Categories: बाल कथा

धान उत्सव


रम्भा पौडेल
आमाले ठुलो खडकुलोमा पुवालाई ढाक्दै चलाउँदै गरेको देखेर सितलले सोधिन्, “आमा आज के हो र ? यत्रो ठुलो खडकुलाोमा पुवा पकाउनु भएको ?”
आमाले भन्नुभयो, “नानी आज हाम्रो गैरीखेतको रोपाइ हो । धेरै खेतालाहरु छन् । कोही रोप्ने छन् , कोही बिउ गोड्ने छन । ती सवै महिला छन् । उनीहरुले धानका बिउलाई जोतेर हिलो बनाएको खेतमा रोप्ने काम गर्दछन् । कोही हली छन, कोही बाउसे छन । यी सबै हामीले पर्म गरेर कमाएका खेताला हुन् । गाउँमा कृषि कर्म मिलेर गरिन्छ नी ! कैले बाबा त कैले म गएका थियौ नी पर्म लाउन । आज हाम्रो खेतमा ती सवै आएका छन् । करिव पचास जना छन् सबै गरेर । ती सवैलाई खाजा खुवाउन पर्यो नि ।”
आमाले भन्दै जानुभयो, “हलीले गोरु लगाएर खेतलाई जोतेर गिलो हिलो बनाउनछन् । कसैले जोतेको माटोमा खोक लगाएर सम्मो बनाउछन् । बाउसेले कुनाकानी खनेर खेतलाई राम्रो बनाउछन् । तिमी आज स्कुल नजाउ । हामी मिलेर उनीहरुलाई यो पुवाको खाजा खुवाउनु पर्दछ ।”
“नाई म स्कुल जान्छु नत्र सरले गाली गर्नुहुन्छ !” सितलले जवाफ फर्काइन् ।
आमाले फेरी भन्नुभयो, “होइन नानी, तिमी खेतमा जानुपर्दछ । हामीले खाने अन्न कसरी उत्पादन हुन्छ भन्ने कुरा तिमीले थाहा पाउनु पर्दछ । यो पनि तिम्रो पढाई हो ।”
आमाले सितललाई सम्झाउँदै भन्नुभयो, “सरलाई म भोलि स्कुल नपठाएको कुरा भनिदिन्छु । आज छुटेको पाठ भोलि पढाइदिन भन्छु ल !”
सितल खेतालालाई पुवा बाड्न जान राजी भइन् ।
आमाले करेलाको अचार पनि बनाउनु भयो । आमाले केराका पात काटेर ल्याउनु भयो । ठुलो डोकोको भित्रिभागमा कोराका पात राख्नुभयो । यो सवै काम सितलले हेरिरहिन् । आमाले पुवालाई डोकोमा खन्याउनुभयो । डोकाका प्वालहरु केराका पातले ढाकिएका थिए ।
खडकुलाको सवै पुवाले डोको भरियो । माथिबाट हरिया टपरिले पुवालाई ढाक्नुभयो । सितलले प्रश्न गरिन, “आमा यति धेरै पुवा चाहिन्छ र ?”
“चाहिन्छ नि छोरी ! खेतालाहरु दिनभरि काम गर्दा भोकाएका हुन्छन नि !” आमाको कुरा सितलले चाख मानेर सुनिन् ।
आमाले करेलाको अचार ठुलो डेक्चीमा राख्नुभयो र पातलो पछयौरीले बाँध्नुभयो । पिसेको चामलको मोटो पिठोलाई पानीको बाहानमा ध्यू हालेर पकाउँदा आएको पुवाको बास्ना सितलको नाकभरि आइरह्यो । आमाले पुवाको डोको बोक्नुभयो । अचारलाई एक हातले झुण्डाउनुभयो । घरको ढोकामा साँचो लगाएर दुवै जना गैरीखेतमा गए । गैरी खेतमा रोपाइ गरेर हरियो भैसकेको थियो । ठुुलो खेत भने घरकी मालिक्निी आएपछि रोप्ने भनेर बाकी राखेका थिए। आमाले खेतालाहरुलाई काम रोक्न भन्नुभयो र सबैलाई खाजाका लागि बोलाउनु भयो । सबैलाई पुवाको खाजा बाड्नुभयो। सितलले पनि करेलाको अचारलाई टपरीको छेउ–छेउ राखिदिइन् । सबैले पुवाको खाजा मिठो मानेर खाए।
रोपारमा आउनुभएकी पल्लाघरकी काकीले भन्नुभयो, “दिदी, हजुरले ठुलो खेतमा रोपाइ शुरु गरिदिनु पर्यो ।”
आमाले “हस्” भन्नुभयो । ठुलो गरामा आमाले एउटा ठुलो बिउको मुठालाई गाडनुभयो र बरी परी घुमाउरो पारेर धानको बिउलाई रोप्नु भयो । फुलले त्यसलाई सजाउनुभयो । सँगसँगै सबैले रोप्न थाले । रोपार महिलाहरुले असारे गित गाउन थाले । असारे गीतको भाका यस्तो थियो–
“असारै मासको दबदबे हिलो छिः मलाई घिन लाग्यो, आहाई छिः मलाइ घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो, आहाई छ बीस रिन लाग्यो !”
सबैले घोर पारेर गाए । गीत गाउँदा गाउँदै एकले अर्कोलाई हिलो छ्यापेर ठट्टा–रमाइलो गर्न थाले । सितलकी आमालाई सबैजना मिलेर हिलोमा लडिबुडि गराए अनि शिरमा बिउ रोपिदिए । सबैजना खित्का छाडेर हाँसे । सितल पनि सँगसँगै हाँसिन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

12 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

12 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago