होमनाथ घिमिरे
बोल्छे आज चरी बसी नजिकमा रुन्छे कठै बर्बर ।
सोध्छे खै घरबास यो भुवनमा मेरो कहाँ हो घर ।।
ढाल्यौ वृक्ष सबै रहेन बिरुवा आगो सँगै ती जले ।
पानी भित्र पुगे ढले अब सबै माटो सँगै ती गले ।।
सारा मानिसका यहाँ महल छन् हाम्रो रहेनन् कतै ।
बन्दैछन् कसरी ठुला घर तथा निर्माण बाटो सबै।।
बाँच्ने हो कसरी बसेर वनमा वृक्षादि छैनन् थर ।
छैनन् ठाउँ कतै न फूल लहरा हाम्रा कहाँ खै घर।।
पानी छैन कुवा मुहान वनका खोला हराए कता ।
प्राणी जीव विनाश मानिस गरे खाए हराए यता ।।
पैह्रा छन् अहिले पहाड गिरिमा भूकम्प फाट्यो बन ।
सुक्खा याम अझै बढ्यो अवनिमा सन्तापको जीवन ।।
हावामा छरियो विषाक्त कण झन् रोगी बन्यो मानिस ।
खेती हुन्न कतै रसायन बढ्यो पीडा खडेरीसित ।।
मान्छे मात्र बढ्यो घट्यो प्रकृतिका प्राणी तथा जङ्गल ।
होला खै कसरी अहो अवनिमा सन्तोष या मङ्गल ।।
लौ ! वातावरणीय पक्ष यसरी बिग्रन्छ हाम्रो भने ।
हावा या जल मृत्तिका विष सधैँ थिग्रिन्छ हाम्रो भने।।
धर्ती हो सबको भनी मनुजले भन्ने नसोचीकन ।
होला बाच्न अझै यहाँ कठिनता बढ्ने छ संवेदना ।।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…