महेन्द्र नेउपाने
लोकन्थली,भक्तपुर
आज भाइटिकाको दिन। बिहानै उठेर ड्रइङ रुमको सोफामा बसेको थिएँ। आँखा सिधै डाइनिङ टेबलमा राखिएको ट्रेमा बुहारीले सजाएर राखेका सेलरोटीमा पर्यो। अनायासै बाल्यकालको एउटा घटना याद आयो। म केवल छ–सात वर्षको थिएँ होला। भोटो मात्रै लगाएर सुतेको थिएँ। बिउझिदा सेलरोटीको बास्ना आयो। उठेर बास्ना पछ्याउँदै जाँदा खाटमुनि छोपेर राखेको ताउलोमा सेलरोटी फेला परे। एउटा सेलरोटी हातमा लिएर बाहिर निस्केर टोक्न खोज्दै थिएँ, हजुरआमाले कराउनुभयो, “ए लु लु, नाति! आज त टीका नलगाई खान हुँदैन।” म सेलरोटी फेरि ताउलोमा राख्न भित्र फर्किएँ। आज म बहत्तर वर्षको भएँ। तिहारमा सेलरोटी त्यतिखेरदेखि निरन्तर बनिरहेको देखिरहेको छु। घर परिवारको बनोट फेरियो, भान्सा चुलो फेरियो, भाँडाकुँडा उपकरण फेरिए। सायद सेलरोटीको दाउन समेत फेरियो होला। तर सेलरोटी उही रूप र आकारमा अहिले पनि विद्यमान छ। मलाई बाल्यकालको त्यो सेलप्रेम हुरुक्कै जागेर आयो। छेउमै राखेको लाठी समातेँ र उठेँ। अनि सिधै डाइनिङ टेबलतिर लागेँ। त्यहाँ पुग्दा उही पुरानो बास्ना आइहाल्यो। हात बढाएर एउटा सेलरोटी उठाएँ। अब खानुपर्यो भनेर मुखमा पुर्याउनै लागेको थिएँ, डाक्टर भएकी नातिनी खै कहाँबाट हो आईपुगिछ। ऊ कराई, “ए लु लु, हजुरबा! बिहानै यस्तो चिल्लो खान हुँदैन।” मैले सेलरोटी थपक्क त्यही ट्रेमा राखिदिएँ।
१. बालबालिकाको दिनचर्यामा परिवर्तन लामो बिदा भएपछि धेरै बालबालिकाको दिनचर्या घरमै सीमित हुन्छ। बिहान…
अन्जु चालिसे रुपान्जली तिमी आउँदैछौ रे, गाउँका गोरेटो हुँदै, पहाडमा घाम छर्दै, कसैको आँगनमा खुसी,…