Categories: बाल कथा

प्रतिशोध


डा.श्यामप्रसाद न्यौपाने

बाबु द्रोणको अन्त्य भएको सुनेपछि अश्वत्थामा रुनपिच्छे भए । घरको धुरी खाँबो ढल्दा कुन परिवारलाई पीडा हुँदैन र ! अश्वत्थामालाई डाँको छोडेर रुन मन थियो तर विशाल युद्धमैदानमा कमजोरी देखिने भयले उनले मुटु गाँठो पारे। अश्वत्थामा बाबु ढलेतिरै गए।
“अश्वत्थामाजी” कसैले उनलाई सम्बोधन गरेझैँ लाग्यो । उनी सुनेको नसुनेझैँ अगाडि बढे । “अश्वत्थामाजी, ए, अश्वत्थामाजी” पुनः कसैले सम्बोधन गर्यो। उनी केही बोलेनन् । जब मनमा पीडाको ज्वाला लपलपाउँछ, तब कसले बाहिरी कुरामा ध्यान दिन्छ र ! अरूलाई उपदेश दिने व्यक्तिले आफैँमाथि पीडा पर्दा कसको उपदेश सुन्छ र ! मान्छे अनौठा प्राणी न हो । उनी सरासर अगाडि बढे।
युद्धमैदानमा आचार्य द्रोणको शिर र धड अलग भएको थियो । अन्त्य समयमा छोरालाई सम्झेर बाबु भन्न खोज्दा ‘बा’ भन्दाभन्दै गिँडिएझैँ द्रोणको मुख ‘आँ’ भएको थियो । अश्वत्थामा बाबुको लहुलुहान शरीर देखेर विक्षिप्तझैँ भए।
आफूहरूलाई शिक्षादीक्षा दिएका गुरुलाई यस्तो अवस्थामा पुर्याउने पाण्डवहरूप्रति अश्वत्थामामा रोष उत्पन्न भयो ।
“पाण्डवहरू शिविरमा विजयोत्सव मनाउँदै होलान् । हासपरिहास चलिरहेको होला ।” उनले सोचे । प्रतिशोध लिने उद्देश्यले उनी क्रोधावेगमा पाण्डव शिविरतिर हानिए। उनी पाण्डवको शिविर नजिकै पुगे।
अचम्म! हिजोअस्ति बत्ती बालेर उज्यालो हुने शिविर वरिपरि आज कुनै उज्यालो थिएन। चारैतर्फ अँध्यारोले राज गरेको थियो । उनी पाँच पाण्डव बस्ने शिविरको बाहिर गए । बाहिरबाटै फलेकको सानो प्वालबाट भित्र चिहाए । भित्र गोलाकार घेरामा पाण्डवहरू बसेका थिए । बीचमा सानो टुकी थियो । टुकीको मधुरो प्रकाशबाट पाण्डवहरूको मलिन मुहार देखिएको थियो ।”बाबुलाई त हामीले सानैमा गुमायौँ । बाबुले झैँ स्नेह र सुदृढ अभिभावकत्व दिएका आदरणीय गुरुलाई गुमाउनु पर्दा निकै पीडाबोध भएको छ ।” युधिष्ठिरले आँसु पुछ्दै भनेको सुनियो । “प्रभु यो पीडा सहने शक्ति देऊ ।” उनले आकाशतिर हेर्दै ईश्वर पुकारे।
“मैले त गुरुलाई ताक्ने आँटै गरेको थिइनँ । गुरुले मलाई सर्वश्रेष्ठ धनुर्धारी सिद्ध गर्न के के पो गर्नुभएन र ! कति स्नेह गर्नुहुन्थ्यो तर के गर्नु त्यति माया गर्ने गुरुलाई पनि शत्रुपक्षबाट प्रस्तुत भएपछि निशाना साँध्नै पर्ने रहेछ। यिनै हातले त हो नि गुरुमाथि धनुष चलाएको भन्दै” अर्जुनले आफ्ना हात भुइँमा बजार्दै थिए । पाँचै पाण्डवका आँखा आँसुले भरिएका थिए। उनीहरूको मुहार औँसीको आकाशझैँ अँध्यारो थियो।
अश्वत्थामा भित्र पस्न सकेनन् । प्रतिशोधले भरिएको मन लिएर आएका उनी गहभरि आँसु लिएर फर्के।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आमाको माया

मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…

6 hours ago

चरीको वियोग

मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…

6 hours ago

“आशाको आँसु”

दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…

6 hours ago

पहिलो वैशाख

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…

1 day ago

नयाँ वर्ष

रम्भा पौडेल “आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र…

1 day ago

घुमन्ते जन राउटे

कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…

1 day ago