Categories: बाल कथा

बिरासतको शिरपोस

सन्दर्भ: राष्ट्रिय टोपी दिवस


नारायण नाथ योगी
इटहरी, सुनसरी

बाहिर सडकमा अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा चर्को सङ्गीत घन्किरहेको थियो। ‘ह्याप्पी न्यु इयर’ को नारा र डिजेको आवाजले झ्यालका सिसाहरू थर्किएझैँ लाग्थ्यो। सहर विदेशी संस्कृतिको रङ्गीन होहल्लामा हराइरहेका बेला हर्कबहादुर भने घरको एउटा शान्त कुनामा आफ्नो पुरानो काठको बाकस उघार्दै थिए। उनले बाकसको पिँधबाट जतनले राखिएको एउटा वस्तु निकाले— त्यो उनको पुर्ख्यौली ढाका टोपी थियो।
हर्कबहादुरले ऐना अगाडि उभिएर टोपीको ढल्काइ मात्र के मिलाएका थिए, १० वर्षको नाति समिप कोठामा छिर्यो। उसले बाहिरको होहल्लातिर औँल्याउँदै भन्यो, “बाजे! बाहिर हेर्नु न, सबैले कस्तो राम्रो ‘ह्याप्पी न्यु इयर’ लेखेको टोपी लगाएका छन्! तपाईँ चाहिँ किन यो पुरानो कपडाको टुक्रा सिउरिनुभएको ?”
हर्कबहादुरले मुस्कुराउँदै नातिलाई नजिकै बोलाए। बाहिर पटकाको आवाज आयो, तर उनले शान्त स्वरमा भने, “बाबु, बाहिरको त्यो रमाइलो र त्यो टोपी एक रातको पाहुना मात्र हुन्। तर यो टोपी ? यो त हाम्रो पहिचानको सगरमाथा हो। संसारले नयाँ वर्ष मनाउँदा हामीले आफ्नो माटो बिर्सनु हुँदैन। शिरमा टोपी हुनु भनेको आफ्नो स्वाभिमान उच्च हुनु हो।”
यत्तिकैमा अफिस जान तयार भएका छोरा पनि कोठामा आइपुगे। कोट-प्यान्टमा सजिएका छोराको शिर खाली थियो। हर्कबहादुरले बाकसबाट अर्को एउटा नयाँ भादगाउँले टोपी निकालेर छोराको हातमा राखिदिए। बाहिरको होहल्ला र घरभित्रको यो मौन संस्कारको बीचमा छोरा केही बेर अल्मलिए। उनले बाहिरको कृत्रिम चमकभन्दा बाजेले देखाएको मौलिकतामा बढी वजन पाए र अघिल्लो वर्ष टोपी नलगाएकोमा लज्जित हुँदै टोपी टाउकोमा ढल्काए।
“बाजे, मलाई पनि एउटा टोपी!” नातिले जिद्दी गर्यो, “म पनि नेपालीको छोरा, मलाई पनि आफ्नो पहिचान चाहियो।”
हर्कबहादुरको छाती गर्वले फुल्यो। उनले सानो ढाका टोपी नातिको कलिलो शिरमा सजाइदिए। बाहिर अझै पनि ‘न्यु इयर’ को होहल्ला जारी थियो, तर हर्कबहादुरको घरभित्र भने तीनै पुस्ताका शिरमा नेपाली टोपी सजिएका थिए।
विदेशी संस्कृतिको भिडमा आफ्नै मौलिकताको सान देख्दा हर्कबहादुर ढुक्क भए— उनको बिरासत अब सुरक्षित हातमा सरेको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

11 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

12 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

12 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago