रम्भा पौडेल
आमाले ठुलो खडकुलोमा पुवालाई ढाक्दै चलाउँदै गरेको देखेर सितलले सोधिन्, “आमा आज के हो र ? यत्रो ठुलो खडकुलाोमा पुवा पकाउनु भएको ?”
आमाले भन्नुभयो, “नानी आज हाम्रो गैरीखेतको रोपाइ हो । धेरै खेतालाहरु छन् । कोही रोप्ने छन् , कोही बिउ गोड्ने छन । ती सवै महिला छन् । उनीहरुले धानका बिउलाई जोतेर हिलो बनाएको खेतमा रोप्ने काम गर्दछन् । कोही हली छन, कोही बाउसे छन । यी सबै हामीले पर्म गरेर कमाएका खेताला हुन् । गाउँमा कृषि कर्म मिलेर गरिन्छ नी ! कैले बाबा त कैले म गएका थियौ नी पर्म लाउन । आज हाम्रो खेतमा ती सवै आएका छन् । करिव पचास जना छन् सबै गरेर । ती सवैलाई खाजा खुवाउन पर्यो नि ।”
आमाले भन्दै जानुभयो, “हलीले गोरु लगाएर खेतलाई जोतेर गिलो हिलो बनाउनछन् । कसैले जोतेको माटोमा खोक लगाएर सम्मो बनाउछन् । बाउसेले कुनाकानी खनेर खेतलाई राम्रो बनाउछन् । तिमी आज स्कुल नजाउ । हामी मिलेर उनीहरुलाई यो पुवाको खाजा खुवाउनु पर्दछ ।”
“नाई म स्कुल जान्छु नत्र सरले गाली गर्नुहुन्छ !” सितलले जवाफ फर्काइन् ।
आमाले फेरी भन्नुभयो, “होइन नानी, तिमी खेतमा जानुपर्दछ । हामीले खाने अन्न कसरी उत्पादन हुन्छ भन्ने कुरा तिमीले थाहा पाउनु पर्दछ । यो पनि तिम्रो पढाई हो ।”
आमाले सितललाई सम्झाउँदै भन्नुभयो, “सरलाई म भोलि स्कुल नपठाएको कुरा भनिदिन्छु । आज छुटेको पाठ भोलि पढाइदिन भन्छु ल !”
सितल खेतालालाई पुवा बाड्न जान राजी भइन् ।
आमाले करेलाको अचार पनि बनाउनु भयो । आमाले केराका पात काटेर ल्याउनु भयो । ठुलो डोकोको भित्रिभागमा कोराका पात राख्नुभयो । यो सवै काम सितलले हेरिरहिन् । आमाले पुवालाई डोकोमा खन्याउनुभयो । डोकाका प्वालहरु केराका पातले ढाकिएका थिए ।
खडकुलाको सवै पुवाले डोको भरियो । माथिबाट हरिया टपरिले पुवालाई ढाक्नुभयो । सितलले प्रश्न गरिन, “आमा यति धेरै पुवा चाहिन्छ र ?”
“चाहिन्छ नि छोरी ! खेतालाहरु दिनभरि काम गर्दा भोकाएका हुन्छन नि !” आमाको कुरा सितलले चाख मानेर सुनिन् ।
आमाले करेलाको अचार ठुलो डेक्चीमा राख्नुभयो र पातलो पछयौरीले बाँध्नुभयो । पिसेको चामलको मोटो पिठोलाई पानीको बाहानमा ध्यू हालेर पकाउँदा आएको पुवाको बास्ना सितलको नाकभरि आइरह्यो । आमाले पुवाको डोको बोक्नुभयो । अचारलाई एक हातले झुण्डाउनुभयो । घरको ढोकामा साँचो लगाएर दुवै जना गैरीखेतमा गए । गैरी खेतमा रोपाइ गरेर हरियो भैसकेको थियो । ठुुलो खेत भने घरकी मालिक्निी आएपछि रोप्ने भनेर बाकी राखेका थिए। आमाले खेतालाहरुलाई काम रोक्न भन्नुभयो र सबैलाई खाजाका लागि बोलाउनु भयो । सबैलाई पुवाको खाजा बाड्नुभयो। सितलले पनि करेलाको अचारलाई टपरीको छेउ–छेउ राखिदिइन् । सबैले पुवाको खाजा मिठो मानेर खाए।
रोपारमा आउनुभएकी पल्लाघरकी काकीले भन्नुभयो, “दिदी, हजुरले ठुलो खेतमा रोपाइ शुरु गरिदिनु पर्यो ।”
आमाले “हस्” भन्नुभयो । ठुलो गरामा आमाले एउटा ठुलो बिउको मुठालाई गाडनुभयो र बरी परी घुमाउरो पारेर धानको बिउलाई रोप्नु भयो । फुलले त्यसलाई सजाउनुभयो । सँगसँगै सबैले रोप्न थाले । रोपार महिलाहरुले असारे गित गाउन थाले । असारे गीतको भाका यस्तो थियो–
“असारै मासको दबदबे हिलो छिः मलाई घिन लाग्यो, आहाई छिः मलाइ घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो, आहाई छ बीस रिन लाग्यो !”
सबैले घोर पारेर गाए । गीत गाउँदा गाउँदै एकले अर्कोलाई हिलो छ्यापेर ठट्टा–रमाइलो गर्न थाले । सितलकी आमालाई सबैजना मिलेर हिलोमा लडिबुडि गराए अनि शिरमा बिउ रोपिदिए । सबैजना खित्का छाडेर हाँसे । सितल पनि सँगसँगै हाँसिन् ।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…