रोजिना घिमिरे
एक समयको कुरा हो, एउटा सानो गाउँमा राम र सीता नामका दुई जना असल साथीहरू बस्थे। उनीहरू सधैँ सँगै खेल्थे, हाँस्थे र एक-अर्काको दुःख-सुखमा साथ दिन्थे। गर्मी बिदा सकिएर भर्खरै स्कूल खुलेको थियो। श्रावण महिनाको हरियालीले गाउँ नै सुन्दर देखिएको थियो। खेतभरि धानका बिरुवाहरू लहरिएका थिए, जुन किसानहरूको अथक परिश्रमको फल थियो।
रामु र सीतालाई श्रावण महिना खुब मन पर्थ्यो, तर यसको एउटा विशेष कारण थियो— श्रावण १५, खीर खाने दिन! यस दिन गाउँभरि नै एउटा छुट्टै रमाइलो माहोल हुन्थ्यो। हरेक घरबाट दूध र चामलको मीठो बास्ना आउँथ्यो।
यस वर्ष पनि श्रावण १५ नजिकिँदै थियो। राम र सीता दुबै उत्साहित थिए। रामले सीतालाई सोध्यो, “सीता, यसपालि तिमीहरूको घरमा कस्तो खीर पाक्दैछ ?”
सीताले मुसुक्क हाँस्दै भनी, “राम्रो पाक्छ नि राम! आमाले भन्नुहुँदै थियो, यसपालि काजु, किसमिस र बदाम हालेर खीर पकाउनुहुन्छ रे! तिमीहरूको घरमा चाहिँ नि?”
रामले पनि खुसी हुँदै भन्यो, “हाम्रोमा त अझै मीठो पाक्छ नि! आमाले भन्नुभएको, यो वर्ष आफ्नै गोठमा पालेको जर्सी गाईको ताजा दूध ल्याएर खीर बनाउनुहुन्छ रे। अनि हामीले खाएपछि हजुरबुबा-हजुरआमालाई पनि दिन जानुपर्छ !”श्रावण १४ को साँझ, राम र सीता दुबै आ-आफ्नो घरमा खीर खाने दिनको तयारीमा जुटे। रामका बुबाले आफ्नै गोठबाट ताजा दूध दुहेर ल्याउनुभयो। रामकी आमाले बासमती चामल भिजाउनुभयो र सुकेका फलफूलहरू तयार पार्नुभयो। सीताको घरमा पनि यस्तै तयारी चलिरहेको थियो। उनीहरूलाई राति निन्द्रा नै लागेन, कहिले बिहान हुन्छ र खीर खान पाइएला भनेर!
अर्को दिन, श्रावण १५ को बिहान। सूर्यको किरणसँगै खीरको मीठो बास्ना गाउँभरि फैलियो। रामको घरमा आमाले ठूलो भाँडामा खीर पकाउन थाल्नुभयो। दूध उम्लेपछि भिजाएको चामल हालियो र बिस्तारै चलाउन थालियो। चामल पाकेपछि चिनी हालियो। रामु आमाको छेउमा बसेर हेरिरहेको थियो। जब आमाले खीरमा घिउ र सुकेका नरिवलहरू हाल्नुभयो, तब बास्ना झनै मीठो भयो।
“कति बेला पाक्छ आमा?” रामले अधीर हुँदै सोध्यो।
आमाले मायालु आवाजमा नम्र हुँदै हुँदै भन्नुभयो, “अलिकति धैर्य गर बाबु। खीरलाई बिस्तारै पकायो भने मात्र स्वादिलो हुन्छ।”
अन्ततः खीर तयार भयो। रामले एक कचौरा तातो खीर लियो। त्यसको मीठो बास्ना र स्वादले उसको मन नै आनन्दित भयो। “आहा! आमा, यो त संसारकै सबैभन्दा मीठो खीर भयो!” उसले भन्यो।
सीताको घरमा पनि खीर पाकिसकेको थियो। सीताले पनि खीर खाएपछि दौडिँदै रामको घरमा आई। “राम! खीर खायौ ? कस्तो मीठो थियो है?”
रामले पनि मुस्कुराउँदै भन्यो, “हो नि सीता! मेरो आमाले पकाएको खीर पनि खुबै मीठो थियो। आऊ, अब हामी हजुरबुबा-हजुरआमालाई खीर दिन जाऔँ।”
राम र सीताले आ-आफ्नो घरबाट एक-एक कचौरा खीर लिएर हजुरबुबा-हजुरआमाको घरतिर लागे। बाटोमा उनीहरूले अरू गाउँलेहरूलाई पनि खीर खाँदै गरेको र एक-अर्कालाई बाँड्दै गरेको देखे। सबैका मुहारमा खुसी थियो।
हजुरबुबा-हजुरआमाले नातिनातिनाहरूले ल्याएको खीर देखेर खुब खुसी हुनुभयो। उहाँहरूले खीर खाँदै भन्नुभयो, “श्रावण १५ को खीरको स्वाद नै बेग्लै हुन्छ। यसले शरीरलाई बल दिन्छ, अनि मनलाई खुसी!”
राम र सीताले त्यस दिनको महत्व बुझे। उनीहरूले बुझे कि खीर खाने दिन भनेको मीठो खीर खाने दिन मात्र होइन, यो परिश्रमको फल मनाउने, परिवारसँग समय बिताउने, एक-अर्कालाई माया गर्ने र खुसी बाँड्ने दिन पनि हो। किसानहरूले गरेको मेहनत, गाउँलेहरूको एकता र पारिवारिक प्रेमको उत्सव रहेछ यो दिन।
उनीहरूले त्यस दिनको मीठो खीरको स्वाद र परिवार तथा साथीहरूसँगको खुसी कहिल्यै बिर्सिएनन्। र हरेक वर्ष श्रावण १५ आउँदा उनीहरूका मनमा खीरको मीठो बास्नासँगै ती सुनौला सम्झनाहरू पनि ताजा हुन्थे।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…