Categories: बाल कथा

मनकलिको जिद्दी


श्रीबाबु कार्की

जङ्गलको बीचमा एउटा ठूलो पोखरी थियोे । पोखरी वरिपरि धेरै जङ्गली जनावरको आश्रयस्थल थियो । त्यो पोखरीको पानीमा धेरै जनावरहरू आश्रित थिए । त्यहाँ हात्तीहरूको एउटा ठूलो बथान पनि बस्थे।
जङ्गली हात्तीहरू दिनभर जङ्गलका घाँसपात खान्थे र पोखरीको पानी खाएर आराम गर्दथे । नजिकैका मैदान र फाँटमा घाँस प्रशस्त भएको हुँदा हात्तीहरू लामो समयदेखि त्यहीँ बस्थे।
हात्तीहरूको बथानमा कृष्णकलि र रामकलि नामका दुई पोथी हात्ती थिए । उनीहरूको एकै दिन जन्मिएका दुई छावाहरू थिए । यी दुई छावासँगैसँगै खेल्थे। सँगैसँगै आमाहरूसँग खानेकुरा खोज्न निस्कन्थे।
जङ्गलमा यी दुई छावाको रमाइलो खेल हेरेर हात्तीको बथान रमाइरहेका हुन्थे। बथानका सबै हात्तीहरू दुवै छावालाई असाध्यै माया गर्थे । जङ्गलकै ठूलो जनावर हात्तीको साना बच्चा देखेर धेरै जङ्गली जनावर रमाइलो मान्थे । ती दुई छावा एक आपसमा चल्थेखेल्थे। पानीमा लडीबुडी गर्थे । चौरमा विभिन्न आसनको नक्कल गरेर सबैलाई रमाइलो देखाइदिन्थे । उनीहरूलाई आफ्नै सुँडले के गर्ने हो थाहा थिएन । कहिले सुँड फनफन घुमाएर रमाइलो गर्थे त कहिले सुँडले माटाे उधिनेर रमाइलो गर्थे ।
कतिपय समयमा यी दुबै छावा आफ्नै सुँडमा अल्झिएर लड्थे पनि।
आमा कृष्णकलि केही बूढी थिई भने रामकलि तरुनी हात्ती थिई । उनीहरूको आफ्ना छावाको नाम पनि राखिदिएका थिए । कृष्णकलिले आफ्नो छावाको नाम रूपकलि राखेकी थिई भने रामकलिले आफ्नो छावाको नाम मनकलि राखेकी थिई।
जङ्गलका हात्तीहरू निकै बलिया थिए । हात्तीको फौजमा निकै बलियाबलिया हात्तीले जङ्गलका ठूूलाठूूला रूखका हाँगा सुँडले भाँचिदिन्थे । तिनै बलिया हात्तीले भाँचेका रूखका घाँसपात खाएर बथानका अरू हात्तीहरू आफ्नो पेट भर्थे । आफूभन्दा धेरै ठूला हात्तीले ठूल्ठूला रूखको हाँगा मरक्कमरक्क भाँचेको हात्तीका छावाहरू रूपकलि र मनकलिलाई असाध्य मन पर्थ्यो । उनीहरू पनि आफू कहिले ठूलो हुँला र ठूल्ठूला रूखका हाँगा भाँच्न सकौँला भनेर सोच्ने गर्दथे ।
दुई छावामध्ये मनकलि अलि महत्वाकाँक्षी थियोे । ऊ ठूल्ठूला हात्तीले गरेको कामको नक्कल गर्न खोज्थ्यो । ठूला हात्तीले जे गर्यो ऊ त्यही गर्न तम्सिन्थ्यो तर रूपकलि त्यति धेरै महत्वाकांक्षी थिएन । ऊ आफूले सक्ने काम मात्रै गर्दथ्यो । नसक्ने काममा रूपकलिले कहिल्यै समय खेर फाल्दैन्थ्यो। उसलाई आमाले त्यही सिकाएकी थिई । आमा बेलाबेलामा रूपकलिलाई सम्झाउँथी, ‘जुन काम आफूले गर्न सक्दैनौं त्यो काममा गर्दै नगर्नू । निरर्थक काममा समय र श्रम खर्च गर्नु बेकार हुन्छ ।’
मनकलि भने त्यस्तो थिएन । ऊ निरर्थक काममा पनि धेरै समय र श्रम खेर फाल्दथ्यो । एक दिनको कुरा हो । जङ्गलका सबै हात्तीहरू दिनभर जङ्गलमा चरेर पोखरीको पानी पिउँदै पोखरी नजिकै आराम गरिरहेका थिए । रूपकलि छावा पनि दिनभर आमासँगै डुलेका कारण थकित भएर आमासँगैै आराम गरिरहेको थियोे । उता मनकलि छावा पोखरीको नजिकै रहेको बडेमानको सिमलको रूख आफ्नो सुँडले बटार्दै ढाल्न कोशिस गरिरहेको थियोे । चर्को घाममा खलखल पसिना काढेर मनकलिले त्यस्तो नचाहिँदो काम गरेको पटक्कै मन परेको थिएन।
धेरै पटक सम्झाउँदा पनि मनकलि त्यो ठूलो सिमलको रूख ढालेरै छोडने जिद्दी गरिरहेको थियोे । मनकलिको सानो सुँडले त्यो विशाल सिमलको रूख ढाल्न त परै जाओस् हल्लँदा पनि हल्लिदैन्थ्यो । बथानका ठूल्ठूला हात्तीले त हल्लाउन नसक्ने त्यो रूख बिचरा सानो छावाले कसरी ढाल्न सकोस्।
ऊ सक्दै नसक्ने काममा जिद्दी गरिरहेको थियो । त्यो छावाको जिद्दी नजिकै आराम गरिरहेका हात्तीहरूले देखिरहेका थिए।
मनकलिको त्यो उपद्रो देखेर बथानकी एउटी बुढी ढोई हात्ती बसिरहेको ठाँउबाट उठेर मनकलि छावालाई सम्झाउँदै भन्न थाली, ‘ऐइ सानो नाति मनकलि, तिम्रो यति सानो सुँडले यत्रो विशाल सिमलको रूख ढाल्न सक्छौ त ?’
मनकलिले भन्यो।
‘हेर्नुस् न हजुरआमा, यो रूख म ढाल्न चाहन्छु ।
मैले अघिदेखि कोशिस गरिरहेको छु तर किन ढल्दै ढल्दैन ?’ उसले अचम्म मान्यो । बूढी ढोई हात्तीले मनकलिलाई सम्झाउँदै भनी, ‘हेर, नाति तिमी अहिले साना छौ । तिम्रो सुँड पनि सानो छ । तिमीले आफ्नो औकातभन्दा बढीको काम आँटेको हुँदा त्यो सम्भव नभएको हो । हेर, तिमीले जत्ति नै कोशिस गरे पनि त्यो रूख ढाल्न असम्भव छ। जुन काम तिमी गर्न सक्दैनौं त्यो काम गर्नु व्यर्थ छ। त्यस्तो व्यर्थ काम गर्न छोडिदेऊ । यसले तिम्रो समय र श्रमको मात्रै नाश गर्छ।’
बूढी हजुरआमाले सम्झाएपछि मनकलिले बडेमान सिमलका रूख ढाल्ने काम छोडिदियो । त्यस दिनदेखि मनकलिले आफूले सक्ने काम मात्रै गर्न थाल्यो । आफ्नो औकातको काम गर्दा ऊ कहिल्यै पनि असफल हुनु परेन ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

6 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

6 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago