सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
एकाएक उसको नजर फर्सीको झाङमा पुग्यो। त्यहाँ फूलहरु पहेँलै थिए। उसले झट्ट आफ्नो श्रीमतीको पहेँलो ढुंग्री सम्झ्यो, जुन छोरोलाई पढाउदा बेच्न बाध्य भएको थियो।
सब्जी गोर्दै गरेको उसको हात लल्याकलुलुक गल्यो। ऊ दुःखी भयो। लामो सुस्केरा छोड्दै नजर घुमायो। वरिपरि झुलेका सब्जीहरुले बिना आवाज उसलाई आश्वासन दिए – “किन हरेस खान्छस्, हामी छौँ त।”
ऊ पुनः उत्साहित बन्यो। सब्जी बेचेर श्रीमतीको ढुंग्री किन्ने अठोट गर्यो। हातहरु आफैँआफ काममा लागे।
त्यसताकै पछाडिबाट कसैले बोलायो – “बा!”
उसले झस्केर हेर्यो, छोरो उभिएको थियो। उसले हालखबर सोध्न अघिनै छोरोले भन्यो- “आ बा,कति दुःख गर्नुहुन्छ ? जाँउ मसँग सहर।” “अनि यो जमिन !” ऊ तर्स्यो। “बेची दिनोस्।” छोरोले सहजै भन्यो।
बा बोलेनन्, झार उखेली रहे। छोरोले पुनः थप्यो – “यो जमानामा सबैभन्दा ठूलो पैसा हो, जमिन भएर के गर्नु बा ?”
प्रश्नोत्तर दिन नपाइ त्यहाँ एक खरिददार आयो। बाले सब्जी बेचे। बेचेको पैसा छोरालाई दिँदै भने – “छोरा,मैले यो जमिनबाट पैसा बनाए,तिमी यो पैसालाई माटो बनाएर देखाउ त।”
दुर्गा घिमिरे जिल्लाको एउटा ठुलो साहित्यिक संस्थाले सहरको भव्य हलमा 'पठन संस्कृति र यसका चुनौती'…