प्रेमनारायण भुसाल
इन्टरनेटको विस्तारले दुर्लभ सामग्रीमा पनि सहज पहुँचको अवस्था सिर्जना गर्यो । पुस्तकालयमै गएर निश्चित समयमा अध्ययन गर्नुपर्ने सामग्री आफ्नो अनुकूलतामा संसारको जुनसुकै ठाउँबाट अध्ययन गर्न सकिने वातावरण बन्नु पठन संस्कृति विकासका लागि महत्वपूर्ण कोसेढुङ्गा हो । पछिल्लो समय कोरोना महामारीका कारण सूचना प्रविधिको बढ्दो प्रयोग एवं विकसित भएका सामाजिक सञ्जालका कारण अपेक्षा गरेभन्दा ठिक विपरीत संस्कृतिको निर्माण गरेको देखिन्छ । कृत्रिम बौद्धिकताको विकास र सानो डिभाइस मोबाइलमै संसारका यावत् सूचना प्राप्त गर्न सकिने सुविधाले मानव समाजलाई उत्साही बनाउनुपर्नेमा झनै अल्छी बनाएको अध्ययनले देखाएको छ । यसको प्रत्यक्ष प्रभाव विद्यालय तहमा अध्ययन गर्ने कलिला बालबालिकामा परेको छ ।
कुनै समय बजारमा उपलब्ध भएका नयाँ पुस्तक पढ्न पुस्तकालय धाउने विद्यार्थी अहिले सहज रूपमा उपलब्ध भएका नयाँ र रोचक सामग्रीको अध्ययन गर्नुभन्दा छोटकरीमा त्यसको सारांश बोध गर्ने दिशामा उद्यत भएका छन् । यसमा कृत्रिम बौद्धिकताले त झनै ठुलो परिवर्तन ल्याइदिएको छ । प्राप्त सामग्री अन्य सामग्रीभन्दा के कति कारणले भिन्न छ वा यसका राम्रा र नराम्रा पक्ष के छन् भन्ने बारेसमेत सारांश र आलोचनात्मक टिप्पणी कृत्रिम बौद्धिकताले नै दिने भएकाले जेन्जीका रूपमा चिनिएका विद्यार्थी पुस्तकको सम्पूर्ण सामग्री अध्ययन गर्नुभन्दा सारांशबाटै अवधारणा निर्माण गर्ने अभ्यासमा लागेका छन् । यसले गर्दा पठन संस्कृतिमा ह्रास आएको छ भने साहित्य तथा अन्य रचनाको अध्ययन गर्ने लत लागेका व्यक्तिसमेत सहज उपलब्ध अनलाइन सामग्रीमा अभ्यस्त हुन खोज्दा उनीहरूको पनि गहन अध्ययन गर्ने बानी हराउँदै गएको अध्ययनले देखाएको छ । लेखिएको वा छापिएको सामग्री अध्ययन गर्दा जति गहनतामा पुग्न सकिन्छ स्क्रिनमा भएको सामग्रीबाट व्यक्तिले त्यति गहनतामा पुग्न नसकी सतही सार मात्र भेट्न सक्छ भन्ने अध्येताको अनुभवबाट प्रमाणित भएको छ ।
विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न विद्यालयले उनीहरूका जिज्ञासा मेटाउने वा पूरा गर्ने होइन उनीहरूमा जिज्ञासा वा भोक जगाउने प्रकृतिका क्रियाकलाप गराउनु आवश्यक हुन्छ । कुनै समय लुकीलुकी उपन्यास पढ्ने विद्यार्थी अहिले मोबाइल वा ल्यापटपको स्क्रिनमा गेम तथा अन्य यस्तै सामाजिक सञ्जालमा अलमलिइरहेको देखिन्छ । पछिल्लो समय त निश्चित पाठ्यपुस्तकमा आधारित भई विद्यालयमा गराइने पठनपाठन र दिइने गृहकार्यसमेत विद्यार्थीले अनलाइनमा उपलब्ध सामग्रीकै आधारमा निर्माण गर्ने गरेका छन् । २०औँ शताब्दीलाई सूचनाको युग भने जस्तै २१ औँ सताब्दीलाई गलत सूचनाको बाढीबाट बचेर सही सूचना पहिचान गर्न सक्षम बन्नुपर्ने समयका रूपमा चिनिन्छ ।
आजको युवापुस्ता सञ्जालमा उपलब्ध भएका सामग्रीबाटै कुनै पनि घटना वा विषयवस्तुप्रति आफ्नो धारणा निर्माण गर्ने समूहका रूपमा परिचित हुन थालेको छ । विद्यालय तहका विद्यार्थी नै कुनै पनि विषयवस्तुको अध्ययनमा एकाध घण्टासमेत एकाग्र हुन नसक्नुले भोलिका दिनमा अध्ययन संस्कृति झनै ह्रास भएर जाने सहजै अनुमान गर्न सकिन्छ ।
नेपालका परिप्रेक्ष्यमा हेर्ने हो भने सहरी मात्र होइन, ग्रामीण क्षेत्रमा समेत इन्टरनेटको पहुँच बढ्दै जाँदा भाषिक विचलन र अध्ययन गर्ने बानीमा परिवर्तन आएको छ । इन्टरनेट र सामाजिक सञ्जालमा प्रयोग हुने कोड वा छोटो भाषा, सन्देश प्रवाह गर्न अङ्ग्रेजीमा लेखिएका सामग्रीको छरितोपन र एक किसिमको आकर्षण पनि नेपाली तथा मातृभाषाप्रतिको आकर्षणलाई न्यून गर्ने माध्यम बनेका छन् । सामान्यतया १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थी आफ्नो पाठ्यपुस्तकभन्दा बाहिरको कुनै पनि विषयवस्तुको अध्ययन नगरी आफूलाई अब्बल साबित गर्न तयार हुन्छन् । भाषिक सिप विकासका लागि मात्र होइन, व्यावहारिक र वास्तविक ज्ञान प्राप्त गर्न पनि विभिन्न समयका साहित्यिक र गैरसाहित्यिक कृतिको अध्ययन आवश्यक हुन्छ । यसले विद्यार्थीको चिन्तनको दायरा विस्तार गर्छ । भाषामा दखल कायम गर्न र सामाजिक यथार्थलाई पहिचान गर्न पनि समसामयिक साहित्यिक एवं साहित्येतर सामग्रीको अध्ययन अनिवार्य र अपरिहार्य हुन्छ । यसलाई बढावा दिने वातावरण सिर्जना गरिनु पर्छ ।
पछिल्लो समय विद्यालय तहमा अध्ययन गराइने सामग्रीले विद्यार्थीलाई सन्दर्भ सामग्रीप्रति आकर्षित गर्नुको सट्टा दिइएकै सामग्रीमा सीमित भई विषयवस्तु बोध गर्ने दिशातर्फ मात्र प्रेरित गरेको पाइन्छ । विद्यालय तहमा लागु गरिएको नयाँ पाठ्यक्रम धेरै जसो विषयमा समसामयिक देखिए पनि नेपाली विषयमा भने रुढीवादी र सङ्कुचित सोचले ग्रस्त देखिन्छ । व्यक्तिवादी प्रवृत्तिका कारण विद्यार्थीको मनोविज्ञान, रुचि र समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने अवस्थामा रहेको देखिन्न । नेपाली विषय अध्ययन गर्ने विद्यार्थीले पाठ्यपुस्तकमा राखिएका निश्चित व्यक्तिका रचना अध्ययन गरी तत्कालीन समाज बुझ्ने वा विधागत ज्ञान र सिप प्राप्त गर्ने सम्भावना वर्तमान पाठ्यक्रममा देखिँदैन बरु हजुरबाका पालादेखि नै पाठ्यवस्तुका रूपमा राखिएका पाठहरूको कक्षागत क्रम भङ्ग गरी गरिएको प्रस्तुति र समान किसिमका प्रश्नको उत्तर तयार गर्ने घोकन्ते विधिमा विद्यार्थीलाई अलमल्याउने काम गरेको छ । पाठ्यक्रम खुला प्रकृतिको हुनुपथ्र्यो जसले पठन संस्कृतिको विकास गर्न कुनै न कुनै रूपमा सहयोग गथ्र्यो ।
विद्यालय तहमा मूलतः भाषा सिकाउने साथसाथै साहित्यिक विधाका माध्यमबाट समाज संस्कृति र भाषाका बिचमा तालमेल ल्याउने प्रयास गरिनुपथ्र्यो । लगभग आधा शतकअगाडि रचना गरिएका कृतिको अध्ययन गरी विद्यार्थीले न वर्तमान समाज बुझ्न सक्छन् न त भाषाको व्यावहारिक सिप र प्रयोग । मात्र पाठसँग सम्बन्धित विषयवस्तु बोध गरी प्रश्नोत्तर गर्ने सिपमा मात्र केन्द्रित पाठ्यक्रमले न त भाषिक सिप वृद्धि गर्छ न त सिर्जनशीलतालाई नै प्रवर्धन गर्न सक्छ । तोकिएका पाठहरूको भाव, सन्देश र चरित्रचित्रण गर्ने सामान्य सिपका अतिरिक्त ज्ञान, प्रयोग, विश्लेषण, मूल्याङ्कन र सिर्जनाको तहमा पुग्नै नसक्ने अवस्था रहेको छ । पाठ्यवस्तुले संज्ञान विकास गर्ने र घोक्ने प्रवृत्तिलाई मात्र केन्द्रमा राखेको छ । यस अर्थमा पठन संस्कृतिको विकास गर्न विद्यालय तहको पाठ्यक्रम नै प्रतिकूल छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न खुला स्रोतबाट विषयवस्तुको चयन गर्ने र तिनको प्रस्तुतिबाट तार्किक एवं सिर्जनात्मक क्षमतालाई प्रवर्धन गर्ने विकल्प चयन गर्न सक्ने अवस्था वर्तमान पाठ्यक्रममा देखिँदैन । यसैले उनीहरू नयाँ विषयवस्तु वा नयाँ रचनाप्रति आकर्षित हुने वातावरण नै छैन । त्यति मात्र कहाँ हो र, शिक्षण पेसामै संलग्न भएका शिक्षकसमेत दशकौँसम्म पाठ्यपुस्तकका अतिरिक्त कुनै पनि कृतिको अध्ययन नगरीकन बस्ने गरेका छन् । शिक्षकले गर्ने अल्छीका सन्दर्भमा विद्यालय तहको मात्र कुरा नगरी विद्यार्थीलाई अनुसन्धान गराउने प्राध्यापकले बर्सौंदेखि कुनै पनि नयाँ कृतिको अध्ययन नगरेको तथ्य केही समयअगाडि सार्वजनिक भएको थियो । यसले समग्रमा पठन संस्कृति दिनानुदिन दयनीय अवस्थामा पुग्न थालेको सङ्केत गर्छ । विद्यालय तहकै विद्यार्थी र उनीहरूलाई उपलब्ध गराइएका सामग्रीमा दृष्टि लगाउँदा पठन संस्कृतिको बाधक पाठ्यक्रम र विशिष्टीकरण तालिका देखा पर्छ ।
विद्यालय तहका पाठ्यक्रममा आधारित भई निर्माण गरिएका विशिष्टीकरण तालिकाले धेरै विषयको अध्ययन गर्नभन्दा पाठ्यपुस्तकभित्रै रुमलिन र सीमित हुन बाध्य पार्ने काम गरेको छ । सिप परीक्षणका लागि मूल्याङ्कन गरिनुपर्नेमा कुन सिप परीक्षण गर्न प्रश्न निर्माण गरिएको हो भन्नेमा समेत अस्पष्टता सिर्जना गरी प्राविधिक रूपमा एक वाक्य, दुई वाक्य, पाँच÷सात वाक्य वा १५–२० वाक्यमा उत्तर दिने प्रकृतिका प्रश्न सोध्ने गरिएको छ । यसले पनि नयाँ विषयवस्तुको अध्ययन, खोज र प्रस्तुतिभन्दा निश्चित डोरेटोमा सीमित सामग्रीको प्रस्तुतिमा जोड दिनुपर्ने अवस्था रहेको देखिन्छ ।
पाठ्यक्रम विकास केन्द्रबाट विकास गरिएका नेपाली र अङ्ग्रेजी भाषाका पाठ्यक्रमलाई नै दाँजेर हेर्ने हो भने अङ्ग्रेजी विषयको पाठ्यक्रमले केही न केही सिर्जनशीलतालाई जोड दिएको पाइन्छ । खुला प्रकृतिका प्रश्न र पाठ्यवस्तुमा समेत स्वतन्त्रता राखी सिकाइ उपलब्धि र प्रयोगलाई अङ्ग्रेजी पाठ्यक्रममा जोड दिइएको छ भने नेपालीमा निश्चित व्यक्तिका निश्चित रचना पढी परम्परित रूपमै प्रश्नोत्तर गर्ने कुरामा मात्र सीमितता अपनाइएको छ । यसले विद्यालय तहका विद्यार्थीले सामाजिक विषयपछिको अरुचिकर विषयका रूपमा नेपालीलाई लिने गरेका छन् । मातृभाषा र भाषा साहित्य, त्यो पनि अरुचिकर हुने हो भने विद्यार्थीमा सिकाइ र पठन संस्कृतिको विकास कसरी हुन सक्ला ?
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…