ईशान सुवेदी
कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ
“नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो ।” नाटक सुरु हुनुअगावै कानमा परेको यो ओजनदार वाक्यको वास्तविक गहिराइ तब मात्र बोध भयो, जब मञ्चको अन्तिम पर्दा सुस्तरी तल खस्यो। मञ्चको त्यो क्षणिक प्रकाश र संवादभित्र केवल क्षणिक मनोरञ्जन मात्र थिएन; त्यहाँ त जीवनका अनगिन्ती रङ्गहरू र मानव अस्तित्वको अविभाज्य सार लुकेको रहेछ। सानैदेखि मञ्चमा उभिएर अभिनय गर्ने मेरो तृष्णालाई ‘फलामे गेट’ ले केवल पूरा मात्र गरेन, शब्दहरूले वर्णन गर्नै नसकिने एक अलौकिक र जीवन्त यात्रामा दोहोर्यायो।
‘फलामे गेट’ नाटक हाम्रा लागि केवल अभिनयको सुरुवात वा कलाकार बन्ने पहिलो पाइला मात्र थिएन। यो त सम्बन्धहरूलाई प्रगाढ बनाउने र प्रतिभालाई फक्राउने एउटा शक्तिशाली चुम्बकीय केन्द्र थियो । लेखक, संयोजक तथा निर्देशक प्रेमनारायण भुसाल सरको सुमधुर, सुललित भाषाशैली र बालमनोविज्ञानको गहिरो पकडले गर्दा नै यो सम्भव भयो । बालबालिकालाई भौतिक सुविधा (पैसा, खेलौना वा राम्रो विद्यालय) मात्र दिएर पुग्दैन, उनीहरूलाई आमाबुबाको माया, समय र सामीप्यता पनि उत्तिकै चाहिन्छ भन्ने गहिरो सन्देश यस नाटकले बोकेको थियो । निर्देशक भुसाल सरसँगै प्रिया पौडेल, ज्ञानप्रसाद आचार्य, बाबुराम लम्साल, गणेश तिमिल्सिना र हरिशरण ढुङ्गाना गुरुगुरुआमाहरूको मार्गदर्शनमा हामीले पात्रको मर्म बुझ्न पायौँ ।
अभिनय कुनै बालसुलभ खेल थिएन । कडा छनोट प्रक्रिया पार गरेर जोडिएका हामी नयाँ कोपिलाहरूका लागि अहंकारी र क्रोधी उद्योगपति ‘आनन्द शर्मा’ वा मुख्य बालपात्र बन्नु कम्ती चुनौतीपूर्ण थिएन । दर्शकले मञ्चमा चिटिक्क परेको सुन्दर प्रस्तुति मात्र देख्छन्, तर त्यस पर्दापछाडि अहोरात्र खटेका पाखुराहरू, निद्रा खोसिएका आँखा, थकानले चुर भएका पाउ अनि पसिनाले भिजेका मस्तिष्कहरूको अथक साधना लुकेको हुन्छ । सुरु-सुरुमा संवाद बिर्सने, आवाज नकँप्ने र डरले हातगोडा काँप्ने समस्याहरू हुन्थे । तर एकापसमा सहयोग गर्दै, बिग्रिएका दृश्य सयौँपटक दोहोर्याउँदै जाँदा हामीले सामूहिक कार्य, अनुशासन र अद्भुत आत्मविश्वास सिक्यौँ ।
दर्शकले भरिभराउ हल, धड्किरहेको मुटु र सुरुमा लागेको डर बिस्तारै मञ्चको उज्यालोसँगै हराउँदै गयो । जब हामी आफ्ना पात्रहरूमा एकाकार भयौँ, हामी केवल बूढानीलकण्ठ स्कुलका विद्यार्थी मात्र रहेनौँ, आफूलाई साँचो अर्थमा ‘कलाकार’ भन्न सक्ने उचाइमा पुगिसकेका थियौँ। अभिभावकहरूसामु प्रस्तुत गरिएको अन्तिम शोमा, जब मञ्चमा अहंकारी पिताको घमण्ड चकनाचुर भयो, मञ्चबाट बाहिरिँदै गर्दा अन्जानमै आँखाबाट दुई थोपा आँसु खसे। ती आँसुमा सफलताको हर्ष, साथीहरूसँगको बिछोडको पीडा र एउटा अविस्मरणीय यात्रा पूरा भएको बोध लुकेको थियो ।
राष्ट्रिय पत्रपत्रिका र टेलिभिजनहरूले हाम्रा पसिना र साधनालाई कभरेज गर्दा मन गर्वले प्रफुल्लित भयो । ठुला मञ्चका भाषण र पदकहरू पनि आज यी सम्झना र आत्मगौरवका अगाडि फिक्का लाग्छन्। बगेको खोला नफर्किए जस्तै त्यो समय त बित्यो, तर अब न म कहिल्यै ‘आनन्द शर्मा’ हुने छु, न अंश दाइ ‘कालपुरुष’, न त यथार्थ मेरो छोरो ‘आयुष’!
तथापि, मञ्चले दिएको यो आत्मविश्वास, साथीहरूसँगको कसिलो सम्बन्ध र जीवनलाई हेर्ने नयाँ दृष्टिकोण हाम्रा हृदयका पानाहरूमा सदैव अमर र जीवन्त रहने छन्— सदा-सर्वदा!
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…