सत्यजीत
खण्ड-एक: प्रारम्भ
(मञ्चमा गाउँको दृश्य। एउटा ठूली पिपलको छायाँ, वरिपरि फाँटमा हलो जोत्ने किसान। पृष्ठभूमिमा धूलो, बाँसको घर। केही बालबालिका धूलोमा खेल्दै। ध्वनि: गाईको घण्टी, चराको चिरबिर।)
पात्रहरू प्रवेश:
नवीन (१२ वर्ष, उत्साही, प्रश्न गर्ने स्वभाव)
दीक्षा (११ वर्ष, समझदार, पढ्ने तीव्र चाहना भएकी)
कमल (१३ वर्ष, साहुको घरमा काम गर्ने, डरपोक)
साहुजी (६५ वर्ष, अन्धविश्वासी, गाउँका पण्डित/ज्योतिष)
बुढा बाबा ( ६० वर्षका पुरानो विचार बोक्ने गरीब किसान)
अन्य बालबालिका
नवीन : (मोजा भित्र कपडा भरेर फुटबल जस्तै खेल्दै) दीक्षा, हामीलाई पनि किताब र खेलमैदान भए कस्तो हुन्थ्यो होला है ?
दीक्षा : (गम्भीर स्वरमा) हो नवीन, म त सधैं सोचिरहन्छु। अरू ठाउँका बालबालिका विद्यालय जान्छन्, हामी भने खेतबारी र साहुको काममा पसिनाले भिज्छौं।
कमल : (धेरै थाकेको, बोरा बोकेर प्रवेश) अरे… थाकेर मर्छु कि जस्तो भयो। साहुजीले फेरि गहुँ बोरा बोकेर गोदाममा हाल्न पठाएका छन्। ढिलो भए पिट्छन् रे।
नवीन : (कडा स्वरमा) यो त अन्याय हो कमल! हामी किन सधैं काममै? हाम्रो उमेर पढ्ने र खेल्ने हो।(त्यतिबेलै साहु ढोग लगाउँदै, लौरो टेकेर प्रवेश गर्छन्।)
साहुजी : (ठूला आवाजमा) हे बच्चाहरु! तिमीहरू किन भाग्यमाथि प्रश्न गर्छौ? भगवानले जसलाई गरिब बनाएका छन्, त्यो त बदल्न सकिँदैन। पूजा गर, दान गर, चुपचाप श्रम गर, यही धर्म हो।
दीक्षा : (साहसपूर्वक) साहुजी, पढ्न पाए त हाम्रो भविष्य बदलिन्छ नि! किन हामी मात्र भोकै, च्यातिएको लुगा र भारी बोक्दै बाँच्ने?
साहुजी : (डर देखाउँदै) नानी, यस्तो कुरा नगर। भगवान रिसाउँछन् भने तिमीहरू अझै दुःख भोग्छौ। किताब पढ्न धनीका छोराछोरीका लागि हुन्छ, गरिबका लागि हलो र बोरा मात्रै।
कमल : (बाबाको डरले) होलान् नि दीक्षा… भगवानले रिसाए के हुन्छ भनेर सोच्दा नै डर लाग्छ।
नवीन : (कडा स्वरमा, आँखा चम्काउँदै) होइन कमल! भगवान होइन, हाम्रो पसिना र हिम्मतले जीवन बदल्छ। मैले त भनी हाल्छु- भाग्य हामी आफैं लेख्छौं।
(बालबालिकाबीच बहस हुन्छ। कोही बाबाको अन्धविश्वासमा डराउँछन्, कोही नवीन र दीक्षाको कुरा सुनेर हौसिन्छन्।)
दीक्षा : (दर्शक तिर फर्केर, दृढ स्वरमा) हामी चुप लागेर बस्यौं भने कहिल्यै परिवर्तन हुँदैन। मलाई लाग्छ- अब हामीले भ्रम बेच्ने विरुद्ध बोल्नु पर्छ।
(साहुजी रिसाउँदै हात हल्लाएर जान्छन्- “पाप बोल्यौ, ठूलो अनर्थ हुन्छ” भन्दै। बालबालिका उदास तर प्रश्नले भरिएका अनुहारमा।)
(पृष्ठभूमिमा धुन बज्छ – हल्का करुण गीत: “बालपन हरायो, कामको भारी आयो, पढ्ने सपना मरेको…”।)
खण्ड दुई : बालश्रम र दमन
(मञ्च: साहुको आँगन। ठूलो घर, अन्नको भकारी, बाख्रा/गाई बन्धिएको। साहु ढोकामा बसेर हुकुम चलाइरहेको। कमल, नवीन, दीक्षा र अन्य बालबालिका भारी बोक्दै प्रवेश गर्छन्।)
साहु : (कर्कश स्वरमा) ओइ कमल! त्यो बोरा यहाँ राख्। अनि तिमी (नवीनलाई देखाउँदै) खेतमा पानी हाल्न जा। काम नगरे खाना कहाँबाट आउछ?
कमल : (थरथर काँप्दै) साहुजी, म बिहानदेखि नै काम गरिरहेँ। पेट पनि भोकै छ…
साहु : (चिल्लाउँदै) भोकै? गरिबको पेट कहिले भरिन्छ र? यो त तिम्रा बुबा-आमाको भाग्य हो। तिमीहरू काम गर्छौ भने मात्रै अन्न खान पाउँछौ।
दीक्षा : (साहसपूर्वक) तर साहुजी, हामीलाई पनि विद्यालय जान दिनुपर्छ। हाम्रो उमेर पढ्ने हो, दिनरात भारी बोक्ने मात्रै होइन।
साहु : (ठट्टा गर्दै हाँस्छ) विद्यालय? (हात टोक्दै) किताब-कापीले पेट भरिन्छ? खेतमा काम नगरी पढ्न गयो भने तिम्रो परिवार भोकै मर्छ।
नवीन : (उठेर बोल्छ) साहुजी, हामीलाई खाना मात्रै होइन, भविष्य पनि चाहिन्छ। हामी पढेर परिवर्तन गर्न चाहन्छौं।
साहु : (रिसाउँदै) चुप! धेरै बोल्यो भने तिम्रो बाबुलाई ऋण बढाइदिन्छु। अनि घरै खोस्छु।
(कमल डराएर चुप लाग्छ। अन्य बालबालिका आँसु पुछ्दै। दीक्षा र नवीन भने साहसिलो अनुहारमा उभिन्छन्।)कमल : (नवीनलाई बिस्तारै) नबोल है, साहु रिसाए भने हाम्रो घरबाँस गुम्छ।
नवीन : (दृढ स्वरमा) कमल, चुप लागेर बस्दा हामी अझै दासजस्तै हुन्छौं। कुरा नगरी परिवर्तन आउँदैन।(त्यसैबेला बाबा प्रवेश गर्छन्, साहुको पक्षमा बोल्दै।)
बाबा : (गम्भीर स्वरमा) बच्चाहरू, साहुको कुरा मान। भाग्यमै जे छ त्यही हुन्छ। भगवानको इच्छा बिना केही हुँदैन। विद्रोह गर्नु भनेको पाप गर्नु हो।
दीक्षा : (उच्च स्वरमा) पाप त धनीहरुले गर्छन् बाबा! हाम्रो पढ्ने अधिकार खोसेर, अन्धविश्वास फैलाएर।हामी त सानो छौं, तर सत्य थाहा छ – अन्धविश्वास र शोषणले भविष्य उज्यालो हुँदैन।
(बालबालिकाले दीक्षाको कुरा सुनेर हौसिन्छन्। साहु र बाबा असहज अनुहारमा एक-अर्कालाई हेर्छन्।)
(पृष्ठभूमिमा कोरस बालबालिकाले गाउने गीत: “पढ्ने छौं हामी, उठ्ने छौं हामी, श्रमकै शक्ति र ज्ञानले…”।)खण्ड तीन : सचेत पात्रको प्रवेश
(मञ्च : गाउँको चौर। नवीन, दीक्षा, कमल र अन्य बालबालिका थाकेका अनुहारमा। साहुको घरबाट फर्किएका। आकाशमा साँझ पर्न लागेको वातावरण। त्यसैबेला नयाँ पात्र प्रवेश गर्छन्।)
पात्र प्रवेश :
सुबोध दाइ (सहरमा पढेर फर्किएको, करिब २० वर्ष, सुसंस्कृत र सचेत युवक)
सुबोध दाइ : (मञ्चमा प्रवेश गर्दै) अरे! यो त मेरो गाउँ। म फर्केर आउँदा पनि अझै बच्चाहरू भारी बोक्दै छन्? विद्यालय अझै खुलेको छैन र?
नवीन : (उत्साहित हुँदै) सुबोध दाइ! तपाईं सहरबाट फर्किनुभयो? हामीलाई पढ्ने सपना त अझै सपना नै छ। साहुले काम मात्र गराउँछन्।
दीक्षा : (आँखा रसाउँदै) हामीलाई किताब देख्दा पनि मन रुन्छ दाइ। बाबाले भनेका छन्-“भगवानले जसलाई गरिब बनाए, उसले पढ्नै हुँदैन।”
सुबोध दाइ : (गम्भीर हुँदै) बच्चाहरू! भगवानले होइन, मानिसले बनाएको समाजले तिमीहरूलाई शोषण गरेको हो। पढ्न नपाउनु भाग्यको दोष होइन, अन्याय परिणाम हो।
कमल : (अलिक डराउँदै) तर साहु रिसाउँछन् भने हाम्रो परिवारलाई गाउँनिकाला गर्छन् रे। हामी कहाँ जाने?सुबोध दाइ : (सान्त्वना दिँदै) कमल, डराउनु हुँदैन। परिवर्तन डरले होइन, साहसले हुन्छ। संसारका महान मानिसहरूले पढेर, सीप सिकेर, अन्धविश्वास तोडेर नै उज्यालो ल्याएका हुन्।
नवीन : (उत्साहित स्वरमा) दाइ, तपाईंको कुरा सुनेर मेरो मन अझै बलियो भयो। हामीलाई साथ दिनुहोस्।दीक्षा : (आशावादी स्वरमा) हो, हामी पढ्ने अधिकारका लागि आवाज उठाउनेछौं।
(सुबोध दाइले बालबालिकालाई वरिपरि बसाल्छन्। हल्का धुन बज्छ।)
सुबोध दाइ : (उपदेशात्मक तर प्रेरणादायी) सुन बच्चाहरू-
गरिबीलाई श्राप नठान, श्रमलाई सम्मान गर, अन्याय विरुद्ध खबरदारी गर।
डर र अन्धविश्वासले होइन, ज्ञानले जीवन बदलिन्छ।
बालश्रम अपराध हो। तिमीहरूको अधिकार शिक्षा हो।
(बालबालिकाले ध्यानपूर्वक सुन्छन्। दीक्षा र नवीन आँखा जुधाउछन् एक-अर्कालाई हेर्छन्।)
कोरस बालबालिका : (सामूहिक स्वरमा गीत गाउँदै)
“ज्ञानको बाटो, उज्यालो संसार,
बालपन हाम्रो, अधिकार शिक्षामा।”
(गीतपछि सबै बालबालिकाले हात मिलाउँछन्, एकतामा दृढ देखिन्छन्। सुबोध दाइ बीचमा उभिएका।)खण्ड ४ : विद्रोहको योजना
(मञ्च : साँझपखको गाउँ। उज्यालो घट्दै गएको। चौरको एक कुनामा नवीन, दीक्षा, कमल र अरू बालबालिका चुपचाप भेला हुन्छन्। सुबोध दाइ पनि उनीहरूसँग छन्। वातावरणमा गोपनीयता, हल्का ढोलको आवाज।)
नवीन : (हात जोडेर) साथीहरू, अब चुप लागेर बस्ने बेला छैन। हामी विद्रोह गर्नेछौं।
कमल : (हात काँप्दै) विद्रोह भनेको त साहु र बाबासँग लड्नु हो नि! साहुले बाबालाई ऋण बढाइदिए के हुन्छ?
दीक्षा : (दृढ स्वरमा) कमल, डरले हामीलाई अझै दास बनाइराख्छ। हिम्मतले मात्र परिवर्तन हुन्छ।
सुबोध दाइ : (सान्त्वनासहित) हो बच्चाहरू। विद्रोह भन्नाले हिँसा होइन। सत्य बोल्ने, अधिकार माग्ने, मिलेर उभिने।
बालबालिका १ : (हिच्किचाउँदै) तर हामी साना छौं नि दाइ। हाम्रो कुरा कसले सुन्ने होलान् त?
सुबोध दाइ : (उत्साहपूर्वक) सानो उमेर भए पनि सत्य बोल्नेको आवाज ठूलो हुन्छ। जब धेरै आवाज एकै हुन्छन्, शक्तिशाली साहु पनि काँप्छ।
(नवीन उभिन्छ, सबैको नजर उसमाथि।)
नवीन : हाम्रो योजना यो हो-
१. भोलि बिहान हामी सबै विद्यालय अगाडि जम्मा हुन्छौं।
२. हामी किताब, कापी ल्याउन माग गर्छौं।
३. “बालश्रम बन्द गर, पढाइ हाम्रो अधिकार” भनेर नारा लगाउँछौं।
दीक्षा : (जोड्दै) अनि हामी अन्धविश्वासको जाल तोड्छौं। भगवान रिसाउँछन् भनेर होइन, मानिसले नै परिवर्तन गर्छ भनेर घोषणा गर्छौं। कमल : (अलि साहस बटुलेर) ठीक छ, म पनि साथ दिन्छु। अब म साहुको घरको दास मात्र बन्न सक्दिन।बालबालिका २ : हामी पनि साथ दिन्छौं!
बालबालिका ३ : हामी पनि!
(सामूहिक उत्साह बढ्छ। सुबोध दाइ बीचमा उभिएर गीत सुरु गर्छन्।)
सुबोध दाइ/सबै बालबालिका (गीत) :
“हामी उठ्छौं, हामी बोल्छौं,
सत्य र अधिकारमा ढल्दैनौं।
गरिबी, अन्धविश्वास तोड्छौं,
ज्ञानको उज्यालो फैलाउँछौं।”
(गीतपछि सबैले हात मिलाउँछन्, गोलो घेरामा उभिन्छन्।)
नवीन : (दर्शक तिर फर्केर) साथीहरू, यो हाम्रो सपना मात्र होइन, हाम्रो भविष्य हो। हामी विद्रोह गर्नेछौं!(ध्वनि : ढोल र मादल तेज हुन्छ, बालबालिका जोशसहित मञ्चबाट निस्कन्छन्।)
खण्ड पाँच: विद्रोह – सामूहिक प्रदर्शन र द्वन्द्व
(मञ्च : बिहान सबेरै। गाउँको चौतारो। विद्यालयको अगाडि झण्डा फहराइरहेको देखिन्छ तर ढोकामा ताला। बालबालिका हातमा लाठि, काठको पाटी, पातमा लेखिएका नाराहरू बोकेर प्रवेश गर्छन्। सुबोध दाइ अगाडि।)
नवीन : (उच्च स्वरमा) साथीहरू, आजदेखि हामी मौन रहने छैनौं। हामी चिच्याउँछौं- शिक्षा हाम्रो अधिकार हो!
दीक्षा : (नारासहित) “बालश्रम बन्द गर! पढाइ हाम्रो अधिकार!”
सबै बालबालिका (सामूहिक स्वरमा) :
“बालश्रम बन्द गर! पढाइ हाम्रो अधिकार!”
“अन्धविश्वास हटाऊ! विद्यालय खोलौं!”
(साहु र बाबा प्रवेश गर्छन्। साहु रिसले तातेका छन्।)
साहु : (कर्कश स्वरमा) ओइ बालकहरू! यो के हल्ला हो? गाउँको शान्ति भंग गर्छौ? काम गर्नुपर्ने बेला नाराबाजी?बुढा बाबा : (हात उठाउँदै) हे भगवान! पाप भयो! साना छोराछोरीले ठूलो मान्छेसंग मुख लाग्नु हुदैन। यस्तो विद्रोहले अनर्थ ल्याउँछ।
नवीन : (निर्भीक स्वरमा) अनर्थ होइन, बाबा- यो नयाँ अर्थ हो। हामी दास होइनौं, हामी विद्यार्थी हौं!दीक्षा : (साहुलाई हेर्दै) साहुजी, हामीलाई अब दास बनाउन सक्दैनौ। हामी पढ्छौं, भविष्य निर्माण गर्छौं।साहु : (रिसाउँदै) चुप! धेरै बोल्यौ भने तिमीहरूका बुबा-आमालाई ऋणमा जेल हालिदिन्छु।
कमल : (पहिलोपटक निर्भीक स्वरमा) होइन साहुजी! हामी डराउँदैनौं। हाम्रो परिवारलाई धम्क्याएर अब तपाईंले शासन गर्न सक्नुहुन्न।
(बालबालिका सामूहिक रूपमा साहुको वरिपरि नाराबाजी गर्छन्।)
सबै बालबालिका :
“शोषण बन्द गर! पढ्ने अधिकार हनन नगर!”
“अन्धविश्वास होइन, ज्ञान चाहिन्छ!”
(साहु र बाबा चकित हुन्छन्। गाउँका केही आमाबाबु पनि दृश्यमा आउँछन्। सुरुमा अलमल, तर बालबालिकाको साहस देखेर उनीहरू भावुक हुन्छन्।)
एक आमाले : (आँखा रसाउँदै) हजुर, हाम्रा छोराछोरीले सही भनेका छन्। हामीले डरले चुप लागेका थियौं, तर अब बुझौं चुप लाग्दैनौं।
अर्का बाबाले : हो, अब त हामी पनि छोराछोरीसँगै छौं। विद्यालय खोल्नैपर्छ!
(सुबोध दाइ अगाडि बढ्छन्।)
सुबोध दाइ : (गर्जन स्वरमा) सुन्नुहोस् साहु र बाबा-
श्रमलाई सम्मान गरौं, तर शिक्षा बिना भविष्य अन्धकार हुन्छ।
बालश्रम अपराध हो।
अन्धविश्वास गुलामी हो।
अब यो गाउँमा बालबालिका पढ्छन्, यही घोषणा हो!
(बालबालिका, आमाबाबु र सुबोध दाइ एकै स्वरमा चिच्याउँछन्।)
सबै :
“विद्रोह! विद्रोह! विद्रोह!”
(ध्वनि : मादल, ढोलक, ताली। वातावरण उत्कर्षमा। साहु र बुढा बाबा मौन, पछाडि हट्छन्। बालबालिका जोशमा अगाडि।)
{समाप्त}
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…
मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…
दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…