँदमा गुन्द्री बुन्ने हो
घरमा छैन हतासो कसले सुन्ने हो ?
पल्लो घरकी काकीले गर्दा गुनासो
धन्सार पसी बैनीले दिइन् हतासो
गहुँ, कोदो, मकैका थैला भरेर
राख्छिन् हाम्री बज्यैले जोहो गरेर
पानी खाने भुँड्को र घैँटो खोज्ने हो
धन्सारमा छ-छैन बालाई सोध्ने होे
भोलि धान कुट्ने हो बिस्कुन सुकाउँला
धन्सारबाट झिकेर मान्द्रो फुकाउँला
बाजेदेखि नातिलाई जे जे चाहिन्छ
धन्सारमै छ र पो खोज्दा पाइन्छ
काम गर्न पाउँदा रमाई हाल्छु म
भित्तामा छन् माकुरे जालो फाल्छु म
कुच्चो लिँदै बढार्न अघि सर्ने हो
घरलाई झैँ धन्सारलाई माया गर्ने हो।
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…