लक्ष्मी रिजाल
कञ्चनरूप-१२,रूपनगर,सप्तरी
भानु जयन्तीको बिहानीमा मञ्चको कुनामा बसेकी एक वृद्धा टोलाइरहेकी थिइन् । त्यसबेला गाउँको विद्यालयको आँगनमा रामायण वाचनको तयारी चलिरहेको थियो । बालबालिकाहरूको कोमल स्वरले वातावरण गुञ्जायमान थियो । बिर्सने रोगले समातेकी ती वृद्धा बारम्बार एउटै कुरा फतफताउँथिन्, “मेरा बाबु अझै आएका छैनन् ।” उनको छोरा लाजले टाउको झुकाउँथ्यो, नातिनी चुपचाप हजुरआमाको हात समातेर सान्त्वना दिने प्रयास गर्थी ।
नभन्दै कार्यक्रम सुरु भयो । एक बालक मञ्चको माइक अगाडि उभियो र भानुभक्तको रामायण पाठ गर्न थाल्यो ।
बालकको सानो स्वर वायुमण्डलमा फैलियो- ”एकदिन् नारद् सत्यलोक् पुगिगया लोकको गरुँ हित भनी…।”
पहिलो श्लोक कानमा पर्नासाथ वृद्धाका फुस्रा गाला भिजे । उनका आँखामा एउटा गहिरो चमक फर्कियो । उनी जुरुक्क उठिन् । काँपिरहेका पाइलाहरू कसैलाई नमानी सरासर मञ्चतिर बढे ।
“यही स्वर… यही त हो मेरा बाबुको स्वर !” उनी चिच्याइन् ।
मञ्चमा सन्नाटा छायो । मानिसहरू मुखामुख गर्न थाले ।
वृद्धाले मञ्चमा पुगेर वाचन गरिरहेको बालकको टाउकोमा स्नेहपूर्वक हात राखिन् र भनिन्, “मेरा बाबुले मलाई पहिलो अक्षर चिन्न सिकाउनुभयो । त्यसपछि यही रामायण सुनाउनुभयो । उहाँ बितेर गएको त दशकौँ भयो, तर आज यो स्वर सुन्दा लाग्यो- मेरा बाबु त कहिल्यै मर्नुभएकै रहेनछ !”
त्यसपछि उनी पहिलोपटक मातृत्वको प्रगाढ मुस्कानसहित तल उभिएको आफ्नै छोरातिर फर्किइन्।
”छोरा, मैले तिमीलाई नचिनेको होइन नि! म त आफ्नै बाबुलाई खोजिरहेकी थिएँ,यी अक्षरहरू भित्र लुकेका बाबुलाई।”
आँगनमा उपस्थित भीड भावुक बन्यो । कयौँ आँखाका कुना भिजे । छोराले आँसु पुछ्दै आमालाई हेर् बालकले पुनः रामायण वाचनलाई निरन्तरता दियो। वृद्धाले आकाशतिर हेर्दै हात जोडिन् र ओठमा एउटा सन्तुष्टिको मुस्कान छरिन्।
त्यस दिन त्यहाँ उपस्थित सबैले एउटै सत्य बोध गरे- मानिस त मर्छ र माटोमा विलीन हुन्छ, तर उसले हस्तान्तरण गरेको अक्षर र संस्कार कहिल्यै मर्दैन ।
लालबहादुर भुजेल दुईसय तेह्र, बर्ष अघि जन्मिएका भानु, भाषा अनि साहित्यकाे उन्नयनका "रानु" ! संभ्रान्त…
मधुसूदनप्रसाद घिमिरे दुर्लभ् थियाे लेख्न र बाेल्न लाई त्यै बेलामा भानु जन्मेर आइ लेखे उन्ले…
हेमराज अधिकारी नेपाली साहित्यको इतिहासमा केही यस्ता विभूतिहरू छन् , जसको मूल्याङ्कन साहित्यकारका रूपमा मात्र…
अन्जु शर्मा रातोपुल पार्कमा मान्छेको भिड जम्मा भयो। मान्छेहरूले पार्कको सालिकमा धमाधम माला लगाइदिन…
लक्ष्मीप्रसाद पौडेल "आदिकवि ज्यू ! आज तपाईँको जन्मदिवस हो । के तपाईँ फेरि नेपाल आउँन…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "हेमा यहाँ आउ त नानी।"-लताले आफ्नी छोरीलाई बोलाइन्। " किन…