Categories: कविता

“ग्रीष्मगौरव”


खोलाघरे साहिलो

याे बेलामा कति फल फले ग्रीष्मकाे ताप पाई
चुथ्राे,च्यूरी,बडहर ,लिची ,जामुनाे,आँप आदि
हाँगा सिक्रासरि हुन पुगे आलुचा सिद्धिएर
काँक्राे ,केरा अनि खरबुजा फल्दछन् हाैसिएर।

राजा भन्छन् सकल फलमा आँपलाई गनेर
फल्ने ,पाक्ने समयसरणी ग्रीष्ममै पर्छ धेर
यस्ताे लाग्ने फलजगतमा आँपकै हाे कि सत्ता
सत्तावाला दलसरि हुँदा बढ्न पायो महत्ता।

झार्याे पानी जब जलदले उच्च दानी भएर
खाेला,खाेल्सातिर जल बढ्याे तीब्रवेगी बनेर
खेतीवाला हरितसपना देख्न थाले असारे
काे छाेड्दाे हाे प्रगति-गतिको बेस माैका उदाए?

स्वाँ स्वाँ हाेस् वा कलकल बगून् ,गड्गडाई बगून् क्वै
छाल्काे हान्दै छपछप गरून् ,नाद नाैलाे सुनाई
खाेला ,खाेल्सा,नद र खहरे छन्द झैं शब्द गर्छन्
छङ्छङ् झर्छन् चपल छहरा छन्दकै भान दिन्छन्।

वर्षा झर्दा झमझम कुनै पातमा बन्छ शब्द
झर्झर् गर्दै जल जमिनमा ठाेकिंदा बन्छ शब्द
पानी बाेकी सननन बहे वायुमा बन्छ शब्द
बेग्लाबेग्लै ढब तर सबै छन्द नै हाे कि लाग्छ।

डम्माडम्मी जब गगनमा मेघले ढाकिदिन्छ
झिल्का छाेडी चपल बिजुली झल्किंदै नाचिदिन्छ
थर्काे पर्दा नभपटलमा छन्द बन्दाेछ लाग्छ
रम्दै यस्तै प्रकृति -गतिमा नाच्छ भाले मयूर।

झर्छन् थाेप्ला तपतप गरामा र छानाहरूमा
झुम्छन् ढुङ्गेकण,तृण सबै यी तरानाहरूमा
याे बेलाकाे झरर झमझम् छन्दगाम्भीर्य हाे कि!
सानासाना पतकर सबै रम्दछन् छन्द ओढी।

यद्वा ताताेपन अति भई त्राण खाेज्ने बहाना
पार्दा निस्क्यो मधुर मुरलीधून ताना तराना!
कस्ता हाेलान् जडजगतले प्रेय मान्ने कला यी?
सिर्ज्याे क्यारे गतिविधि सबै ग्रीष्मले छन्ददायी!

पानी झर्दा दरदर गरी खेतमा थाेप्लिएर
फाेका उठ्छन् क्षणभर रही फुट्तछन् क्यै फुलेर
मान्छे ,प्राणी ,चर अचरकाे जन्मकाे सार हाे यो
गाँठी यो हो यदि बुझिलिए जिन्दगी हुन्छ छाेटाे।

यो पानी हाे गगनरस भै झर्छ,यो हाे समुद्र
यो हाे खाेला,नद र खहरे यो कुवामा छ भित्र
यो हाे प्राणीगण सकलकाे प्राण वा ज्यानदाता
पानी थाेपै नरहनु भने मृत्युले कस्छ पाता।

(“ऋतुराग” ऋतुकाव्यबाट)

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

12 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

13 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

13 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago