नन्दलाल आचार्य
”त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !” हजुरआमाको यो कामेको आवाज सुन्नेबित्तिकै नाति समीरको मुटु ढ्याङ्ग्रो झैँ बज्न थाल्यो । तर त्यतिबेला पाटनका पुराना गल्लीहरू आज अस्वाभाविक रूपमा शान्त थिए, तर त्यो शान्तिभित्र एउटा भयानक आँधी लुकेको थियो । छिमेकीको आँगनमा एउटा विभत्स चिच्याहट सुनियो । खबर फैलियो- “उन्मत्त मान्छेले दाजुभाइमाथि खुकुरी प्रहार गरेर सडकमा निस्कियो रे !” कौतुहलता थेग्न नसकेर समीरले झ्यालको एउटा सानो प्वालबाट बाहिर चिहायो । एउटा अजङ्गको मान्छे, हातमा रगत लतपतिएको खुकुरी नचाउँदै उसको घरतिरै दौडिँदै थियो । समीरका साना गोडाहरू डरले गले । उसले सोचेको थियो- के अब यो संसारका सबै मान्छे राक्षस बन्न लागेका हुन् ? के अब कोही पनि बचाउन आउँदैन ? ठीक त्यति नै बेला, एउटा नीलो बर्दीधारी आकृति बिजुली चम्किएझैँ त्यस आततायीको अगाडि उभियो । ती एक महिला प्रहरी थिइन् । उनले आफ्नो ज्यानको प्रवाह नगरी, त्यस रगतले तिर्खाएको खुकुरीको अगाडि आफूलाई ढाल बनाइन् । मान्छेहरू बन्द झ्यालका चेपबाट रमिता हेरिरहेका थिए, तर कसैको पाइला अघि बढेन । ती महिला जवानले अदम्य साहसका साथ त्यो अपराधीलाई चिलले मुसो झम्टेझैँ झम्टिएर भुइँमा पछारिन् । समीरको मानसपटलमा ती महिला प्रहरी कुनै लोककथाकी ‘सुपरवुमन’ भन्दा कम देखिइनन् । उनको अनुहारमा डर होइन, एउटा अनौठो दृढता र चमक थियो, जसले अँध्यारो गल्लीलाई आशाको उज्यालोले भरिदिएको थियो । जब ती प्रहरीले अपराधीलाई हत्कडी लगाएर डोर्याउँदै लगिन्, समीरले एउटा लामो र सुरक्षित सास फेर्यो । उसले भित्तामा झुण्डिएको आफ्नो खेलौनाको तरबार निकालेर कसिङ्गरको टोकरीमा फालिदियो र हजुरआमाको काखमा टाँसिदै मुसुक्क हाँसेर भन्यो- ”हजुरआमा, राक्षसलाई मार्न खुकुरी नै बोक्नु पर्दैन रहेछ, काँधमा अलिकति जिम्मेवारी, पाखुरीमा अलिकति हिम्मत र मनमा अरूको सुरक्षाको जिम्मेवारी भए पुग्दो रहेछ !”
प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ मोबाइल हेर्ने बानीले दिक्कै पारिन् नानीले किताब पढ्न हुन्न र ?…
डा छायादत्त न्यौपाने फर्की आऊ युवा तिमी बाँझो खेत भन्छ श्रम गरे हात चले घरै…