शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०
घरमा मिठा मिठा परिकारहरु पाक्दै थिए । केही पाकिसकेका थिए ।
छोरीले आमालाई सोधिन् ” घरमा कोही पाहुना आउँदैछन् कि के हो आमा ?
” अब तिमी जे सम्झ ” आमाले भनिन् ।
” खै ! हामीलाई थाहै छैन त ? भन्नै नहुने पाहुना हुन् कि ? ” छोरीले अरु जिज्ञासा व्यक्त गरिन् ।
” परिकारहरु सबै तयार भइसकेको थियो । गोल टेबलमा बाबुआमा ,छोरा , बुहारी , छोरी सबै खान बसे । थरीथरीका व्यञ्जनहरु आमाले पस्किन् । व्यञ्जनहरु स्वादिस्ट थिए नै त्यहिमाथि आमाको हातको खाना , आहा । पारिवारिक माहोलमा सबैले स्वाद मानीमानी खाए ।
छोरीले भनिन् – ” म त कोही पाहुना आउँदैछन् कि भनेर सम्झि राखेको थिएँ ।
” अनि मिठो मसिनो खान पनि पाहुना आउनै पर्छ त ?” आमाले प्रत्युत्तर गरिन् ।
एक महिना पछि आमा विमानस्थलमा थिइन् । छोराछोरी , बुहारी हातमा पासपोर्ट बोकेर विदेश उड़न लाइनमा उभिएका थिए ।
उनीहरु ओझेल नपरुन्जेल आमाले बिदाइको हात हल्लाइरहिन् । उनले जसरी अरु सयौँ बाबुआमाले पनि हात हल्लाइरहे ।
छोराछोरी ओझेल परेपछि विमानस्थमा एउटा खम्बाको आड लिएर आमा बेस्सरी रोइन् । उनीहरुलाई के थाहा केही दिनको बिदा लिएर आफ्नै घर ओहरदोहर गर्ने आफ्नै सन्तान पाहुना जस्तै भइसकेका थिए ।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…