विद्यालय छनोटका आधार

प्रेमनारायण भुसाल

वैशाख महिनाबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ । विद्यार्थीहरू नयाँ कक्षामा उत्साह र उमङ्गका साथ प्रवेश गर्छन् । अभिभावकहरू यतिखेर आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाका लागि राम्रो विद्यालयको खोजीमा रहेका पनि हुन्छन् । पहिले पढिरहेकै विद्यालयमा पढाइलाई निरन्तरता दिने अथवा नयाँ विद्यालयमा बालबालिकालाई भर्ना गर्ने भन्ने विषयले धेरै अभिभावकलाई पिरोलिरहेको पनि हुन्छ । पूर्वप्राथमिक तहबाट प्राथमिक तहमा प्रवेश गर्ने अनि प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई राम्रो विद्यालयमा अध्ययनका लागि पठाउने प्रवृत्ति पनि रहेको छ । वैशाख विद्यालयका लागि नयाँ विद्यार्थी खोज्ने, भर्ना गर्ने तथा अभिभावकका लागि आफ्ना बालबालिकाको आगामी दिनको पठनपाठन क्रियाकलापलाई सुनिश्चित गर्ने महिनाका रूपमा समेत रहेको छ । विद्यालय तहको शिक्षापछि किशोर किशोरीहरू विदेशमै अध्ययन गर्न जान लालायित भएकाले अहिले उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू सुनसान भएका छन् भने शैक्षिक क्षेत्रमा लगानी गरेका व्यक्तिहरू विद्यालयलाई केन्द्रमा राखी व्यवसाय सुदृढ बनाउन खोजिरहेका छन् ।
१२ कक्षासम्मको शिक्षा स्थानीय तहलाई दिइसकेपछि केही स्थानीय तहले सशक्त रूपमा सार्वजनिक वा सामुदायिक विद्यालयको शिक्षालाई रूपान्तरण गर्ने अभियान नै सञ्चालन गरेका छन् । सामुदायिक विद्यालयका संरचनाहरू सरकारी तथा दातृ निकायको सहयोगमा सुविधासम्पन्न बनेका छन् । स्थानीय तहका सचेत नेतृत्वले विद्यालयको भवन मात्र होइन, विद्यालय व्यवस्थापनमा समेत उदाहरणीय काम गरे । फलस्वरूप ती स्थानीय तहमा संस्थागत विद्यालयका विद्यार्थीको सङ्ख्या दिनदिनै घट्दै जान थाल्यो । सामुदायिक विद्यालयको स्तरीकरण तथा स्थानीय तहको सक्रियताले गर्दा अहिले विगतमा जस्तो निजी विद्यालयको दबदबा देखिँदैन । विगतमा विद्यार्थी आफैँ विद्यालय खोज्न आउँथे । अहिले विद्यालयहरू घरदैलो गरी विद्यार्थी सङ्कलन गर्ने अभियानमा जुट्न थालेका छन् ।
अभिभावक कस्तो स्कुलमा पढाउने होला भनी अन्योलमा रहेको अवस्था पनि देखिन्छ । बालबालिकामा गरेको लगानी नै वास्तविक लगानी भएकाले अभिभावकले आफ्ना बालबालिकालाई सकेसम्म स्तरीय शिक्षा नै दिलाउन खोज्नु स्वाभाविक पनि हो । कुनै समय अङ्ग्रेजी माध्यममा शिक्षा दिनुलाई नै गुणस्तरीय शिक्षा मानिएको थियो । सहरी क्षेत्रमा अहिले यस सोचमा परिवर्तन आइसकेको छ । एकातिर सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यममा शिक्षा दिनु अर्कोतिर शिक्षा र सिप सिक्नका लागि भाषा वा माध्यम मात्रै महत्वपूर्ण विषय होइन भन्ने कुरामा सचेत अभिभावक सहमत हुनुले पनि अङ्ग्रेजीलाई नै गुणस्तरीय शिक्षाको मापक तत्व मान्ने कुरा हराएको छ । जे होस् आफ्ना बालबालिकालाई विद्यालय भर्ना गर्ने समय भएकाले उनीहरूको सर्वाङ्गीण विकासका लागि कस्ता विद्यालय चयन गर्नु उपयुक्त हुन्छ त ?

बालमैत्री 

बालबालिका विद्यालयमा नयाँ कुरा सिक्न जान्छन्, जसबाट उनीहरूको आनीबानी र व्यवहार निर्माण हुन्छ । वृद्धि र विकास सँगसँगै हुने क्रियाकलाप हुन् । पठनपाठनमा बालबालिकाको रुचि र खुसीलाई समेट्ने क्रियाकलाप नहुने विद्यालय कुनै पनि अर्थमा फाइदाजनक हुँदैनन् । बालबालिकाको खुसीलाई पहिलो प्राथमिकता दिँदै उनीहरूको उमेर अनुकूलको सिप सिकाउने विद्यालय अभिभावकको पहिलो रोजाइ बन्नु पर्छ । यसका लागि तालिम प्राप्त र बालमैत्री शिक्षक भएको विद्यालय चयन गर्नु पर्छ । त्यसो त विद्यालय चयन गर्नुभन्दा अघि पहिलो र महत्वपूर्ण पक्ष घर र विद्यालयको दुरी पनि हो । ससाना बालबालिकालाई घरभन्दा टाढाको विद्यालयमा भर्ना गर्नु फाइदाजनक छैन ।
बालमैत्री विद्यालयको सन्दर्भमा विद्यालयले पठनपाठन गराउने पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण विधिले महत्वपूर्ण भूमिका खेल्छन् । सचेत अभिभावक यी विषयमा जानकारी लिएर मात्र बच्चालाई भर्ना गर्न तयार हुनु पर्छ । बालबालिकालाई डर र त्रासमा राख्ने अनि नैतिक मूल्यलाई भन्दा अनुशासनका नाममा कडा दण्ड र सजायलाई प्रवर्धन गर्ने विद्यालय क्षणिक रूपमा बालबालिकालाई नियन्त्रण गर्ने सन्दर्भमा उपलब्धिमूलक जस्ता देखिए पनि वास्तवमा बालविकासका लागि बाधक बनेका हुन्छन् । यस कारण अभिभावकले बालबालिकाको उमेर अनुसारको सिकाइ क्रियाकलाप सञ्चालन गरेका विद्यालय छनोट गर्न सक्नु पर्छ ।
हरेक वर्ष पुस्तक, विद्यालय पोसाकमा परिवर्तन गर्ने, शिक्षकहरूको स्थायित्व नहुने अनि आधारभूत भौतिक पूर्वाधारसमेत नभएका विद्यालय बालसिकाइका लागि उपयुक्त हुन सक्दैनन् । एउटै पाठ्यक्रम लागु भइरहेको सन्दर्भमा हरेक वर्ष पुस्तक परिवर्तन गर्ने विद्यालयको उद्देश्य सिकाइ क्रियाकलाप सञ्चालन गर्नुभन्दा जसरी हुन्छ अभिभावकबाट रकम असुल्नु नै रहेको हुन्छ । यसैले कमिसन र अतिरिक्त आम्दानीका लागि बिचौलियाको काम गर्ने विद्यालयहरू बालबालिकाका लागि चयन गर्नु नै हुँदैन ।

पढाइभन्दा सिकाइलाई जोड

विगत लामो समयसम्म निश्चित मूल्य, मान्यता, सिद्धान्त र ज्ञान हस्तान्तरण गर्ने माध्यमका रूपमा शिक्षक र विद्यालय रहेका थिए । ज्ञानको स्रोत शिक्षक रहेको सन्दर्भमा एउटै ज्ञानलाई निरन्तर हस्तान्तरण गर्नु गुरुको उद्देश्य हुन्थ्यो । अहिलेको शताब्दी निकै परिवर्तनशील छ । यसैले आजको ज्ञान भोलिका सन्दर्भमा पूर्ण हुन सक्दैन । ज्ञान नै अपूर्ण भएको सन्दर्भमा विगतको ज्ञानले भविष्यका उत्पादन निर्माण गर्न खोज्नु मूर्खता मात्र हुन्छ । यसैले विद्यालयहरू ज्ञान हस्तान्तरण गर्नुभन्दा ज्ञान निष्पादन गर्ने तथा सिप सिकाइ गर्ने स्थलका रूपमा स्थापित हुनु पर्छ ।
ससाना बालबालिकाका लागि सुनेर र देखेर मात्र नभई गरेर सिक्ने वातावरण सिर्जना गरिनु पर्छ । उनीहरूले घोकेको वा कण्ठ गरेको कुरालाई ज्ञान नमानेर उनीहरूले सिकेको सिप र त्यसलाई व्यवहारमा उतार्न सके नसकेको कुराको अभिवृत्तिलाई महत्व दिनु पर्छ । यी सबै कुरा विद्यार्थीकेन्द्री शिक्षण सिकाइ क्रियाकलापबाट मात्र सम्पन्न हुन सक्छन् । कोरा ज्ञानलाई भन्दा व्यावहारिक सिपलाई महत्व दिएका विद्यालयले बालबालिकालाई जीवनोपयोगी सिप सिकाउन सक्छन् । अभिभावकले प्रभावकारी रूपमा बालबालिकालाई सक्रिय बनाएर क्रियाकलाप केन्द्रित सिकाइ सञ्चालन गर्ने विद्यालय छनोट गर्नु पर्छ ।

थोरै पुस्तक धेरै क्रियाकलाप 

धेरै किताब पाठ्यपुस्तकका रूपमा राख्ने विद्यालय राम्रो मान्ने प्रवृत्ति पनि देखिन्छ, जुन सरासर गलत कुरा हो । गुणस्तरीय शिक्षाका लागि धेरै र विदेशी किताब राख्नु पर्छ भन्ने छैन, थोरै पाठ्यपुस्तकबाट प्रभावकारी रूपमा धेरै क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । आफूलाई गुणस्तरीय देखाउने नाममा धेरै किताब थोपर्ने अनि बालबालिकालाई ठुलो झोला बोक्न बाध्य पार्ने विद्यालय बालवृद्धि र विकासका लागि बाधक हुन्छन् ।
बालबालिकालाई ठुलो झोला बोकाउने काम गर्नु हुँदैन । यसले शारीरिक तथा मानसिक दुवै रूपमा बालबालिकालाई कमजोर बनाउँछ । पाठ्यपुस्तकको भारले थिचिँदाखेरि बालबालिकाहरू अन्तस्करणबाट नै खुसी हुन सक्दैनन् । उनीहरू सजायका रूपमा विद्यालय जानु परेको र ती पुस्तकहरू पढ्नु परेको भन्ठान्छन् । बालबालिकाले धेरै कथाहरू कण्ठ गर्न सक्लान्, कविता र गीतहरू गाउन सक्लान् तर उनीहरूले दबाबमूलक वातावरणमा सिकेका कुरालाई अभिवृत्तिका रूपमा विकास गर्न सक्दैनन् । यसैले विद्यालय चयन गर्ने सन्दर्भमा थोरै पुस्तक, हलुङ्गो ब्याग र देखावटी कुराभन्दा बाल सिकाइ र बालमनोविज्ञानलाई जोड दिएका विद्यालयहरू चयन गर्नु पर्छ ।

नतिजाभन्दा सर्वाङ्गीण विकास

स्तरीकृत परीक्षामा राम्रो नतिजा ल्याएका विद्यालय नै राम्रा विद्यालय हुन् भनी यसै आधारमा विद्यालय चयन गर्ने अभिभावकहरू पनि छन् । उनीहरूको ध्यान विद्यालयका शैक्षिक क्रियाकलापमा होइन प्रकाशन भएको नतिजामा मात्र जाने गरेको पाइन्छ । नियन्त्रित वातावरणमा दबाबपूर्ण तरिकाले बालबालिकालाई एकोहोरो रटान लगाएर निकालिएको नतिजाले उनीहरूको जीवनलाई सहज बनाउने सहयोग गर्दैन । बरु उनीहरूको स्वाभाविक वृद्धि र विकासमा अवरोध सिर्जना गर्छ ।
विद्यालयमा बालबालिका किताब पढेर मात्र होइन, खेल खेलेर, साथीहरूसँग अन्तर्क्रिया गरेर, विभिन्न परियोजनामा एकआपसमा सहयोग गरेर र आफूभन्दा ठुलालाई आदर सम्मान र सानालाई माया गरेर स्वयम्ले धेरै कुरा सिक्छन् । वास्तवमा सामाजिकीकरणको महत्वपूर्ण क्रियाकलापसमेत विद्यालयमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्पन्न हुने गर्छ । यसैले राम्रा कक्षाकोठा मात्र होइन, खेल्ने मैदान, खेलकुदका क्रियाकलाप, नृत्य, कला, सङ्गीत, नैतिक मूल्य र आचरणसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएका विद्यालय बालबालिकाको सर्वाङ्गीण विकासका लागि सहयोगी बन्न सक्छन् । विद्यालय चयन गर्ने सन्दर्भमा नतिजालाई मात्र ध्यान नदिएर त्यहाँका क्रियाकलापलाई सूक्ष्म रूपमा अवलोकन गर्नु आवश्यक हुन्छ ।
यसरी महँगो वा देखावटी स्वाङ मात्र पार्ने विद्यालय वास्तवमा बालबालिकाका लागि उपयुक्त हुन सक्दैनन् । बालसुलभ गुणको सम्मान गर्दै देशको माटो र हावापानी सुहाउँदो शिक्षा दिने अकृत्रिम विद्यालय चयन गर्नु पर्छ । यसका लागि अभिभावक बालबालिकाको स्वाभाविक सिकाइलाई प्रवर्धन गर्ने कुरामा चनाखो हुनु पर्छ ।

सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

1 week ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

1 week ago