Categories: विविध

अनेकौँ सकारात्मक सन्देशको पर्व छठ !

हाम्रो धर्म र संस्कृतिको आधार मूलतःप्रकृति नै रहेको छ । पर्वका अवसरमा प्रकृतिका शक्ति र विशेषताहरूको उच्च सम्मान स्वरूप पूजा गर्ने, पूजितको महिमाको श्रद्धापूर्वक स्मरण गरी दायित्वका लागि संकल्प लने काम गरिँदै आएको देखिन्छ । यसलाई थप जागरण र समाजोपयोगी बनाउन सकिने देखिन्छ ।
अहिले छठ पर्व प्रारम्भ भएको छ । सामान्यतः कात्तिक शुक्ल चतुर्थीकै दिनदेखि सुरु हुने यो पर्वको समापन कात्तिक शुक्ल सप्तमीको दिन हुन्छ । नेपाल, खास गरी तराई क्षेत्र रउत्तर भारतमा बडो उत्साहपूर्वक आस्था–निष्ठासाथ मनाइने यो पर्व अहिले नेपालका अन्य क्षेत्रमा समेत मनाइन्छ ।
छठ पर्व यस्तै पर्व हो । छठमा मूलतःसूर्यको पूजा गरिन्छ । सूर्य ग्रहहरूका नायक हुन् । प्राकृतिक ताप र उज्यालोका स्रोत हुन् । सूर्यलाई रंगहरूको स्रोत पनि मानिन्छ । सूर्य प्रत्यक्ष देवता हुन् । उज्यालो, अँध्यारो, फक्रने, उम्रने, पूmल्ने, फल्ने, पाक्ने प्रक्रियाका शक्ति सूर्यकै शक्ति हो । स्वच्छ सूर्यको रश्मिमा अनेकौँ सन्निहित रहेको बुझ्न गाह्रो छैन ।
सूर्यको शक्तिलाई मूल शक्ति मान्ने धार्मिक मत पनि रहेको देखिन्छ, जसलाई ‘सौर’ भनिन्छ र सनातनीहरूले सृष्टिका पाँच मुख्य दैवी शक्तिका रूपमा पूजा गर्दछन् । छठमा छठी माताको पनि पूजा गरिन्छ । मातृ प्रधान पर्वको रूपमा रहेको हुनाले छठी माताको पूजाको पृथक र विशिष्ठ अर्थ रहेको छ ।
सनातन संस्कृतिका अनुयायीहरूले मूलतः पाञ्चायन पूजा गर्दछन् । पाञ्चायनभित्र पाँच शक्तिको पूजा हुन्छ । शब्दको अर्थका हिसाबले ‘पञ्च’ भनेको पाँच र ‘अयन’ भनेको घर वापथहो । यही पाँच शक्तिमध्ये एक्लाएक्लैको पूजा गर्नु पन्थ वा मतहो भने सबैलाई समान रूपले मान्नु सनातन हो । यही सबै मान्नेहरू समग्रमा मान्नेहरूको पहिचान हिन्दू हो । तर, हिन्दू या सनातनीको मापदण्ड र पहिचानको आधार यत्ति मात्र हो भनेर भने बुझ्नु हुँदैन ।
पाञ्चायनका पाँच शक्ति कुन कुन हुन् त ? सनातनीहरूका पाँच पूज्य हुन्- गणपति, सूर्य, देवी, शिव र विष्णु । यीमध्ये फरक फरकलाई मान्ने मत विकास गरी त्यस अनुसारको पथ अवलम्बन गर्नेहरू पनि छन् । गणपति (गणेश)लाई सर्वाेपरि ठान्ने गाण पत्य हुन् । सूर्यलाई सर्वाेपरि मान्ने सौर हुन् । देवीलाई प्रमुख मान्ने शाक्त हुन् । शिवलाई मुख्य मान्ने शैवहुन् । विष्णुलाई प्रमुख मान्ने वैष्णव हुन् ।
प्राचीन हिन्दूहरू पूजा पद्धति, पन्थ वा विश्वासका आधारमा यसरी बाँडिएका थिएनन् । यस्तो विचार वा पन्थका कोही प्रवर्तक नभएको हुनाले र यी परम्परा कहिलेदेखि प्रारम्भ भएभन्ने कुनै मिति निर्धारित नभएको हुनाले यिनलाई सनातन भनिएको हो । पछि देश, काल, परिस्थिति र आवश्यकताका आधारमा समाजलाई खास ढंगले अघि बढाउन फरक फरक विद्वानहरूले यिनै पाँच शक्तिमध्ये कुनै एउटामा आधारित पन्थ विकास गरिएको देखिन्छ ।
यद्यपि यिनीहरूलाई धर्म भनियो, वास्तवमा यी धार्मिक मत, विश्वास, विचार वापन्थ(सम्प्रदाय) हुन् भने ‘सनातन धर्म’जीवन व्यवहार र संस्कृतिको रूपमा विकसित हुँदै आएको देखिन्छ । सनातन संस्कृतिका पर्व–उत्सवहरू मनाउँदा प्रकृति, पशु–पंक्षी, मानिस,समाज, उत्पादन, दायित्वआदिमा केन्द्रित रहेर मनाइएको हुन्छ । हरेकका अन्तर्निहित अर्थ, सामथ्र्य र सन्देश छन् ।
यी सबै विषयसँगै छठ पनि जोडिएको छ । छठ पर्वको मुख्य दिन भनेको षष्ठी तिथि हो । चतुर्थीबाट प्रारम्भ भई सप्तमीमा सकिने यस पर्वको केन्द्रीय दिन षष्ठी रहेको हुनाले पनि यसलाई छठ भनिएको हो । यस पर्वलाई ‘सूर्य षष्ठी’पनि भनिन्छ । ठूलो उत्सवको रूपमा कात्तिक शुक्ल पक्षमा मनाइने भए पनि वर्षमा दुई पटक यो पर्व पर्दछ । अर्को छठ चैतमा पर्ने भएको हुनाले ‘चैती छठ’भनिन्छ ।
अहिले सामाजिक समानताको बोध बढ्दै गरेको हुनाले पुरुषले पनि यो छठ व्रतका व्रतीका रूपमा सहभागीहुने क्रम देखिन्छ । तर, मूलतःमहिलाहरूले पति र सन्तानको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धिका लागिव्रत बस्ने प्रचलन हो । महिलाहरू मातृ शक्ति हुन् । पारिवारिक दायित्वका हिसाबले आमाहरूले घरको काम गर्ने जिम्मेवारी रहँदै आएको देखिन्छ ।
यस्तो हुनुको कारण महिलाहरूको कमजोरी नभई तात्कालिक परिस्थिति हो । आमाहरू सन्तानका लागि जस्तोसुकै दुःख–कष्ट भोग्न र त्याग गर्न सक्दछन् भन्ने अनेकौँ उदाहरणमध्येको एउटा छठको कठोर व्रतहो । यसबाट महिलाको पति(पुरुष) र सन्तानप्रतिको एकोहोरो र निरपेक्ष दायित्वको हिसाबले बुझियो भने गलत हुनेछ । यसलाई आमाहरू(महिला)प्रतिपति(पुरुष) र सन्तानको दायित्व स्मरण गर्नुपर्ने पर्वका रूपमा बुझ्न आवश्यक छ ।
शास्त्रीय सन्दर्भहरू भन्दा पनि तराईको बासिन्दा र भारतका विभिन्न क्षेत्रमापर्व–व्रतमा दर्शनार्थी सहभागी भएको आधारमा यसका प्रक्रिया जटिल र नियम संगत छन् । कात्तिक शुक्ल चतुर्थी यसको पहिलो दिन हो । यस दिन श्रद्धालु व्रतीहरूले मात्र नभई घरमा कसैले पनि माछामासु खाइँदैन । यस दिन पूरा घर चोख्याइन्छ र नुहाइ–धोइ गरी चोखोनितो गरी शुद्ध खानाखाने गरिन्छ ।
पञ्चमी तिथि यस पर्वको दोस्रो दिनहो । यस शुद्धतापूर्वक बसिन्छ । शुद्धतासाथ व्रतको तयारी गरिन्छ । दिनभरि खास गरी यस दिन खिरको प्रसाद बनाई छठी माताको नाममा समर्पण गरेर प्रसादको रूपमा त्यही खिर खाइन्छ ।
तेस्रो दिन षष्ठी तिथि नै यस पर्वको मुख्य दिनहो । यस दिनभरि निर्जल उपवास बसी अनेकौँथरि पकवान्न फलफूलसहित छठीमाताको पूजा गरिन्छ र अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । रातभर जाग्राम बसी चौथो दिन(सप्तमीको) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन यस व्रतको विधिवत समापन गरिन्छ । यस क्रममा मान्यजनलाई ढोगभेट गरी आशिर्वाद लिने पनि गरिन्छ ।
यसरी यो पर्वले नुहाउने पानी र पानीका स्रोतहरूको शुद्धताको चेतना विस्तार गर्न सहयोग पुर्‍याउन सक्दछ । सूर्यको स्वच्छ प्रकाशका लागि वातावरणीय शुद्धताको चेतना जगाउन सकिन्छ । घरका अग्रजहरूप्रति मानसम्मान पर्व विशेषमा मात्र नभई सधै गर्नुपर्ने दायित्वबोध गर्न सकिन्छ । सफापानी, स्वच्छ वातावरण, परिवारका लागि समर्पण, समर्पणकोको मूल्यबोध, घरका ज्येष्ठ व्यक्तित्वहरूको सम्मान र वहाँहरूप्रतिको दायित्व आदि विषयहरू यस पर्वले दिने सन्देश हुन्।यी सन्देशहरू कुनै क्षेत्र, वर्ग, जाति, लिङ्ग विशेषका लागि मात्र नभई सबैका लागि महत्वपूर्ण छन्।
सबै परम्परा, संस्कृति र पर्व–उत्सवहरूलाई मानव जीवन र यसका विभिन्न पक्षहरूसँग जोडेर हेर्ने, बुझ्ने र मनाउने गर्न सके संस्कृतिको संरक्षण र संवद्र्धन हुन सक्दछ भने यसो गर्न नसक्दा नयाँ पुस्ताले ग्रहण गर्न नसक्ने र औचित्य समाप्त हुँदै जान्छ । छठ पर्वको मौलिक सन्दर्भको जानकारी विस्तार गरी जीवनोपयोगी सार्थक संस्कृतिको रूपमा थप विकास गर्न आवश्यक छ । प्रकृति र मानव जीवनसँग जोडिएको छठ पर्वले अनेकौँ सन्देश बोकेको छ । मानव समाजको अध्ययनको अन्तर्वस्तु यसमा समेटिएको छ । त्याग, समर्पण, निष्ठासँग जोडिएको पर्व छठ हाम्रो सांस्कृतिकपहिचानपर्व हो । छठको उपलक्षमा हार्दिक शुभकामना ।

श्रोतः नेपाल प्रेस

सारथि बाल पत्रिका

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

7 minutes ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

22 minutes ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

25 minutes ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

1 day ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

1 day ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago