Categories: विविध

माफी


दुर्गा घिमिरे

दिनभरि झरी परिरहेको थियो। आकाश उघ्रिने कुनै सङ्केत थिएन। कहिलेकाहीँ मौसमजस्तै जीवनलाई पनि आकलन गर्न नसकिने रहेछ—प्रकृतिले दिएको चुनौतीलाई सहजै स्वीकार गर्नुपर्दो रहेछ।
त्यही झरीबीच कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ लाई बिदाइ कार्यक्रम आयोजना गरेका थिए। गीत, सङ्गीत, कविता र गजलले हल गुञ्जायमान थियो, तर मनहरू भने चुपचाप छुट्टिने पीडाले भारी भएका थिए।
केही छात्र-छात्राहरू नजिक आए।
“त्यो सर हेर त, आज रमाइलो दिनमा पनि पढाइको कुरा मात्रै गर्छन्…” एक जनाले मुस्कानभित्र पीडा लुकाउँदै भनिन्।
“आउनु, छोरा-छोरीहरू,” मैले सहज स्वरमा भनेँ।
उनीहरू लजाउँदै बसे। एक केटीले डायरी अगाडि बढाउँदै भनिन्, “सर, हामीले धेरैपटक हजुरको कुरा टेरेनौँ होला… माफी दिनुहोला है…।”
मैले केही क्षण उनीहरूको अनुहार हेरेँ—त्यही अबोधपन, त्यही सपना, त्यही अल्झन।
कलम समातेँ र लेखेँ— “लक्ष्य स्पष्ट बनाऊ, सत्यको बाटो नछोड, समयको कदर गर।”
शब्दहरू पढ्दै गर्दा उनीहरूको आँखामा आँसु टिलपिलाउन थाले।
त्यही बेला कसैले बिस्तारै भन्यो, “सर, म फेल हुँदा हजुरले ‘असफलता अन्त्य होइन’ भनेर सम्हाल्नुभएको थियो…।”
अर्कीले थपिन्, “म त कक्षा छोडेर बाहिर बसेकी थिएँ… हजुर आफैँ आएर भन्नुभयो—‘भागेर होइन, सामना गरेर जितिन्छ।’”
एकछिन समय स्थिर भयो।
त्यो मौनतामा शब्दभन्दा गहिरा भावहरू बगिरहेका थिए।
“सर, एउटा फोटो…”
क्यामेराको क्लिकसँगै एउटा क्षण बन्द भयो—
तर जीवनको पाना भने खुल्दै गयो।
गाडी छुट्ने बेला आयो। उनीहरू चढ्दै गए—हात हल्लाउँदै, आँसु पुछ्दै।
अन्तिम सिटतिर पुग्दा एउटा केटा फर्कियो, र चुपचाप मेरो हातमा एउटा सानो चिट थमायो।
गाडी अघि बढ्यो…।
धुवाँ, पानी र दूरीबीच उनीहरू हराउँदै गए।
म लामो समयसम्म त्यहीँ उभिइरहेँ—जस्तो कि केही कुरा छुटेको होस्।
पछि बिस्तारै चिट खोलेँ— त्यसमा केवल एउटा शब्द थियो— ।“माफी”
त्यो शब्द पानीमा भिजेको कागजझैँ मनमा फैलियो।
झरी अझै परिरहेकै थियो— तर अब त्यो केवल पानी थिएन, सम्झना, पश्चाताप र आशाको संगम थियो।
मैले आकाशतिर हेरेँ— बादलभित्र लुकेको घाम जस्तै, ती विद्यार्थीहरू पनि आफ्नै उज्यालो खोज्दै थिए।
र मलाई थाहा थियो—आज “माफी” लेख्ने ती हातहरू भोलि आफ्नै भविष्य लेख्नेछन्।

सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

14 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

14 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago