`भुन्टे र विद्यार्थी भर्ना अभियान´

रमेश लामिछाने अबिरल

बजारमा नुन किन्न गएका बा अबेरसम्म फर्किएनन् । पाकेको भातमा तातो वाफ उडेर सक्किसक्यो । तरकारी के पकाउने, कसरी पकाउने ? भुन्टेले बहिनी सुतेको झोलुङ्गो हल्लाउँदै बा आउने बाटो नियालिरह्यो । यत्तिकैमा एउटा गाडी भुन्टेको घरछेउ आएर रोक्कियो । गाडीभित्र कोको थिए उसले मेसो पाएन । गाडीको पछाडि टाँगिएको ब्यानरका ठुल्ठुला अक्षरमाथि उसले आँखा दौडायो;
`राष्ट्रिय विद्यार्थी भर्ना अभियान : २०८०´
`समयमै भर्ना, समयमै ज्ञान ।
गुणस्तरीय शिक्षा सबैको अभियान ।´
भुन्टेले आधाआधी कुरो बुझ्यो । उसले यो कुरा रेडियोबाट पटकपटक सुनेको थियो । अस्ति भर्खर ५ कक्षा उत्तीर्ण गरेको भुन्टेलाई बाँकी कक्षा पढ्न १ घण्टा पैदल हिडेर बेसी जानुपर्ने हुन्थ्यो । गाडीबाट ओर्लिएका ६/७ जनामध्ये १ जनाले भुन्टेका बालाई बाटैदेखि बोलाए । सङ्कोच मान्दै भुन्टेले जवाफ फर्कायो, “बा त बजार गा’छन्, आ´छैनन् ।”
“ए, ल ल ! हामी पछि आउँछौँ ।” यति भनेर तिनीहरू गाडीमै चढे। भुन्टेलाई गाडीको छेउमा पुग्न मन लाग्यो र उतै दौडियो । हेर्दाहेर्दै गाडी हुँइकियो । धूलोले भुन्टेको मैलो अनुहार अझ मैलो बनायो ।
भुन्टेलाई पढाउने विषयमा उसका बाआमाबिच कुरा मिलिरहेको थिएन । बा भन्दै थिए, “सरकारले किताब पो दिन्छ त, कापी किन्नु परेन ? दिउँसो खाजा पो दिन्छ त, समयमै खुवाएर स्कुल पुर्याउनु परेन ? नयाँ झोला पो दिन्छ त, वर्षभरि लगाउने जुत्तापोसाक चाहिएन ? सानोतिनो खर्चले पुग्ला भन्ठानिछस् ?”
आमा भन्दै थिइन्,”अब पाँचै वर्ष धान्न पाए, ऊ पनि त कमाउन सक्ने हुन्थ्यो ।”
बाले केही समयको मौनता छिचोलेर सुस्ताउँदै जवाफ फर्काएका थिए,”तँ मुटुको रोगी छेस्, उपचार छाड्न नि भएन । छोराका लागि भनेर तँलाई गुमाउन पनि त सक्दिनँ नि म ! पाँचपाँच वर्ष भइसक्यो मृगौलामा पत्थरी भएको औषधीकै भरमा हिँडेको छु । अर्काको जग्गामा लगाएको खेती कहिले असिनालाई, कहिले बाढीलाई हुन्छ ! सरकारले स्वास्थ्यशिक्षा नि:शुल्क भन्ने मात्र रहेछ, गर्ने रहेनछ…!” त्यसदिन बा आमाबिच अरु केके कुरा भयो । भुन्टेले थाहा पाएन ।
साथीले पिठ्युँमा धाप मारेपछि भुन्टे झस्कियो,”अबुइS…! ए, यो पो रहेछ! नयाँ ड्रेस लगाएर हिरो भएछस् त !”
“तँ, स्कुल जान्नस् र? झन् आज त पहिलो दिन ! झोलाकिताब बाँड्छन् स्कुलाँ…!”
“म त जान्नँ होला, बा आ’कै छैनन् । भात खा’को नि छैन, भर्ना भा’को नि छैन ।
“हिड् न हिड् जाऔँ आज कत्ति रमाइलो हुन्छ।”
“मेरा बा पनि रोगी, आमा नि रोगी ! तँ बन्लास् डाक्टर, मै बन्छु जोगी !”
“अँ, कत्ति सिपालु छस् नि बोल्न । तँलाई कसले सक्छ र ?”
यत्तिकैमा अघि भर्खर गाडीमा गएका ती नौला मानिसहरू भुन्टेका बासँगै घरमा आए । “उहाँहरू हाम्रो नगरपालिकाका नगरप्रमुख, वडाका अध्यक्ष र विभिन्न दलका नेताहरू हुनुहुन्छ ।” बाले चिनाएपछि भुन्टे र उसको साथीले एकसाथ नमस्कार गरे । पिँढीमा गुन्द्री बिच्छ्याएर आतिथ्यता दर्साए । नगरप्रमुखले भुन्टेलगायत पालिकाभित्रका अन्य विपन्न विद्यार्थीलाई लाग्ने सम्पूर्ण शैक्षिक खर्च पालिकाबाट उपलब्ध गराउने वचनबद्धता व्यक्त गरे । वडा अध्यक्ष र दलका प्रतिनिधिहरूले पनि पालिकाको यस योजना कार्यान्वयनमा सघाउने वचन दिए । भुन्टेका बाआमाको उपचार पनि नगरपालिकाकै सहयोगमा प्रदेश अस्पतालमा हुनेभयो ।
भुन्टे त्यसैदिन विद्यालय गयो । विद्यालयको गेटमा टाँगिएको ‘राष्ट्रिय विद्यार्थी भर्ना अभियान´को ब्यानर देखेर उसले बिहान घरमा आउनुभएका सबैलाई पुन: सम्झियो । उसले खुसीसाथ नयाँ विद्यालयमा प्रवेश गर्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

13 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

14 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

14 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago