मेरो अनुभवः मेरो सिकाइ

एक दिन त्रिकोण मिति पढाउन कक्षामा जाँदा मैले महशुस गरेँ— विद्यार्थी पढ्ने मूडमा छैनन् । एउटा विद्यार्थीले कुनै टिप्पणी गर्यो र अरू सबै हाँस्न थाले । उनीहरूलाई गाली गर्ने–हप्काउने अथवा शिक्षकको आदर गर्नुपर्छ भनेर प्रवचन दिने काम गर्नुको सट्टा मैले उनीहरूको उक्त व्यवहारप्रति ध्यान नदिने र त्यस दिनको पाठ पढाउने निर्णय गरेँ । अनि आफ्नो विषय बेग्लै किसिमले प्रस्तुत गरेँ । मैले सोधेँ— तिमीहरू स्कूलको मुख्य भवन नजिकै नगई अथवा त्यसलाई नछोई त्यसको उँचाइ पत्ता लगाउन सक्छौ ? प्रश्न सुनेर उनीहरू गम्भीर भए र मैले पनि तिनलाई सोच्न केही समय दिएँ । त्यसपछि भनेँ— आजको पाठले यसो गर्न सकिन्छ भन्ने बताउँछ र यो काम कसरी गर्ने भनेर सिकाउँछ । बस्, यस कुराले उनीहरूको ध्यान विषयप्रति आकर्षित गर्नाले सिकेँ, नकारात्मकताबाट ध्यान हटाएपछि सकारात्मकतिर बढ्न सकिन्छ।
पढाइरहेको वेला एक दिन मैले देखेँ, एकजना विद्यार्थी हाई गर्दैछ । सामान्यतः अन्तिम घण्टीमा यस्तो हुन्छ। लगत्तै अर्काले, अनि फेरि अरू दुई जनाले हाई गरे । मलाई महशुस भयो, मेरो लेक्चरका कारण यस्तो भएको हो । म झन्डै १०–१२ मिनटदेखि एकोहोरो बोलिरहेकी थिएँ र यो अवधि विद्यार्थीले ध्यान दिने सीमाभन्दा निकै बढी थियो। तत्काल मैले लेक्चर रोकेँ र एकदमै चुप्प लागेँ । मेरो मौनताले उनीहरूको ध्यान आकर्षित गर्यो । एक छिन पछि मैले उनीहरूलाई एउटा प्रश्न सोधेँ र त्यस मार्फत शिक्षण प्रक्रियामा सामेल गरेँ । साथै, स्वयं निष्कर्षमा पुग्न प्रोत्साहित गरेँ । प्रश्नको उत्तर दिन उनीहरूलाई सजिलो होस् भनेर म मुख्य शब्दको सङ्केत दिन्थेँ र सही उत्तर दिँदा उनीहरूको प्रशंसा गर्थेँ । यसरी विद्यार्थी सिकाइतर्फ अभिप्रेरित भए र त्यस दिनको कक्षा जीवन्त पनि भयो।
मैले सिकेँ, सिकाइ प्रक्रियामा विद्यार्थीलाई सहभागी बनाउँदा कक्षाको एकरसता तोडिन्छ र सिक्ने प्रक्रिया प्रभावशाली हुन्छ।
प्रत्येक विद्यार्थीको सिक्ने आफ्नै गति हुन्छ । कसैले छिटो सिक्छ, कसैले ढिलो । पढाउने पाठको विषयवस्तु मात्र, सम्बन्धित कक्षाको वाञ्छित स्तरमा मात्र पढाउँदा धेरैलाई बुझन र सिक्न गाह्रो हुँदोरहेछ । यो थाहा पाएपछि मैले सरलबाट जटिलतिर जाने विधि अपनाउने गरेकी छु । उदाहरणका लागि, कक्षा–९ लाई बीजगणित पढाउनुपर्दा म सर्वप्रथम त्यसअघिका कक्षाहरू अर्थात् कक्षा–६, ७ र ८ मा पढाइएका अवधारणा बारे संक्षेपमा बताउँछु । यसरी पुनरावृत्ति गरेपछि विद्यार्थी विषयसँग जोडिन्छन् र कक्षा–९ को कुरा राम्ररी बुझछन्, सिक्छन् । पहिले नै तयार गरिएका दृश्य सामग्री र कम्प्युटरको उपयोग गर्दा पनि सिकाइ प्रभावकारी हुँदो रहेछ।
मैले सिकेँ, कक्षामा अनेक स्तरका विद्यार्थीको मिश्रण हुन्छ । शिक्षकले आफ्नो शिक्षण–विधि तदनुसार रूपान्तरित गर्नुपर्छ।
केही वर्ष अघि मैले विद्यार्थीलाई विभिन्न शिक्षकका दुईवटा मन पर्ने र दुईवटा मन नपर्ने कुरा लेख्न लगाएँ । अधिकतर विद्यार्थीका ‘उत्तर’ अनुमान र अपेक्षा अनुरूप नै थिए । तर कैयौँ विद्यार्थीले लेखेका थिए— एकजना शिक्षक रिसाहा छन् र विद्यार्थीलाई हप्काउँछन् । उनीहरूले भनेका थिए– हुन त तिनले राम्ररी पढाउँछन् र कुरा पनि राम्ररी बुझउँछन् तर तिनको क्रोध खपिनसक्नुको हुन्छ । मेरो अनुमान अनुसार, उनीहरूले यो मेरै बारेमा भनेका थिए । मलाई लाग्यो, मैले त उनीहरू सुध्रिउन् भनेर नै गाली गर्ने गरेकी हुँ तर उनीहरूलाई ज्यादै नराम्रो लाग्दो रहेछ, नत्र किन यसरी लेख्थे ? त्यसपछि मैले आफ्नो भावनामाथि नियन्त्रण गर्न थालेँ।
मैले सिकेँ, शिक्षकले गाली गर्दा र हप्काउँदा विद्यार्थीको मन विचलित हुन्छ । उनीहरूले राम्ररी सिक्न सक्तैनन्। त्यसैले शिक्षकले विद्यार्थीका लागि जहिले पनि सहज र सम्मानजनक वातावरण बनाउनुपर्छ।
एक दिन ‘स्टाफ मिटिङ’ मा प्रधानाध्यापकले अकस्मात् मलाई सोधिन्, तपाईँले आफ्नो निर्धारित काम (असाइनमेन्ट) पूरा गर्नुभो ? त्यतिन्जेल मैले त्यो काम गरेकी थिइनँ । मलाई लाग्यो, अब प्रधानाध्यापकले सबैका सामु मलाई गाली गर्छिन् । साथीहरूले के ठान्लान्… लज्जित भएँ । लाग्यो, टेबुलमुनि लुक्न पाए पनि हुने । तर, त्यस्तो केही भएन । मैले केही भन्न नभ्याउँदै प्रधानाध्यापकले पुलुक्क मेरो मुखमा हेरिन् र भनिन्— मलाई थाहा छ, तपाईँ परिवारका अन्य जिम्मेवारीमा व्यस्त हुनुहुन्थ्यो, त्यसैले असाइनमेन्ट पूरा गर्न भ्याउनुभएन होला । अनि सोधिन्— अब कहिलेसम्ममा पूरा होला ? उनको मुस्कान, उत्साहजनक बोली र सकारात्मक भावभङ्गिमाले मेरो असजिलो हरायो र मनमा उनीप्रति आदरभाव बढ्न पुग्यो । मैले त्यो असाइनमेन्ट थप रुचि र उत्साहसाथ पूरा गरेँ र त्यो काम सोचेभन्दा राम्रो भयो । उनको व्यवहारबाट सिकेको कुरा मैले कक्षामा, विद्यार्थीमा पनि लागू गरेँ । तिनलाई दिएको गृहकार्य अथवा अन्य असाइनमेन्ट समयमा पूरा गरेर नल्याउँदा गाली गर्नुको सट्टा उनीहरूप्रति सहानुभूति राखेर काम पूरा गर्न प्रोत्साहित गर्न थालेँ । नकारात्मक टिप्पणी गर्न छोडिदिएँ । उनीहरूले लेखेर ल्याएको कुरा आंशिक रूपमा मात्र सही छ भने पनि त्यसको प्रशंसा गर्न थालेँ र नमिलेको कुरा यसरी लेख भनेर सम्झउन, प्रोत्साहित गर्न शुरू गरेँ । यसले राम्रो परिणाम दिएको छ।
मैले सिकेँ, विद्यार्थीप्रति सहानुभूति राख्ने शिक्षकको दृष्टि र प्रोत्साहित गर्ने मुस्कानले शिक्षक–विद्यार्थी सम्बन्ध राम्रो बनाउन ठूलो मदत पुग्छ र यसको परिणामस्वरुप उनीहरूको सिकाइ पनि राम्रो हुन्छ।
गणित यस्तो विषय हो, जसलाई कण्ठ गर्न सकिँदैन । गणित सिक्न प्रशस्त अभ्यास गर्नुपर्छ । तब मात्र यसका अवधारणाहरू आत्मसात् गर्न सकिन्छ । कक्षामा पढाएपछि त्यो कुरा उनीहरूले घर गएर अभ्यास गरुन् भन्ने मेरो अपेक्षा हुन्छ । तर, केही विद्यार्थीले मात्र यस्तो गर्छन्, अधिकाँशले गर्दैनन्, जसका कारण त्यसपछिको अवधारणा बुझन र आत्मसात् गर्न तिनलाई असजिलो हुन्छ । यो चक्र एक महिना मात्र चल्यो भने पनि उनीहरूले विषय माथिको पकड गुमाउँछन् । त्यसैले म उनीहरूलाई घर गएर केवल १५ मिनट मात्र अभ्यास गर, त्यसभन्दा एक मिनट पनि बढी गर्नुपर्दैन भन्छु । यो उपाय केही हदसम्म उपयोगी सिद्ध भएको छ।
मैल सिकेँ, म आज पनि सिकिरहेकी छु । विद्यार्थीलाई सिक्न ‘प्रेरित’ गर्न मैले थप प्रयास गर्नुपर्छ।

शरच्चन्द्र वस्ती
भाषान्तर
श्रोतः शिक्षक मासिक

सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

11 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

11 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

11 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago