उद्धवप्रसाद प्याकुरेल उद्भाव
बाँझो भूमि खनी छरेर पसिना उब्जन्छ दाना फल
माटो चिन्न सके छ उन्नति यहाँ होला खुसीको पल
आफ्नै पौरखमा रमेर रसिलो स्वादिष्ठ खाइन्न र !
जन्मेको घर देश काख जननी आनन्द पाइन्न र !
गर्वैको अनुभूति हुन्छ मुटुमा नेपाल मेरो घर
पुर्खाको इतिहास गौरव कला आधार मेरो भर
उर्जाले भरिलो छ हिम्मत नयाँ उत्साह छाइन्न र !
जन्मेको घर देश काख जननी आनन्द पाइन्न र !
भोको पेट कहाँ हुनेछ कहिले सीपै लगाए पछि
फुल्छन् फूल अनेक जात जगमा आसा जगाए पछि
भाषा संस्कृति सान मान जनमा पोसाक लाइन्न र !
जन्मेको घर देश काख जननी आनन्द पाइन्न र !
हिमाली शिर त्यो मधेश जग यो छाती पहाडी धरा
ती खोला झरना मनोहर छटा डाँडा र पाखा गरा
आफ्नै भूमि जहाँ रचेर रचना ती गीत गाइन्न र !
जन्मेको घर देश काख जननी आनन्द पाइन्न र !
कोदाको सुपमा छ तागत यहाँ सन्तोष मानी पिए
बन्ला ज्यान छ अन्न पात फल ती खाएर स्वादै लिए
बारी खेत हराभरा कृषक भै पेसा छ धाइन्न र !
जन्मेको घर देश काख जननी आनन्द पाइन्न र !
इच्छा शक्ति जहाँ तहाँ सफलता आसा भरोसा गरी
आफ्नै देश रही बदल्न सकिए बढ्थ्यो प्रतिष्ठा भरी
जाँदैछौ र कहाँ ? भुलेर जन हो यो देश चाहिन्न र !
जन्मेको घर देश काख जननी आनन्द पाइन्न र !
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…