Categories: विविध

नानीदेखि लागेको बानी


सनत रेग्मी

म केटाकेटी हुँदा हजुरबुवाले बनारसबाट किताबहरू झिकाउनु हुन्थ्यो। उहाँका साथीहरूले काठमाडौंबाट पुस्तक पठाउँथे। हुलाकीले पुस्तक बुझाउँदा म नै बुझ्थेँ। पुस्तक फोल्दा त्यसको ताजा कागजको बास्ना सुँघ्थें, गाताका आकर्षक चित्र हेर्थें। त्यसो गर्दा निकै रमाउँथेँ।
अलि ठूलो हुँदा त्यति बेला पाइने दुई पैसे हिन्दीका बालपुस्तक किनेर राख्थें। पुस्तकप्रतिको मेरो आकर्षण र माया त्यसरी बढ्दै गएको हो। नेपालगञ्जको त्यति बेलाको मनोहर पुस्तकालय र प्रेम पुस्तकालयमा जाने र हिन्दीका बाल साहित्य – बाल भारती, मनमोहन, बालक र चन्दामामा पढ्थें। यसले मेरो पठन संस्कृतिको विकास भएको हो। पहिलो पटक पढेको मोटो किताब टार्जन हो।
पुस्तक प्रेमले मैले घरमै पुस्तकालय बनाउने अठोट गरें। यसमा सहयोगी हुन पुग्यो मेरो पिताजीको पुस्तक पसल विद्या कुटीर। पुस्तक पढ्ने क्रममा बालसाहित्य, किशोर साहित्य, जासुसी रहस्य रोमाञ्च र तिलस्मी उपन्यास अनि रोमान्टिक उपन्यास हुँदै हिन्दीका उच्चस्तरीय साहित्य – कथा, कविता, निबन्ध र समालोचना, विश्वसाहित्यका हिन्दीका अनुवाद हुँदै वैदिक अनुसन्धानात्मक ग्रन्थ आदि खरीद गरेर पढ्न थालें। ज्ञानको प्रत्येक विषयमा चञ्चु प्रवेश गरेँ।
पुस्तक मेरो अत्यन्त प्रिय वस्तु हो। कति पटक भारत प्रवासका बेला एक छाक भात छोडेर पुस्तक किनेको छु। मैले आफ्नो हातबाट मेरो निजी पुस्तकालयका निम्ति सात-आठ हजार थान पुस्तक किनेर संग्रह गरें। पुस्तक सम्हाल्न नसक्दा लाखौं रुपैयाँका चार हजार पुस्तक धमिराले खाएर पटक-पटक पोल्नु पर्दाको दुःख र पीडाले रोएको छु।
भारतको विभिन्न प्रान्तमा रहेका शोधसंस्थानबाट झिकाइएका वेद, पुराण, उपनिषद्का हिन्दी अनुवाद र तिनीहरूका अनुशीलनका तीन बोरा पुस्तक पोल्न परेको असह्य पीडा पनि सहनु पर्यो मैले। आठ-दश बोरा पुस्तक पुस्तकालयलाई दान पनि दिएँ। कतिपय पुस्तक अनुसन्धान गर्नेहरूले मागेर लगे तर फर्काएनन्। २५ थान पुस्तक आदरणीय मदन मणि दीक्षितज्यूले “यी दुर्लभ अनुसन्धानका पुस्तक म लेखनमा प्रयोग गर्छु, तपाईंलाई चाहिएको बेलामा म दिउँला नि” भनेर लिनुभयो। केही संस्कृत साहित्यका पुस्तक भाइ नवराज कट्टेलले लिएर गए। वेद रहस्य, वैदिक आर्य र अन्य तत्कालीन सभ्यताको अध्ययन मेरो रुचिको विषय हो।
दुर्भाग्य, आज मेरो रुचिका ग्रन्थ मसँग छैनन्। मेरो पुस्तकालयमा रहेका साथीभाइको सद्भावबाट पाएका पुस्तक पढेर बसेको छु। आज मलाई साहित्यकार भन्छन्, ज्ञानका ज्ञाता भन्छन्। तर मैले जुन ज्ञान आर्जन गरें, त्यसको सदुपयोग गरेर समाजलाई केही दिन सकिनँ। कुनै महत्त्वपूर्ण ग्रन्थ लेख्न सकिनँ।
जीवनको उत्तरार्धमा आएर आज म आफूलाई अध्येता, साहित्यिक अभियन्ता, समाजसेवी र राजनैतिक कार्यकर्तामा बाँडिएर गल्ती गरेको निष्कर्षमा पुगेको छु। मेरो रुचि अनुसार म अध्येता र साहित्य साधक मात्र हुनु पर्ने थियो।म पुस्तक प्रेमी हुँ, रहेको छु। आज पनि कुनै नयाँ पुस्तक मेरो हातमा पर्दा त्यसको गाताको डिजाइन हेर्छु, सुँघ्छु, सुम्सुम्याउँछु अनि मात्र र्याकमा राख्छु। के गरौँ, नानीदेखि लागेको बानी।

श्रोतः नौलो नेपाली

सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

14 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

14 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago