यो साल रमोलाको बिहे पछिको तिजको पहिलो बर्ष हो । माइती गरएर साथीसङ्गीहरुसँग रमाउँदै , मीठो पकाएर दर खाँदै ,नयाँ दुलहीको नयाँ गहना पहिरन लगाएर पशुपती जान नपाए पनि घर नजिकैको शिव मन्दिर जाने भनेर मन पुलकित भै रहेको थियो । कोरोना महामारीको कहर भए पनि घर भित्र नै बसेर रमाईलो गर्ने उनले सोचिरहेकी थिइन् । श्रीमानलाई पनि उनले आफ्नो शुखी सुनाएकी थिइन् । पत्नीको पहिले तीजको व्रत रमाईलो हुने भयो भनेर उनले पनि खुशी थपेका थिए ।तीज आउन पाँच दिन बाँकी थियो । उनले रातो सारीसँग मिलाएर गहना ,चुरा पोते , हरियो पोतेको तिलहरी सबै तयारा पारिसकेकी थिइन् ।आफ्नो मनको चुरीफुरी उनले आमालाई सुनाई सकेकी थिइन् । छोरी खुशी भएकोमा आमा पनि हर्षीत थिइन् । आफू शाकाहारी भएकोले उनले आमालाई खिर र खावा दही बनाउँन नबिर्सनु है भनेकी थिइन् । सासूआमा पहिलो बर्षको दर , लुगा , गहना सहित विभिन्न परिकार आउँछ भनेर निश्चिन्त थिइन् । बुहारीले लुगा गहाना तयार पारेको थहा पाएर पनि उनले यस विषयमा केही सोधिनन् । दरखाने दिन अगाडि नै उनको माईतिबाट सासुको लागि शृङ्गारका सामानदेखि लुगाले भरिएको सुटकेस सहित विभिन्न मिठाई ,फलफुल ,मसला , तरकारी अचारको परिकार आई पुग्यो । यस्तो आपतको बेला मेरी आमाले कति दुख गरेर यी सामान जोडेकी होलिन् भन्ने सोच्दै उनले सासुलाई दर सहित आफुलाई आमाले तिज पन्चमीको लागि लिन पठाएको जानकारी गराइन् । सबैभन्दा पहिले सासुले लुगागहनाको सुटकेस खोलेर एक एक हेरिन् । सबै पल्टाईपुल्टाई गर्दा पनि तीजको गहना हरियो पोते सहितको तिलहरी नभेटे पछि ” मैले त तिमीलाई भन्न नै बिर्सिएको , पहिलो तीज त हाम्रो आफ्नै घरमा मनाउनुपर्ने चलन छ । यसपालि महामारीको डर भएकोले तिमी घरैमा तीज मान्नु पर्छ है।