गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
कक्षामा गुरुपूर्णिमाको अवसरमा सरला गुरुआमालाई उपहार दिनको लागि तँछाडमछाड चल्यो । केही समय रोकिएर उपहार दिने धैर्यता कसैसँग पनि भएन । सबैले उपहार दिइसकेपछि सबैभन्दा अन्तिममा सुशान्तले एउटा पट्याएको कागज र खामभित्र केही चिज हालेर दियो । गुरुआमाले कागज खोलेर खुसुक्क हेरिन् । उनी सुशान्तपट्टि हेरेर मुसुक्क हाँसिन् । उसले पनि मीठो हाँसोद्वारा गुरुआमाको हाँसोको स्वागत गर्यो । यो देखेर अरु विद्यार्थीहरु मुखामुख गरे । उनीहरूले गुरुआमालाई सबभन्दा कसको उपहार मन पर्यो भनेर सोधे ।
सरलाले भनिन् , ” बेलुकी मेरो स्टोरीमा हेर्नू ।”
सबैजना बेलुकीको प्रतीक्षामा बसे । उनले सुशान्तले दिएको उपहार र चिठी दुबैको फोटो राख्दै लेखेकी रहेछिन् ,” आजको गुरुपूर्णिमामा मैले पाएको सबैभन्दा बहुमूल्य उपहार !”
यो देखेपछि पक्कै गुरुआमालाई मैले दिएको उपहार मन पर्यो होला भनेर बेलुकी गुरुआमाको स्टोरी हेर्न व्यग्र प्रतीक्षा गरिरहेका विद्यार्थीहरु सुरुमा त खिन्न भए तर जब सुशान्तको चिठीमा लेखिएका कुरामा उनीहरूका आँखा अडिए तब उनीहरूको मनमा गुरुआमाप्रति कुनै गुनासो रहेन । जसमा लेखिएको थियो , ” आज म जे छु , हजुरकै कारणले छु । आमाबाबु दुबै नभएको म टुहुरोलाई जिन्दगीको अर्थ बुझाउने र कक्षामा प्रथम स्थान हासिल गर्न सफल बनाउने हजुरजस्ती देवीलाई आजको दिन प्रसादस्वरुप मेरो मार्कसिटको प्रतिलिपी उपहार दिएको छु, स्वीकार्नुहोला ।”
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…