हरिप्रसाद गौतम
गुल्मी, हाल : स्वयम्भू
हिउँचुलीको काखमा छ रङ्गीचङ्गी फूलबारी
ढकमक्क फुलेका छन् फूलहरू थरी थरी
यै बारीमा रम्दै बस्ने हामी सबै यसका माली
एकताको रूप हामी एउटै माला हौँ नेपाली।
फूल जस्तै सुवास छर्छौँ हामी सबै जातजाति
उन्नतिले पुर्याउँछौँ यो देशलाई माथि माथि
हिमालदेखि तराईसम्म हामी सबै यसका माली
एकतामा बाँधिएका यौटै माला हौँ नेपाली।
हाम्रो कला हाम्रै भेष सबैभन्दा प्यारो लाग्छ
आफ्नै जन्मभूमि नेपाल सबैभन्दा राम्रो लाग्छ
विकासको लक्ष्यसँगै देशको रक्षा गर्ने माली
जाति भाषा क्षेत्र जोड्ने यौटै माला हौँ नेपाली।
भिन्न भिन्न प्रतिभाले सजिएका छौँ नेपाली
आफ्नै मौलिकतासँग गर्व गर्ने हौँ नेपाली
सीमानाका प्रहरी हौँ सबै जना हामी माली
एकताको मालाभित्र गाँसिएका छौँ नेपाली।
मानवताका पुजारी हौँ धर्म भिन्दै भए पनि
नाम हाम्रो नेपाली हो जो जो जहाँ रहे पनि
चन्द्रसूर्य अङ्कित झण्डा फर्फराउने हामी माली
अनेकतामा एकताको सुन्दर माला हौँ नेपाली।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…