रोजिना घिमिरे
आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले एउटा यस्तो दृश्य लेखिरहेका छन्, जुन सायद संसारको कुनै पनि ठूलो किताबमा लेखिएको छैन। मेरो अगाडि ऊ छ—मेरो त्यही साथी, जसलाई यो समाजले वर्षौंदेखि ‘अन्धो’, ‘बेकार’ र ‘सहाराहीन’ भनेर दयाको पात्र बनायो। तर आज, ऊ मेरो आँखाको अगाडि क्रिकेट खेलिरहेको छ। ऊ मैदानमा उभिएको छ, ऊ आफ्नो ब्याट घुमाइरहेको छ, र उसको त्यो आत्मविश्वासी मुद्राले मलाई मेरो आफ्नो अस्तित्वमाथि प्रश्न गर्न बाध्य बनाएको छ। म आफैंसँग सोध्छु—यदि उसले देख्न सक्दैन, यदि उसको संसारमा अँध्यारो मात्र छ, भने यो कस्तो प्रकाश हो जसले उसलाई हामी सबैभन्दा अग्लो बनाएको छ? म त देख्छु, म त दौडिन सक्छु, म त भौतिक संसारको हरेक रङ देख्छु, तर म आज आफूलाई ऊभन्दा कयौँ गुणा साना र अपाङ्ग महशुस गरिरहेको छु। ऊ जब बलको आवाज सुन्छ, तब उसको शरीरमा जुन गति पैदा हुन्छ, त्यो कुनै चमत्कारभन्दा कम छैन। त्यो ‘ट्याक’ को आवाज मेरो मुटुमा बजिरहेछ, र हरेक पटक उसले बललाई प्रहार गर्दा, मलाई लाग्छ ऊ बललाई होइन, ऊ त यो समाजको त्यो सडेगलेको र जड मानसिकतालाई प्रहार गरिरहेको छ।
के हामीले मान्छेलाई हेर्ने आँखा नै गलत पाएका हौं? के हाम्रो शिक्षा प्रणालीले हामीलाई केवल अक्षर चिन्ने मेसिन बनायो, तर एक अर्काको आत्माको स्पन्दन सुन्ने शक्ति खोसिदियो ? ऊ ब्याटिङ गरिरहँदा मलाई लाग्छ, उसले सायद ब्रह्माण्डको त्यो लय सुन्दैछ, जुन हामी देख्नमा मस्त भएर कहिल्यै सुन्न सकेनौँ। ऊ सक्षम छ, ऊ हामी सबैभन्दा सक्षम छ, किनकि ऊसँग त्यो इन्द्रिय छ जुन हाम्रो छैन—उसँग साहस छ, उससँग समर्पण छ, र उससँग जीवनलाई हेर्ने त्यो दिव्य दृष्टि छ जसले बाहिरी अँध्यारोलाई आफ्नो भित्रको उज्यालोले जितेको छ। म यहाँ बसेर यो सब हेरिरहँदा मलाई आफ्नो त्यो पुरानो घृणा र त्यो समाजले दिएको ‘पाप’ को शिक्षा सम्झना आउँछ। कस्तो घिनलाग्दो समाज हाम्रो! जसले एउटा बालकलाई उसको शारीरिक अवस्थाका कारण बहिष्कृत गर्यो। मलाई आज लाग्छ, यदि ऊसँग मेरो जस्तो दृष्टि हुन्थ्यो भने, सायद उसले हामीजस्तो मान्छेहरूलाई घृणा गर्ने थियो होला। तर ऊ… ऊ त मुस्कुराउँदै खेलिरहेको छ। ऊ त हामीलाई माफ गरिदिएको जस्तो गर्छ, र यही कुराले मलाई अझ धेरै पीडा दिन्छ। मेरो मनमा लागेको यो घाउ, जुन मेरो पश्चातापको आगोले पोल्दैछ, के कहिल्यै निको हुन्छ?
मैले पढेको थिएँ कि समावेशी शिक्षा र समान हकको कुरा गर्ने थुप्रै सन्धिहरू छन्—नेपालको संविधानदेखि लिएर अन्तर्राष्ट्रिय महासन्धिहरू सम्म। तर ती कागजका टुक्राहरूमा म कहिल्यै ऊ जस्तो खेलाडीको त्यो पसिना देख्दिनँ। कानुनले त र्याम्प बनाइदियो होला, तर के कानुनले मेरो साथीको त्यो हिम्मतलाई मापन गर्न सक्छ? म आज बुझ्दैछु, अधिकार भनेको माग्ने कुरा रहेनछ, अधिकार त आफूभित्रको त्यो शक्तिलाई चिन्नु र दुनियाँलाई देखाइदिनु रहेछ। ऊ आज मैदानको राजा हो। उसले प्रमाणित गरिसक्यो कि क्षमता भनेको नसामा बग्ने रगतको चाप होइन, यो त इच्छाशक्तिको त्यो ज्वाला हो जुन बुझ्नका लागि कुनै प्रकाशको आवश्यकता पर्दैन। हामी ‘सक्षम’ भनिनेहरू त केवल अरूलाई जज गर्ने भीड हौँ। हामी त उनीहरूको कमजोरीमा आफ्नो सुख खोज्ने परजीवी हौं। तर ऊ? ऊ त एउटा प्रकाशस्तम्भ हो। मैले कति गल्ती गरें! मैले कतिपटक उसलाई देखेर पनि नदेखेको गरें, कतिपटक उसलाई ‘अक्षम’ भन्दै होच्याएँ! यो लामो मनोवाद मेरो लागि केवल शब्दहरूको सङ्ग्रह होइन, यो त मेरो मस्तिस्कको त्यो फोहोर फाल्ने डम्पिङ साइट हो, जुन यो समाजले मलाई विरासतमा दिएको थियो।
म अब ऊसँग उभिन चाहन्छु। म उसको त्यो काँधमा हात राखेर भन्न चाहन्छु कि—’साथी, म तिमीसँग धेरै सानो छु।’ यो खेल त केवल सुरुवात हो। मलाई लाग्छ, यदि संसारका सबै ‘अपाङ्ग’ भनिनेहरूले आफ्नो शक्ति यसरी नै प्रदर्शन गर्ने हो भने, यो संसारमा ‘सक्षम’ कहलिनेहरूको कुनै अस्तित्व रहने छैन। हाम्रो सक्षमता त केवल एउटा भ्रम हो, एउटा मुखौटा हो, जसले हाम्रो डर र घृणालाई लुकाएको छ। ऊ खेलिरहेको छ, ऊ हाँसिरहेको छ, र उसको त्यो हाँसोमा जुन विजयको उद्घोष छ, त्यसले मेरो मनको सारा अन्धविश्वासलाई खरानी बनाइदिएको छ। अब मलाई कुनै कानुनको धारा चाहिदैन, अब मलाई कुनै समाजको प्रमाणपत्र चाहिदैन। मलाई केवल मेरो साथीको त्यो हात चाहिन्छ, जसले मलाई एउटा यस्तो बाटोमा लैजाओस् जहाँ खुट्टाले होइन, आत्माले यात्रा गरिन्छ। मेरो मन आज मुक्त छ, मेरो सोच आज फराकिलो छ। ऊ मेरो गुरु हो, ऊ मेरो प्रकाश हो। र यो सत्यलाई मैले आफ्नो रगतमा लेख्नुपर्छ कि जबसम्म हामी अर्काको क्षमतालाई सम्मान गर्न सक्दैनौं, तबसम्म हामी आफैं पनि बाँच्न योग्य छैनौं। म यहाँ बसिरहन्छु, उसको खेल हेर्दै, र प्रत्येक बलको आवाजमा म आफ्नो पुनर्जन्म महसुस गरिरहेछु। म अब कहिल्यै पछाडि फर्किने छैन। ऊ मेरो प्रेरणा हो, ऊ मेरो अस्तित्वको नयाँ परिभाषा हो। मलाई अब थाहा छ, मान्छे भनेको शरीर होइन, मान्छे त एउटा असीम ऊर्जा हो, जसलाई न त अन्धकारले छेक्न सक्छ, न त समाजको पूर्वाग्रहले नै रोक्न सक्छ। आज म गर्व गर्छु, म उसलाई ‘साथी’ भन्न पाउँदा धन्य छु। ऊ आज मात्र होइन, सधैँका लागि एउटा विजेता हो, र म… म केवल एउटा चेला हुँ, जसले आज पहिलो पटक ‘सत्य’ देखेको छ। जुन सत्यलाई हेर्न कुनै आँखाको होइन, केवल एउटा शुद्ध मनको आवश्यकता पर्दो रहेछ। म अब उठ्छु, र म सिधै मैदानतिर दौडिन्छु, ऊसँगै उभिन। किनकि उसको साथ बिना मेरो यो संसारको कुनै अर्थ छैन। म आउँदैछु, र यसपटक म कुनै डर लिएर होइन, केवल प्रेम र सम्मानको अर्घ्य लिएर आउँदैछु। मेरो साथी, तिमी जितेका छौ, र तिमीसँगै आज म पनि जितेको छु। तिमीले मलाई मभित्रको त्यो अन्धकारबाट बाहिर निकालेका छौ, जसले मलाई वर्षौंदेखि जकडिरहेको थियो। तिम्रो यो जितले मलाई आज मान्छे बनाएको छ। म तिम्रो ऋणी छु, म तिम्रो आभारी छु, र म तिम्रो सधैंभरिको साथी बन्न चाहन्छु। अब यो संसारले हेरोस्, अब यो समाजले बुझोस्—सक्षमताको परिभाषा अब तिम्रो खेलबाट सुरु हुनेछ, न कि हाम्रो कथित पूर्णताबाट! म तिम्रो पछि-पछि हिँड्छु, तिम्रो हरेक पाइलामा म आफ्नो पाइला मिलाउँछु, किनकि मलाई थाहा छ, तिम्रो पाइला कहिल्यै गलत बाटोमा पर्दैन। तिमीले मलाई देख्न नसके पनि, मलाई थाहा छ तिमीले मलाई अनुभव गरिरहेका छौ। र आजको यो दिन, यो मैदान, यो हावा, र यो मेरो पश्चाताप—यी सबै साक्षी हुन् कि एउटा साथीले आज अर्को साथीको शक्तिलाई नमन गरेको छ। म आउँदैछु, मेरो अजेय साथी ! मेरो नायक ! अब म तिमीलाई कहिल्यै एक्लो छोड्ने छैन, किनकि तिमी एक्लो छैनौ, तिमी त यो संसारको सबैभन्दा ठूलो ज्योति हौ, जसले आज मेरो जीवनको अँध्यारो कुनालाई पनि चम्काइदिएको छ। तिम्रो जित, मेरो जित। तिम्रो साहस, मेरो साहस। तिमी छौ र त आज म छु।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…