यसै विषयमा केन्द्रित रहेर म यहाँ दुई सन्दर्भ राख्न चाहन्छु:-
१. थोमस एल्बा एडिसन प्राथमिक तहका विद्यार्थी थिए । एक दिन उनका शिक्षकले एक पत्र उनको हातमा दिँदै भने – “यो पत्र अरु कसैलाई होइन, तिम्रो आमालाई दिनु ।” घरमा पुगेर उनले पत्र आमालाई बुझाए । आमाले जब पत्र खोलेर पढ्न सुरु गरिन् । उनका आँखाबाट आँसु झर्न थाले । आमा रोएको देखेर एडिसनले जिज्ञासा राखे – “आमा ! पत्रमा के लेखिएको रहेछ ?”
आमा शान्त पूर्वक बोलिन् – “बाबु ! यो पत्रमा तिम्रै बारेमा लेखिएको छ । तिमी धेरै चलाख छौ । यस विद्यालयको क्षमताले तिम्रो पढाइको स्तरलाई धान्न सक्दैन । यसर्थ तिम्रो लागि अर्कै अझ राम्रो विद्यालय छान्नु आवश्यक छ ।”
साँच्चै, उनकी आमाले उनलाई अर्कै विद्यालयमा भर्ना गरिन् । उनको राम्रो रेखदेख गरिन् । एडिसनले पनि मेहनत गरी पढे । पछि उनी संसार प्रसिद्ध बैज्ञानिक, आविष्कारक बने ।
धेरै समय पछि पुराना कागज पत्र खोज्ने क्रममा एडिसनले सुरुको उनको विद्यालयका शिक्षकले आमालाई लेखेको पत्र फेला पारे । उनले सो पत्र पढ्दै गर्दा उनका आँखाबाट बरररर आँसु झरे । पत्रमा लेखिएको रहेछ – “तिम्रो छोरा मानसिक रुपमा बिरामी अनि मन्द बुद्धिको छ । हामी उसलाई हाम्रो विद्यालयमा पढाउन सक्दैनौँ ।”
तर उनकी आमाले छोरालाई नराम्रो नपरोस्,उनको मन नदुखोस्, उनमा निराशा नआओस् भनी पत्रमा लेखिएको कुरा फरक किसिमले सुनाएकी थिइन् ।
आमाको सकारात्मक सोच अनि व्यवहारले बालक कालमा मानसिक बिरामी र मन्दबुद्धि मानिएका एडिसन पछि संसार प्रसिद्ध बने ।
२. विद्यालयको कक्षा कोठाबाट कुनै एक जना विद्यार्थीको निकै महङ्गो घडी हरायो । प्रधानाध्यापकसम्म यो कुरा पुगेपछि उनले सबै विद्यार्थीलाई चौरमा जम्मा गरी लाइनमा बस्न लगाए । अनि आफ्नो र सबै विद्यार्थीको आँखामा पट्टी बाँध्ने काम गरे । आँखाको पट्टी बाँधिएकै अवस्थामा उनले सबै विद्यार्थीको झोला र गोजी खानतलासी गरे । घडी फेला फेर्यो । आँखामा पट्टी भएकाले घडी कसको साथबाट फेला पर्यो, प्रधानाध्यापक तथा अरु विद्यार्थी कसैले मेसो पाउन सकेनन् । दुई चार दिनमा घडी हराएको अनि फेला परेको विषय आँफै हराएर गयो ।
धेरै वर्ष पछि सोही विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । राज्यका विशिष्ट व्यक्तित्व, त्यसै विद्यालयका पूर्व विद्यार्थीलाई प्रमुख अतिथिका रुपमा भव्य स्वागत गरियो । प्रमुख अतिथिले प्रधानाध्यापकको गोडा छुँदै भने – “म सरप्रति धेरै आभारी छु ।” आश्चर्य मान्दै प्रधानाध्यापकले प्रमुख अतिथिलाई प्रश्नवाचक नजरले हेरे । त्यसै विद्यालयका पूर्व विद्यार्थी (प्रमुख अतिथि)ले भने – “त्यो दिनको घडी चोर म नै थिएँ । सबैको आँखामा पट्टी बाँधिएकाले कसैले पनि मलाई चिन्न पाएन । म निर्धक्क विद्यालय आएर आफ्नो पढाइ जारी राख्न पाएँ र अहिले यो अवस्थामा पुग्न सफल भएँ । सर ! तर मैले नबुझेको कुरा सो विषय सार्वजनिक नहोस् भनी किन सबैको आँखामा पट्टी बाँध्न लगाउनु भयो ?”
प्रधानाध्यापकले उनलाई गहिरिएर हेर्दै भने – ” मेरो मनले भनिरहेको थियो, मेरो कुनै पनि विद्यार्थी म र अन्य विद्यार्थीको नजरमा चोर भनी घृणाको पात्र नबनोस् । यदि तिमी नै घडी चोर भनी सार्वजनिक भएको भए सबैको आँखामा तिमी नराम्रो बन्ने थियौ । विद्यालयमा आउन पनि तिमीलाई कठिन हुनेथियो । तिम्रो जीवन बरबाद हुनसक्थ्यो ।”
प्रधानाध्यापक सामु प्रमुख अतिथिको शीर झुक्यो र आँखाबाट बलिन्द्र धारा आँसु झरिरहे ।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…